जापानमा कमाएको ७१ लाख लिएर पति फरार, पत्नी रूँदै प्रहरी कार्यालयमा-Sutra News

जापानमा कमाएको ७१ लाख लिएर पति फरार, पत्नी रूँदै प्रहरी कार्यालयमा

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

बागलुङ- विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन् । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी गरिदिन सरोकारवालाहरु आग्रह गरेकी हुन् । जापानमा आफूसहित भएर कमाएको ७१ लाख रुपैयाँ लिएर पति बेपत्ता भएको सरिताको भनाइ छ ।



उनले पतिको खोजी गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङमा आग्रह गरेकी छन् । उनी तीन वर्ष पहिले पतिसँग ‘डिपेन्डेण्ट’ (आश्रित) भिसामा जापान गएकी थिइन् । दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार भएको भन्दै उनले प्रहरीमा निवेदन दिएकी छन् ।

विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए । बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो । ‘जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ’, उनले भनिन्, ‘कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।’ उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन् ।

आफूले सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएपछि सम्भव नभएको उनको भनाइ छ । लामो समयसम्म सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए । भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ ।

श्रीमानले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीको भनाइ छ । ‘पछि छलफल भएर सँगै नेपाल फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ। नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिन क्वारेन्टिइन बसेर उहाँ फरार हुनुभयो,’ उनले भनिन्, ‘होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।’

उनीहरु १३ मंसिरमा नेपाल आएका हुन् । सँगै आएका श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको सरिताले बताइन् । उनीहरुका आठ वर्षीय एक छोरा छन्। ‘पहिले देवरसँग घरमा रहेको छोरा अहिले माइतीमा राखेकी छु,’ उनले भनिन् । सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमानको हुलिया पठाएको छ ।

‘हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन’, प्रहरी निरीक्षक विजय भण्डारीले भने, ‘हाम्रो ‘इन्क्वायरी’ भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छ ।,’

यता परिवारका सदस्यले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएका छन् । आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट