गाडी पार्किङ गर्न खोज्दा पल्टिएपछि…-Sutra News

गाडी पार्किङ गर्न खोज्दा पल्टिएपछि…

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक १० की सरस्वती राई उपचार गराइरहेकी छन् । उनी भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार थिइन् ।



“गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो,” उनले भनिन्, “पार्किङ गर्न लागेको गाडी एक्कासी पल्टिएर तल खस्यो, हाम्रो होस हवास गुम्यो ।”

हिजो बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भइसकेको छ । घटनामा १२ जना घाइते भएका थिए ।

को २ ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० सय मिटर तल खसेको भोजपुर दुङमानास्थित प्रहरी चौकीले जनाएको छ । जिपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए ।

दुर्घटनामा घाइते राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये तीन जना डिस्चार्ज भइसकेको छ । नौ जनाको उपचार जारी छ ।

उनी जस्तै घाइते भोजपुरको आमचोक गाउँपालिका १० की सिर्जना राई पनि छोरा र छोरीसहित उपचाररत छिन् । छोरा साइमनको खुट्टा भाँच्चिएको छ भने छोरी लिजाको टाउकोमा गहिरो चोट लागेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट