कतारका राजा आउने भएसँगै सिँगारियो काठमाडौंको चोकहरू-Sutra News

कतारका राजा आउने भएसँगै सिँगारियो काठमाडौंको चोकहरू

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागत गर्न संघीय राजधानी काठमाडौै सजाइएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौं चिटिक्क पारिएको हो ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए ।

“काठमाडौं महानगरले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ,” उनले भने ।

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षक रुपमा सजाइएको छ ।

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ ।

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट