‘मनसरा’को प्रिमियरमा उपेन्द्र सुब्बा, प्रवीण, मिरुना र मेनुकादेखि तान्छोसम्मको प्रशंसा-Sutra News

‘मनसरा’को प्रिमियरमा उपेन्द्र सुब्बा, प्रवीण, मिरुना र मेनुकादेखि तान्छोसम्मको प्रशंसा

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । वैशाख २१ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को बुधबार साँझ ललितपुरको लाबिम मलमा रहेको क्यूएफएक्स हलमा भव्य प्रिमियरको आयोजना गरिएको थियो ।



प्रिमियरमा शो मा ‘मनसरा’ हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति थिए । यो फिल्म हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परीक्षा लिम्बु, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारी लविम मल पुगेका थिए । फिल्म हेरेपछि अधिकांशले प्रशंसामा शब्द खर्चिँदै सुब्बाको लेखन र निर्देशनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

दोस्रो फिल्मका रूपमा प्रतीक्षित फिल्म बनाउन सफल भएका निर्देशक सुब्बाले ‘मनसरा’बाट एक पटक फेरि फिल्ममा साहित्य जरुरी छ, भन्ने प्रमाणित गरेको उनीहरूले प्रतिक्रिया दिए। प्रिमियरमा उपस्थित पाहुनाले निर्देशक सुब्बासँगै अभिनेता प्रवीण खतिवडाको अभिनयको तारिफ पनि उत्तिकै गरेका छन् । यो फिल्म पश्चात् प्रवीणको करियरले फड्को मार्ने विश्लेषण धेरैको छ ।

यस्तै, अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र फिल्ममा तान्छोको रूपमा काम गरेका बाल-कलाकारको अभिनयको प्रशंसा गर्दै धेरैले अभिनेता दयाहाङ राईलाई फिल्ममा आवश्यकता अनुसार नै ठाउँ दिएको प्रतिक्रिया दिएका छन् ।

एउटै ठाउँमा बस्ने विभिन्न जातजातिका छिमेकी, उनीहरूको नोकझोक र प्रेम, बाहुन बाजे बनेका प्रवीण खतिवडाको लिम्बुनी मिरुना मगरसँगको निकटता, बाजेकी नेवार्नी पत्नी बनेकी मेनुका प्रधानसँगको अमिलो सम्बन्ध, दयाहाङ राई र मिरुना एक अर्काको सम्बन्धसँगको कन्फ्युजन जालोको कथा पेस गरेको फिल्म हेरेर निर्देशक निश्चल बस्नेतले भने, ‘फिल्ममा काम गरेका सबै कलाकारको काम उत्कृष्ट लागेको र उपेन्द्र सुब्बा दाइको पहिलो फिल्म हेर्दा नै पहिलो हो जस्तो लागेको थिएन । ‘मनसरा’ त्यो भन्दा अझ उत्कृष्ट र परिष्कृत बनेको छ । एक पटक सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गर्छु । उहाँले नेपाली फिल्ममा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो।’

अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म निकै मन परेको बताए । निर्देशक उपेन्द्र सुब्बा दाइ सामाजिक कथा अनि हामीले देखेका र सुनेका घटनालाई गहन रूपमा प्रस्तुत गर्नु भएको छ । फिल्ममा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ । त्यसैले एक पटक सबैले हेर्नु पर्ने फिल्म ‘मनसरा’ बनेको अभिनेता लामिछानेले बताए ।

निर्देशक प्रदीप भट्टराईले फिल्म फरक फरक आउनु पर्ने र त्यही फरक फिल्ममध्ये एक ‘मनसरा’ भएको बताए । फिल्म उद्योग भनेको साँच्चिकै बगैँचा जस्तो भएकाले त्यहाँ एक थरी मात्रै फूल फुल्यो भने त कामै भएन नि त्यहाँ थरी थरीका फूल फुल्न जरुरी रहेको बताए । ‘जारी’मा उपेन्द्र दाइ बगैँचामा एक दुई थरी फूल फुलाउनु भएको थियो । यसपालि ‘मनसरा’लाई पुरै बगैँचा नै बनाउनु भएको छ । सुन्दर बगैँचा एक पटक घुम्नै पर्ने खालको निर्देशक भट्टराईले भने ।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् । उपेन्द्र दाइ माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ । तपाईँले माया कसरी बुझ्नु भयो त्यो पनि सजिलो प्रेम होइन । यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई पश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ । एक पटक यो फिल्म हलमा पुगेर सबै दर्शकले हेर्नु हुन्छ भन्ने अपेक्षा छ । उपेन्द्र दाइ अत्यधिक सफलताको शुभकामना दिन्छु ।

यस्तै, निर्माता तथा निर्देशक अशोक शर्माले पनि निर्देशक उपेन्द्र सुब्बाको काम र फिल्मको प्रस्तुतीकरण उत्कृष्ट लागेको बताए ।

कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

फिल्ममा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन फिल्ममा रहेको छ । त्यसै गरी फिल्मका कार्यकारी निर्माता सिजन दाहाल हुन् ।

प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त हुँदा निर्देशक, निर्माता र कलाकारको अनुहारमा खुसीको भाव देखिएको थियो । फिल्मका मुख्य अभिनेता प्रवीण खतिवडाले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको भए पनि अब दर्शकको प्रतिक्रियाको पखाई रहेको बताए । अभिनेत्री मिरुना मगरले भने ‘मनसरा’बाट आफूले धेरै कुरा सिक्न र बुझ्न पाएको अनुभव सुनाएकी थिइन् । अर्की अभिनेत्री मेनुका प्रधानले फिल्मको कथा अगाडि बढ्दै जाँदा आफू भावुक भएको प्रतिक्रिया दिइन् ।

यो फिल्मको बुधबारदेखि नै देशभरका हलमा यो फिल्मको बुकिङ खुल्ला भएको छ । फिल्मलाई देशकै ठूलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ टिकटका लागि देशभरका हलमा ६७ शो दिएको छ । जसमा क्यूएफएक्सले काठमाडौं उपत्यकामा २६ र उपत्यका बाहिर ४१ शो उपलब्ध गराएको छ । मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म पाएको उच्च शो हेर्दा यो फिल्मले बम्पर ओपनिङ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट