‘बोक्सीको घर’को दोस्रो भाग बन्ने, पहिलो हप्तामा कति कमायो ?-Sutra News

‘बोक्सीको घर’को दोस्रो भाग बन्ने, पहिलो हप्तामा कति कमायो ?

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको यो फिल्मले घरेलु बक्स अफिसमा ६ करोड माथिको व्यापार गरेको छ ।



बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यसको वितरण कम्पनी टिफल्क र डिसिएनका अनुसार फिल्मले ६ दिनसम्म देशव्यापी पाँच करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी दिएका छन्। यो फिल्मले बुधबार मात्रै एक करोड ६० लाख ब्यापार गरेको वितरक अशोक शर्माले बताए ।

फिल्मले विशेष गरी महिलाहरूलाई हलमा आकर्षित गरेको छ । यसको प्रकाश सपुतको सिर्जना र समिक्षा अधिकारीको आवाज रहेको प्रमोशनल गीत सार्वजनिक भएसँगै थप ‘वर्ड अफ माउथ’ मिलेको थियो ।

वितरक शर्माका अनुसार पारिवारक दर्शक र ग्रामीण कथावस्तु भएकाले उपत्यकाबाहिरका हलमा व्यापार बढी देखिएको बताए । फिल्मको ९० प्रतिशत दर्शक महिला छन् । साथै, शर्माले फिल्मले पहिलो साता (सात दिन)मा ६ करोडको आँकडा छुने बताए ।

‘बोक्सीको घर’ एक करोड भन्दा कम लागतमा निर्माण गरिएको हो । निर्माण टिमले फिल्मलाई सफल बनाउने सम्पुर्ण दर्शकलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिएको कार्यक्रममा यो फिल्मको दोस्रो श्रृंखला निर्माण हुने जानकारी गराइएको छ । अभिनेत्री तथा निर्मात्री अधिकारी र निर्देशक तथा लेखक सुलक्षण भारतीले चाँडै दर्शकले सिक्वेल हेर्न पाउने जानकारी गराए । हलमा चलिरहेको फिल्ममा दुई दिनअघि नै बाट ‘टु बि कन्टिन्युड’ वाक्यांश राखिसकिएको समेत उनीहरुले बताए ।

निर्देशक भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । उनले भने, ‘स्क्रिप्ट लेखन सकिइसकेको छ । बीचमा एउटा फिल्म गरेर मात्र बोक्सीको घरको दोस्रो श्रृंखला बनाउँछु ।’ सुलक्षणले अर्को फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।

प्रर्दशन हुँदा ‘कथा निरन्तर हुनेछ’ लेखिएको थिएन । तर, निर्माताले केही दिनअघि मात्र थपेर हलमा पठाएका हुन् । यसको अर्थ, सिक्वेल बन्नेछ भनेर दर्शकलाई जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्देशक भारतीले दोस्रो श्रृंखलाबारे अहिलेलाई केही नखुलाउने बताए ।

अभिनेत्री तथा निर्मात्री केकीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको बताइन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’ यस्तै, केकीले ‘म सहायक निर्मात्री रहेको कोहलपुर एक्सप्रेसबाट यो पाठ सिकेको र अहिले आएर यो पुष्टि भएको छ कि कथा बलियो हुनुपर्छ भन्ने पाठ यो फिल्मबाट सिकेको बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएकोफिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

यो फिल्मले समाजमा व्याप्त रुढीवादी प्रथाको कथा भन्छ । बालविवाह र समाजमा रहेको बोक्सीको कुप्रथाको कथालाई देखाएको फिल्ममा केकी अधिकारी, सुलक्षण भारतीय, शुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट