चितवनमा हात्ती र गैँडाका बच्चा मरे-Sutra News

चितवनमा हात्ती र गैँडाका बच्चा मरे

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् ।



निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । उक्त अर्ना खुल्ला खोरका झाडीमा देखिएको हो । 

२०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो ।

कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिए । 

स्थानान्तरणपछि योसहित छ वटा बच्चा जन्मिएका छन् । गत वर्ष जन्मिएकामध्ये तीन भाले (पाडो) र एक पोथी (पाडीं) छन् । यस वर्ष जन्मिएको दुवैको लिंग पहिचान हुन सकेको छैन । 

खोर बढाएर २० देखि ३० अर्ना पुर्याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जंगलमा छाड्ने योजना निकुञ्जको छ ।

निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।

यस्तै निकुञ्जको हात्ती तालीम तथा प्रजनन केन्द्र खोरसोरमा मंसिर १६ गते जन्मिएको हात्तीको बच्चा मरेको छ । सो छावीको रोगका कारण मरेको प्रारम्भिक अनुमान गरिएको छ ।

अधिकारीका अनुसार उक्त छावि मर्नुको विस्तृत अध्ययनका लागि नमूना संकलन गरी भेटेनरी शाखामा पठाइएको छ । यसैगरी शुक्रबार निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब चार÷पाँच महिनाका गैँडाको बच्चा मृत फेला परेको छ । 

उक्त बच्चा बाघको आक्रमणबाट मरेको बताइएको छ । बाघले ८० प्रतिशतभन्दा बढी खाएकाले लिंग पहिचान गर्न नसकिएका अधिकारीले बताए । योसहित चालु आर्थिक वर्षमा १८ वटा गैँडा निकुञ्जले गुमाउनु परेको छ । त्यसमध्ये १४ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा चोरीशिकारीले मारेका हुन् ।  रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट