प्रतिनिधि सभामा हार, राष्ट्रिय सभामा उद्धार-Sutra News

प्रतिनिधि सभामा हार, राष्ट्रिय सभामा उद्धार

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- रिक्त रहेको एक स्थानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि राष्ट्रिय सभा पुनः चर्चामा आएको छ।



राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटका लागि बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त कोटामा मनोनित गरिन् भने गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन् ।

गौतम २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ मा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।

राष्ट्रका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिएर लैजाने गरी बनाइएको राष्ट्रिय सभामा चुनावमा पराजित गौतमलाई पठाइएपछि कतिपयले यसप्रति प्रश्न पनि उठाउन थालेका पनि छन् ।

पराजित र नातेदारलाई फलिफाप
प्रतिनिधिसभामा पराजित भई राष्ट्रिय सभामा पुग्ने गौतम मात्रै एक्ला नेता होइनन् । यसअघि सत्तारुढ नेकपाबाटै गोरखाबाट प्रतिनिधि सभाको चुनावमा पराजित नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा पुगिसकेका छन् । श्रेष्ठ २४ माघ (०७६) मा भएको चुनावमार्फत राष्ट्रिय सभामा प्रवेश गरेका थिए।

चुनाव हारेका मात्रै होइन्, राष्ट्रिय सभामा नेता निकट र उनीहरुका आफन्तको पनि राम्रो उपस्थिति छ । त्यस्तै प्रदेश–१ बाट निर्वाचित इन्दिरा देवी गौतम प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईकी सासु आमा हुन् ।

‘राष्ट्रिय सभा विभिन्न जनजाति, दलित समुदायका मान्छे र विज्ञको प्रतिनिधित्व गरिनुपर्ने ठाउँ हो। तर, यो भावनाको मर्मविपरित र निर्वाचनमा पराजितहरुलाई जसरी लगिएको छ, यो दुर्भाग्य हो ।’

यसैगरी नेकपाको तर्फबाटै राष्ट्रिय सभा सदस्य रहेकी बीना पोखरेलपनि नेकपा नेता सावित्रीकुमार काफ्लेकी श्रीमति हुन् । पहिलो संविधान सभा निर्वाचनमा मोरङबाट निर्वाचित काफ्लेले प्रदेश–१ बाट श्रीमतिलाई राष्ट्रिय सभा उम्मेदवार बनाएपछि पार्टीमा असन्तुष्टि चर्किएको थियो ।

बागमती प्रदेशबाट राष्ट्रियसभामाा निर्वाचित गंगाकुमारी वेलवासे पूर्व माओवादी नेता डिआर पौडेलकी पत्नी हुन् । डिआर पौडेलको गत वर्ष निधन भएको थियो । यद्यपी, बेलवासे विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छिन् ।

गण्डकी प्रदेशबाट महिलातपतर्फ निर्वाचित भगवती न्यौपाने कुनै समय माधवकुमार नेपाल निकट रहेकी भए पनि अहिले ओली निकट हुन् । उनी तनहुँको भानु नगरपालिका निर्वाचनमा मेयर पदमा पराजित भएकी थिइन ।

प्रदेश–५ बाट महिलातर्फ निर्वाचित बिमला घिमिरे नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छिन् । उनी कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएककी थिइन् ।

संविधानको मर्म विपरित
गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णयलाई नेकपाकै एक स्थायी कमिटी सदस्य ‘अलोकतानिन्त्रक र राष्ट्रिय सभाको मर्मविपरित’ भएको ठान्छन् । दलहरुको तौरतरिकाका कारण संविधानले राष्ट्रिय सभा जस्तो हुनुपर्ने परिकल्पना गरेको छ, त्यस्तो बन्न नसकेको उनको भनाइ छ ।

‘राष्ट्रिय सभाको परिकल्पना जसरी गरिएको छ, त्यस्तो राष्ट्रियसभा त बन्ने भएन’ नाम उल्लेख गर्न नचाहने नेकपाका ती नेता भन्छन्, ‘एउटा त संवैधानकि प्रावधानका कारण पनि बन्ने भएन, अर्को दलहरुको मनमौजी तरिकाका कारण बन्ने भएन ।’

राजनीतिक विश्लेषक शयाम श्रेष्ठ एउटा चुनावमा हारेको नेताले संसदमा पुग्न अर्काे आवधिक निर्वाचनसम्म पर्खिनु पर्ने भए पनि त्यो अभ्यास बसाल्न नसकिएको बताउँछन् । उनी भन्छन्, ‘सत्तालाई नै अभिष्ट बनाउने भएपछि यस्तो कुरा सोच्ने भन्नेकुरा कमै हुँदो रहेछ ।’

श्रेष्ठ यसलाई नेपाली राजनीतिक आन्दोलनको ‘दुर्भाग्य’ का रुपमा टिप्पणी गर्छन् । ‘राष्ट्रिय सभा विभिन्न जनजाति, दलित समुदायका मान्छे र विज्ञको प्रतिनिधित्व गरिनुपर्ने ठाउँ हो’ श्रेष्ठ भन्छन्, ‘तर, यो भावनाको मर्मविपरित र निर्वाचनमा पराजितहरुलाई जसरी लगिएको छ, यो दुर्भाग्य हो ।’

यो पनि पढ्नुस्:

वामदेव गौतम भन्छन् : राष्ट्रिय सभामा गएपछि मन्त्री-उपप्रधानमन्त्री त बन्‍ने हो नि ! (अन्तर्वार्ता) 

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट