राष्ट्रकवि माधवप्रसाद घिमिरे र कीर्तिमानी जीवनगाथा-Sutra News

राष्ट्रकवि माधवप्रसाद घिमिरे र कीर्तिमानी जीवनगाथा

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

पश्चिम नेपाल, गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते मङ्गलबार, औँसीका दिन जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा २ भाद्र (०७७) कुसे औँसीको अघिल्लो दिन काठमाडौँमा देहावसान भयो । नेपाली काव्यफाँटका धरोहर घिमिरेको निधनबाट सिङ्गो राष्ट्र, नेपाली जाति र साहित्य जगत्मा अपूरणीय क्षति भएको छ ।



नेपाली काव्यजगत्मा संस्कृतका महाकवि कालिदास, भारतीय कवि रवीन्द्रनाथ ठाकुर, आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकल प्रतिनिधित्व गर्दै साढे आठ दशक (८५ वर्ष) सम्म निरन्तर साधनामा रही उनले नेपाली कविता, गीत, खण्डकाव्य, गीतिनाटक र बाल गीत–कविताका मानक निर्माण गरेर उच्चतामा पु¥याउने अविस्मरणीय योगदान गरे । वयगत हिसाबले नेपाली काव्यमनीषि लोकप्रियतासाथ शताब्दी पुरुष बन्न पाएको सम्भवतः यो प्रथम र ‘न भूतो न भविष्यति’ को सुखद सन्दर्भ हो, कीर्तिमानको युगीन दस्तावेज ।

सुन्दर प्रकृतिको काखमा जन्मेर बाल्यकाल बिताएका माधव घिमिरेका काव्यकृतिमा आफ्नै पृष्ठभूमिका लेकबेँसी, पहाड, हिमाल, छाँगाछहरा, कुवा–पधेँराका स्वच्छन्दता र वस्तुस्थितिको सुन्दर चित्रण पाइन्छ । अति संवेदनाले भरिएका उनका गीत–कविता, खण्डकाव्य  र गीतिनाटक लोकप्रिय कृति बनिरहेका छन् । बालदेखि युवाप्रौढ सबै अवस्थाका पाठक उनका अभिव्यक्तिमा तरङ्गित हुनपुग्छन् । उनको कवित्व सर्वत्र ग्राह्य र सदैव सन्देशमूलक रहेको छ । 

बाल्यावस्था (अढाई वर्षको उमेर) मा मातृवियोगको असीम पीडा उनले झेल्नुपर्‍यो । अनि युवावस्था (२८ वर्षको उमेर) मा पत्नीवियोगको गम्भीर वेदनामा पिल्सनुपर्‍यो । तर त्यही पीडा र वेदनालाई काव्यात्मक शक्तिमा रुपान्तरण गरेर ‘गौरी’ शोककाव्य रचना गरी घिमिरेले आफूलाई सर्वप्रिय, अविस्मरणीय र अमर बनाए । ‘राजेश्वरी ’, ‘राष्ट्रनिर्माता’ र ‘इन्द्रकुमारी’ जस्ता खण्डकाव्यमा मानवीय उच्च संवेदना र अद्वितीय राष्ट्रिय चेतना प्रवाहित गरी एकातर्फ महाकवि देवकोटापछिका विशिष्ट खण्डकाव्यकार बन्ने सफलता प्राप्त गरे भने अर्कातिर उनका काव्यकृतिमा अभिव्यञ्जित राष्ट्रवादी चेतनाको उच्च मूल्यांकन गरी राष्ट्रले उनलाई ‘राष्ट्रकवि’ को उपाधिद्वारा सुशोभित गर्‍यो । लामो कवित्व साधनाको प्रतिफल सर्वचर्चित रह्यो । उनका धेरै गीतहरुमा राष्ट्रियताको राग गुन्जिएको पाइन्छ । एउटा सफल र हृदयस्पर्शी गीतकारका रुपमा घिमिरे सर्वश्रेष्ठ बन्नपुगे ।

dr sailendu1.jpgगीतिनाटक लेखनमा पनि माधव घिमिरेको सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेखनीय योगदान रहेको छ । उनका सातवटा गीतिनाटक प्रकाशित छन् । केही गीतिनाटकले प्रदर्शनको कीर्तिमान पनि कायम गरे । मानवीय संवेदनाको विशिष्टता र व्यापकता अभिव्यञ्जित गर्न ती गीतिनाटकहरु अत्यन्त सफल रहेका छन् ।  ‘अश्वत्थामा’  गीतिनाटकले हिंसाजन्य विश्वपरिदृश्यको समस्यालाई कलात्मक पाराले उठाएको छ । शकुन्तला, विषकन्या, हिमालपारि हिमालवारि, मालतीमङ्गले, देउकी र बालकुमारी गीतिनाटक बहुविशेषताले परिपूर्ण रहेका छन् ।

माधव घिमिरे कलात्मक कवित्वका निर्माता हुन् । महाकवि कालिदास र भारतीय कवि रवीन्द«नाथ ठाकुरझैँ संक्षिप्त शब्दशैलीमा सुन्दर कविता रचना गरी मानक निर्माण गर्ने काम उनले गरे । महाकवि देवकोटाको आशुकवित्वको सापेक्षतामा राष्ट्रकवि घिमिरेको धिमा गतिको प्रवाहले कवित्व सौन्दर्यलाई सहज रुपमा वरण गरेको पाइन्छ । उनी भन्छन्, ‘सामान्यतया एउटा कविता रचना गर्न म ३ दिन लगाउँछु । पहिलो दिन बतास बन्छु, दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु ।’

यस भनाइबाट उनको कवित्व रचना प्रक्रियाबारे स्पष्ट हुनसकिन्छ । नवमञ्जरी (१९९४) र चैतवैशाख (२०६०) घिमिरेका कवितासङ्ग्रह हुन् । उनका सबैजसो प्रतिनिधि कविताहरु चैतवैशाखमा संकलित छन् भने नवमञ्जरीमा सिकारु अवस्थाका वैराग्यमुखी कविता छन् ।           

यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ  

यही मान्यतामा घिमिरेको काव्यसृजन गतिशील भइरह्यो । तमाम कविता, गीत, खण्डकाव्य र गीतिनाटक सानो स्वरुपमै पूर्णताको अनुभूति दिन सक्षम रहेका छन् । महाकवि देवकोटापूर्व नै महाकाव्य सृजनमा अग्रसर बनेका घिमिरेले पछाडि संक्षिप्ततामा केन्द्रीत बनेर त्यसतर्फ चासो दिएनन् र एकैचोटि जीवनको उत्तरार्धमा ऋतम्भरा महाकाव्य सृजना गर्ने तत्परता देखाए । आफूलाई पूर्ण रुपमा चित्त नबुझी कृतिहरु सार्वजनिक नगर्ने उनको स्वभाव र मान्यताका कारण त्यस महाकाव्यको रचना अति धिमा गतिमा हुनपुग्यो । फागुनको पहिलो हप्ताको साक्षात्कारमा अब एकदुई दिन बाँकी छ भन्ने सूचना पाइएको थियो । त्यसले पूर्णता पायो कि पाएन, जिज्ञासा रहेको छ ।

पापिनी आमा, नयाँ नेपाल, धर्तीमाता, गौँथली र गजधम्मे र बोराको परदासमेत जम्मा ९ वटा खण्डकाव्य रचेका छन् । उनले शास्त्रीय तथा लोक छन्दलय प्रयोग गरी महत्त्वपूर्ण काव्यकृति सृजना गरे । उनको साधना कीर्तिमानी रहेको छ । उनी यस पक्षमा सबै स्रष्टाका प्रेरणास्रोत बनेका छन् । माधव वियोगी तथा पूर्णप्रकाश नेपाल ‘यात्री’ ले घिमिरेका विषयमा छन्दशिरोमणि र राष्ट्रकवि महाकाव्य रचना गरी उनीप्रति सम्मान दर्साएको पाइन्छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जीवनगाथा अन्य स्रष्टाको भन्दा नितान्त भिन्न रहेको छ । असीम व्यथा र वेदनाको भुमरीमा पिल्सँदै हुर्कनुपरे पनि आफ्नो कवित्व क्षमता, प्रतिभाको उच्च पारख र साधनाको निरन्तरता, गाम्भीर्य अनि शतायुको उपभोग जस्ता उल्लेख्य पक्षले उनलाई नेपाली साहित्याकाशका महान् र उज्ज्वल नक्षत्र बनाउने सफलता प्राप्त गरे । उनको जीवन पूर्ण सार्थक रह्यो । नेपाल राष्ट्र, नेपाली जाति, नेपाली प्रकृति, नेपाली संस्कृति र सभ्यताका महागायक घिमिरेको लोकप्रियता र सुकीर्ति युगौँसम्म देदीप्यमान् बनेर चम्किरहनेछ ।

राष्ट्रव्यापी अभिनन्दन र रथारोहण, अनेक प्रसिद्ध पुरस्कार र सम्मान प्राप्ति, अजरामर काव्यकृति सृजना, अन्तिम चरणसम्मको सक्रियता, काव्यगत सुष्ठुपन, सन्देशमूलकता र सूक्तिमयता जस्ता सन्दर्भले उनको उचाइ निरन्तर बढिरहेको बोध हुन्छ । उनी युगीन स्रष्टा हुन् । उनको व्यक्तित्व र कृतित्व विषयमा हालसम्म ८ जनाले विद्यावारिधि (पिएचडी) गरिसकेका छन् । महाकवि देवकोटापछि सर्वाधिक अनुसन्धान र समीक्षा गरिएका, पढिएका स्रष्टा हुन् माधव घिमिरे ।

कविताकाव्यबाहेक निबन्ध रचनामा पनि उनी उत्कृष्ट रहेका छन् । आफ्नो बाँसुरी आफ्नै गीत तथा चारुचर्चा जस्ता सङ्ग्रहले उनको गद्यकारितालाई उल्लेखनीय बनाएर पेस गरेका छन् । राष्ट्रकवि घिमिरेले वीर, करुण, शृङ्गार र शान्तरसका काव्यकृतिहरु रचना गरेका भए तापनि उनी मूलतः करुणरसका विशिष्ट गायक मानिन्छन् । मानवीय करुणालाई सूक्ष्म संवेदनासाथ प्रस्तुत गरेर पाठकलाई विचलित बनाउने क्षमता राख्तछन् । साथै वीररसोन्मुख राष्ट्रप्रेमको भावनालाई सशक्त रुपमा अभिव्यञ्जित गर्नु घिमिरेको खास पहिचान हो ।  

अन्त्यमा, आफ्नो जन्मभूमि, जाति, भाषा, संस्कृति र सभ्यताको गुणगानमै जीवन उत्सर्ग गर्ने राष्ट्रकवि माधव घिमिरे हाम्रो युगका महानायक हुन्, सर्वोच्च प्रतिभा हुन् । नेपाली जातिले अनन्तसम्म उनलाई सम्झिरहनेछ र उनका अमर वाणी अनन्तसम्म गुन्जिरहनेछन् । 

(बागबजारस्थित पद्मकन्या क्याम्पसका सहप्राध्यापक डा नेपाल राष्ट्रकवि घिमिरेका साहित्यिक कृति विषयमा विद्यावारिधी गर्ने पहिलो प्राज्ञिक व्यक्ति हुन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट