सैनिक सम्मान पाउँदा राष्ट्रकविमा देखिएको त्यो खुसी-Sutra News

सैनिक सम्मान पाउँदा राष्ट्रकविमा देखिएको त्यो खुसी

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

राष्ट्रकवि माधवप्रसाद घिमिरे र हाम्रो बसाई काठमाडौंमा एकदम नजिकै हो। उहाँ लैनचौर बस्ने,हामी सामाखुसी। त्यसबाहेक व्यक्तिगत र पारिवारिक रूपमा पनि हामी नजिक थियौं। हाम्रो पुख्र्याैली घर पनि नजिक–नजिकै। हामी तनहुँको,उहाँको लमजुङको। उहाँ र मेरा बुबा स्व.गोपालबहादुर खत्रीबीच पहिलेदेखि नै सुुमधुर सम्बन्ध भएकाले आवत–जावत भइरहन्थ्यो।



उहाँले पाएको उपाधिमध्ये ‘राष्ट्रकवि’ को उपाधि सबैभन्दा ठूलो उपाधि हो। उहाँले त्यो उपाधि त्यसै पाउनु भएको होइन भन्ने मलाई लाग्छ। उहाँका कृतिहरूका कारण राष्ट्रिय सम्मानका रुपमा ‘राष्ट्रकवि’ को उपाधि पाउनु भयो। उहाँका गीत रचनाहरू सबै सुमधुर छन्,विशेष अर्थ बोक्ने खालका छन्। तर,‘नेपाल हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने गीत हाम्रो सैनिक संगठनलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय भावनाको जागृत गराउन महत्वपूर्ण थियो।

म प्रधानसेनापति भएको बेलामा उहाँ शताब्दीमा टेक्नै लाग्नु भएको थियो। २०७२ को भारतीय नाकावन्दीका कारण सबै नेपालीमा राष्ट्रिय भावना जागेको थियो। सैनिक व्याण्डले उहाँको त्यो गीतलाई बजाउँदा भित्रैबाट जागरूक बनाउने,राष्ट्रिय भावनाले ओतप्रोत बनाउने हुनाले त्यो गीतलाई सैनिक गीतका रूपमा प्रयोग गर्न थालिएको थियो।

भारतीय नाकाबन्दीपछि त्यो गीत झनै लोकप्रिय भयो। सैनिक व्याण्डले पनि त्यसलाई एउटा सैनिक धुनकै रूपमा त्यही बेलादेखि प्रयोग गर्न थाल्यो। मैले व्याण्डलाई यो गीत सैनिक गीत बनाउन सकिन्छ भनेर निर्देशन दिएको थिएँ। सैनिक ब्याण्डले त्यसलाई सैनिक धुन बनायो र प्रायः राष्ट्रिय कार्यक्रममा त्यो धुन बज्न थाल्यो।

२०७१ को सैनिक दिवसमा अलिकति बजेको त्यो धुन ०७२ देखि सैनिक कार्यक्रम वा अन्य जुनसुकै कार्यक्रममा निरन्तर बजाउन थालियो। सैनिक व्याण्डले प्रस्तुति दिँदा ‘मार्चिङ’ का लागि यो धुन बजाउने गरेको छ। यसले सबै सिपाही, सकल दर्जालाई जागरूक र देशप्रति समर्पित बनाउन अहम् भूमिका खेलेको छ।

सेनामा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नाच पनि राखिन्छ। पछि त्यो गीतमा पनि नृत्यहरू हुन थाले। यो गीत त्यसपछि सेनाका सबै गण र गुल्महरूमा चर्चित भयो। भारतीय नाकाबन्दीले हामी सबै नेपालीलाई एकजुट बनायो। राष्ट्रकविले यो कृतिको माध्यमबाट देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई बचाउनलाई सबै नेपालीलाई उत्प्रेरित गर्नुभयो। त्यस हिंसाबबाट पनि म उहाँलाई सम्झिन चाहान्छु।

सैनिक सम्मान

सेनामा मानार्थ सम्मान दिने कुरा पहिले देखि नै प्रचलनको रूपमा रहिआएको छ। अन्य देशमा पनि यस्तो सम्मान दिने गरिएको हुन्छ। छिमेकी भारतमा पनि क्रिकेटरहरूले यस्तो सम्मान पाएका छन्। छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुनुहुँदा अम्बर गुरुङलाई महासेनानी दर्जा दिइएको थियो, खासगरि ‘रातो र चन्द्र सूर्य, जंगी निशाना हाम्रो’ भन्ने गीतका लागि। सैनिक गानको रूपमा सेनाले त्यो गीतको ‘ओनरसिप’ पनि लिएको थियो। अन्य स्रष्टाहरूले पनि त्यस्तो सम्मान पाएका छन्। फत्तेमान राजभण्डारी र गोपालप्रसाद रिमाललाई पनि मरणोपरान्त सैनिक उपाधिसहितको सम्मान दिइएको थियो।

राष्ट्रकवि घिमिरेले सिर्जनामार्फत् हामी सबै नेपालीलाई राष्ट्रिय भावनाले ओतप्रोत गराउन भूमिका खेल्नुभएको हुनाले ‘नेपाली सेनाले उहाँलाई केही सम्मान दिनुुपर्छ’ भन्ने हामीलाई लाग्यो। त्यसपछि जङ्गी अड्डाबाट औपचारिक निर्णय गरेर रक्षा मन्त्रालयमार्फत् नेपाल सरकार समक्ष प्रस्ताव गर्यौं। रक्षा मन्त्रालयमार्फत् क्याविनेटमा गएको प्रस्ताव स्वीकृत पनि भयो। त्यसपछि २०७४ को सैनिक दिवसमा वर्तमान राष्ट्रपति विद्या भण्डारीमार्फत् ‘मानार्थ सहायक रथी’ को दज्र्यानीबाट उहाँलाई सुशोभित गरियो।

राष्ट्रकवि जस्तो व्यक्तित्वलाई नेपाली सेनाको तर्फबाट पनि सम्मान प्रदान गरिनुपर्छ भनेर त्यो निर्णय गरिएको हो। तर, सेनाबाट दिइएको भएपनि यो राष्ट्रिय सम्मान नै हो। किनभने, उहाँलाई सम्मान दिने निर्णय मन्त्री परिषदबाट पारित भएको हो। राष्ट्रकवि जस्तो व्यक्तित्वलाई सय वर्ष पुगेको अवसरमा त्यो सम्मान दिन पाउँदा हामीलाई पनि ज्यादै गर्व लागेको थियो।

118004016_964599163965687_8702700221724535591_n.jpg

उहाँले त्यो सम्मान स्वीकार गर्नुहुन्छ कि हुन्न भन्ने थियो। त्यसैले, निर्णय अघि म आफै प्रस्ताव गर्न उहाँको निवासमा गएको थिएँ। जब मैले प्रस्ताव गरेँ, उहाँले खुसी व्यक्त गनुभयो। ‘अहो, यस्तो सम्मान पाए किन ग्रहण नगर्नु ? यसलाई म सहर्ष ग्रहण गर्छु’ उहाँले भन्नुभयो, ‘मेरो लागि यो सम्मान अहोभाग्य हुनेछ ।’

त्यसपछि सरकारमा यो कुरा पुर्याइयो। ‘उहाँलाई यस्तो सम्मान प्रदान गर्दा ठीक छ,अगाडि बढे हुन्छ’ भन्ने ‘ग्रिन सिंग्नल’ पाइयो। त्यसपछि सम्मान प्रदान गर्ने प्रक्रिया अघि बढाइयो।

सम्मान प्राप्त गरेपछि उहाँले निकै खुसी व्यक्त गर्नु भएको थियो। उहाँ त्यस्तो शीर्ष व्यक्तित्व, सम्मान ग्रहण गरेपछि भन्नुभयो, ‘म पनि ‘वान स्टार जनरल’ भएँ, त्यसैले चीफसा‘बलाई मैले मान्नुपर्छ ।’ यसो भनेर उहाँले सलाम हान्नुभयो।

उहाँ बिरामी हुँदा म भेट्न जान्थेँ। अपस्तालमा हुनुहुन्थ्यो। आफू सुतिरहेको शैयाबाट पनि सलाम हान्नुहुन्थ्यो। म अनुुरोध गर्थें, ‘हजुरले यसो गर्नुपर्दैन। हजुरलाई हामीले प्रदान गरेको यो उपाधि सम्मानको लागि हो।’ उहाँको जवाफ हुन्थ्यो, ‘होइन–होइन, मैले जनरलको उपाधि पाइसकेपछि यसको मर्यादा हुन्छ। यो उपाधिको मर्यादाका लागि पनि मैले सलाम गर्नुुपर्छ।’

यी घटना यहाँ उल्लेख गरेर मैले के भन्न खोजेको हुँ भने, नेपाली सेनाले दिएको सम्मानप्रति उहाँ असाध्यै खुसी हुनुहुन्थ्यो। मानार्थ नै भएपनि नेपाली सेनाको जनरल हुन पाएकोमा उहाँलाई गर्व पनि थियो। नेपाली सेनाले प्रदान गर्ने ‘मानार्थ’ दर्जा भनेको सम्मान नै हो, चाहे त्यो जनुसुकै तहको किन नहोस्।

उहाँलाई कसैले स–सानो उपहार दिएको भए त्यो पनि सम्मान नै हो। हामीले ‘मानार्थ सहायकरथी’ को दज्र्यानीका साथ उहाँलाई जुन सम्मान दियौँ, त्यसलाई नकरात्मक दृष्टिले हेर्नेहरूलाई त सायद पचेन पनि होला। तर,सबैतिरबाट ‘उहाँजस्तो व्यक्तित्वलाई सम्मान गरेर नेपाली सेनाले राम्रो काम गर्यो, नेपाली सेनाले दिन सक्ने सम्मानमध्ये यो भन्दा ठूलो के हुन सक्छ र ?’ भन्ने प्रतिक्रिया पायौँ।

राष्ट्र र राष्ट्रियताको रक्षा र अभिबृद्धिका लागि उहाँले गर्नुुभएको योगदानले हामी सबैलाई जसरी उत्प्रेरित, अभिप्रेरित गर्यो, त्यसका लागि उहाँलाई सामान्य खालको होइन, उच्चस्तरको सम्मान प्रदान गरिनुपर्छ भन्ने सोचाईका साथ उहाँलाई त्यो सम्मान दिइएको हो। नेपाली सेनाले ‘सिभिलियन’ लाई दिन सक्ने उच्चतम सम्मान हो यो।

त्यो आशिर्वाद 

म प्रधानसेनापति छँदा उहाँसँग सम्बन्धित दुुई महत्वपूूर्ण घटना मेरो स्मरणमा छन्। प्रधानसेनापति नियुक्त भएपछि वडावासी, टोलवासी र मैले पढेको स्कुल समेत मिलेर मलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेका थिए । त्यहाँ राष्ट्रकवि घिमिरे विशिष्ट अतिथिको रूपमा निम्त्याइनु भएको थियो। उहाँबाट सम्मान र आशिर्वाद ग्रहण गर्ने क्रममा उहाँले भन्नुभएको एउटा सानो वाक्यले मेरो भित्री दिल नै छोयो।

मेरो बुवासँग उहाँको पहिलेदेखि नै व्यक्तिगत सम्बन्ध र संगत थियो। त्यसैले, कहिलेकाहीँ चिफसाब’ भनेपनि प्राय: उहाँ मलाई ‘बाबुु’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। सम्मान कार्यक्रममा पनि उहाँले ‘बाबु’ नै भन्नुुभयो। उहाँको आशिषवचन थियो, ‘बाबु, यति ठूलो जिम्मेवारी लिएका छौ, सेनाको बन्दुकमा चाहिँ कहिल्यै खिया लाग्न नदिनूू है ।’ उहाँको यो आशिर्वाद मेरा लागि ठूूलो कुुरा थियो। ‘बन्दुकमा खिया लाग्न नदिनू’ भनेर ‘बन्दुक सफा गर्नू’ मात्रै भन्नुुभएको थिएन। ‘देशको रक्षाका लागि नेपाली सेनालाई सधैँ तयारीका साथ राख्नू’ भन्न खोज्नुभएको थियो ।

नेपाली सेनाबाट मानार्थ सहायकरथीको सम्मान पाइसकेपछि, यदि चाहनु भयो भने उहाँको जन्मस्थल लमजुङको भीरपुस्तुन गाउँ नेपाली सेनाको हेलिकोप्टरमार्फत् लगिदिने मेरो चाहना थियो। मैले उहाँसँग त्यो प्रस्ताव गरेँ। तर,उहाँले भन्नुभयो, ‘जन्मस्थल त म जन्मे–हुर्केको ठाउँ हो। त्यहाँ विभिन्न अवसरमा गइरहेकै हुन्छु। म नगएको र जान अत्यन्तै इच्छा भएको ठाउँ रारा हो। सकिन्छ भने त्यहाँ जान पाए हुन्थ्यो।’

उहाँको उमेर सय वर्ष पुगिसकेको थियो। उमेरका कारण रारा क्षेत्रको ‘अल्टिच्युड’ उहाँका लागि अनुुकूल नहुुन सक्थ्यो। ‘अल्टिच्युड सिकनेस’ को डरैडरका बावजुद पनि हाम्रो एउटा ‘ट्रेनिङ फ्लाइट’ मा चिकित्सकसहित राष्ट्रकविलाई रारा पुर्याउने बन्दोबस्त गर्यौं। श्रीमतिसहित त्यहाँ पुुग्न पाउँदा उहाँ असाध्यै खुसी हुुनुुभयो। ‘पाँच–सात दिन यहीँ बस्न पाए हुन्थ्यो’ भन्ने इच्छा गर्नुभयो। उहाँले त्यही बसेर कविता पनि लेख्नुभयो। उहाँले रारा छोड्नै चाहनु भएको थिएन। तर, उहाँको उमेर र स्वास्थ्यका कारण आउनै पर्ने स्थिति थियो।

राराबाट फर्केर आएपछि मलाई फोन गर्नुभयो। भन्नुभयो, ‘चिफसाब, मेरो जीवनको एउटा ठूलो इच्छा पुरा गरिदिनुभयो, त्यसका लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गरेको छु है।’ प्रधानसेनापति रहुन्जेल उहाँसँग भेट गरिरहन्थेँ। उहाँको जन्म उत्सवका बेला पनि उहाँको निवासमा पुगेर भेट्थेँ। उहाँ विरामी हुनुहुँदा सैनिक चिकित्सक–नर्स पठाएर उपचारमा सहयोग गथ्र्याैँ। हामीले सकेको गर्यौं, तर त्यो नै पर्याप्त चाहिँ थिएन।

नेपाली सेनाबाट सेवानिवृत्त भएपछि मैले उहाँलाई एकपटक भेटेँ। त्यो भेटमा एउटा सानो ‘मोमेन्टो’ उपहार पनि दिएको थिएँ। ‘म अवकास भएँ है’ भन्ने जानकारी दिन उहाँसँग त्यो भेट गरेको थिए। पछिल्लोपटक ‘लकडाउन’ का कारण मेरो उहाँसँग भेट भएको थिएन।

उहाँले ‘राष्ट्रकवि’ को रूपमा उच्चतम पहिचान प्राप्त गरिसक्नु भएको छ। उहाँ आफ्नो सिर्जनाका कारण अमर हुनुहुुन्छ। नेपालीहरूको मनमस्तिष्कमा उहाँका कृतिहरु अमर बनेर रहिरहनेछन्। राष्ट्रिय भावनाले ओतप्रोत उहाँको गीत ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ ले सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्न, राष्ट्र–राष्ट्रियताप्रति समर्पित गराउन विशिष्ट भूमिका खेलेको थियो, खेलिराखेको छ र भविष्यमा पनि खेल्नेछ भन्ने मलाई पूर्ण विश्वास छ।

(पूर्वप्रधानसेनापति क्षत्रीसँग सूत्रन्यूजका रामकुमार डिसीले गरेको कुराकानीमा आधारित)

*यसअघि ‘म प्रधानसेनापति भएको बेलामा उहाँ शताब्दीमा टेक्नै लाग्नु भएको थियो’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।–सम्पादक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट