तीन लोकप्रिय कविको भियतनाम साइनो-Sutra News

तीन लोकप्रिय कविको भियतनाम साइनो

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

सन् २०१६ को शरद याममा भियतनाम जाने योजना तय हुनासाथ मेरो मनमा झट्ट एउटा दृश्य याद आयो।



म स्कूले जीवनमा नै थिएँ । कुनै एक दिनको शनिबार तेबहाल टोलको डबलीमा नेपालभाषा साहित्य सम्मेलन भइरहेको थियो। त्यहाँ विद्रोही कवि बुद्ध सायमीले कविता वाचन गर्नुभएको थियो । उहाँले वाचन गर्नुभएको नेपालभाषाको कविताको भाव यस्तो थियोः

बुद्ध पूण्यभूमि
आज रगतले पोतिएको छ
शान्तिको नाममा यहाँ जिउँदो मान्छेको
छाला काढिएको छ

पढ्न सकेको कसरी होला त्यो पत्र
मान्छेको तातो रगतले लेखिएको र ? 
हेर्न सकेको कसरी होला मध्य दिउँसै
जिउमा पेट्रोल खन्याई आत्मदाह गरेको ?

अन्त्यमा
एकदिन यस्तो आउनेछ
अमेरिकाका एक–एक बालकले
आफ्नो पूर्वजको पापबाट मुक्त हुन
आँसुमा डुबी प्रायश्चित गर्नेछः
भियतनामको इतिहास पढ्दै
भियतनामीलाई अंकमाल गर्दै

बिक्रम शताब्दीको बीसको दशकको यो कविता सम्झेर मैले उहाँको खोजी गरे । व्यक्तिगत रुपमा मैले त्यसअघि उहाँलाई कहिलै भेट्ने मौका पाएको थिइनँ । उहाँ हाल मरु टोलमा बस्नुहुन्छ भन्ने कुरा थाहा पाएर उहाँको घरमा पुगेँ, ३० सेप्टेम्बरमा । साथमा साथी सुमन श्रेष्ठ थिए । सञ्चो नभएको धेरै भएको रहेछ, उहाँलाई । उहाँको स्वास्थ्यबारे सामान्य कुराकानीपछि मैले उक्त कविताको अंग्रेजी भावानुवाद सुनाएँ । र, त्यसलाई भियतनाम लैजाने अनुमति मागेँ ।

उहाँको अनुहार एक्कासि खुसीले धपक्क बल्यो । उहाँका कमजोर हातका औंलाहरु सल्बलाए । सन् १९७५ मा प्रकाशित उहाँको कविता संग्रह ‘जि जिगु वर्तमान’ (म मेरो वर्तमान) खोजेर ल्याई मलाई सप्रेम उपहार दिनु भयो। त्यसमा मेरो मानसपटलमा दशकौंदेखि रहेको माथि उल्लेखित कविता पनि थियो । उहाँले भियतनामको बुध्द पूर्णिमा भन्ने कविता पनि पढ्न र अनुवाद गर्न भन्नु भयो। मैले घर आएपछि त्यो पनि काम गरी भाइबरबाट उहाँलाई पठाएँ।

बुद्ध सायमीका दुईवटा कविताहरुको मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद गरी ‘नेपाली टाइम्स’ (२० जून २००३) मा छापिएको मैले पढेको थिएँ । त्यसलाई खोजीनीति गरी मैले लगेको थिएँ । मञ्जुश्रीजीले उहाँलाई परम्परावादको घेरा तोड्ने कविको रुपमा व्याख्या पनि गर्नुभएको रहेछ। कविताका शीर्षकले मात्रै पनि उहाँको भनाइ पुष्टि हुन्छ जस्तो मलाई लाग्दछ। ती थिए, ‘तिम्रो लालमोहर च्यात्न देउ मलाई’ र ‘म किन लजाऊँ ? ’ ‘मै च्यातिदिन्छु आफ्नो मकुन्डो’।

मैले उहाँका ती रचनाका ‘अंग्रेजी भर्सन’ देखाउँदा उहाँ तीन छक्क पर्नुभयो। तर, उहाँ सन्तुष्ट पनि हुनुभयो । सञ्जोग कस्तो भने, मैले भियतनामबाट फर्केर फोनमा मात्र बुध्द सायमीसँग कुरा गर्न पाएको थिएँ, उहाँ त २६ डिसेम्बर २०१६ मा हामी सबैलाई छोडी सदाको लागि विदा हुनुभयो।

त्यसपछि म पुगेँ, लोकप्रिय कवि तथा नेपालभाषा साहित्यका मेरा आदरणीय गुरु दुर्गालाल श्रेष्ठको घरमा । उहाँले स्वागतमा नै प्रेमको बारेमा भर्खर रच्दै गर्नुभएको एउटा कविता सुनाउनु भयो । जुनसुकै वातावरणलाई पनि कवितामय बनाइदिने उहाँको खुवीबारे बयान गरेर साध्य छैन । हुन त, उहाँका कविताहरुले नछोएको विषय नै छैनन् जस्तो लाग्छ मलाई। तर पनि भियतनामको बारेमा उहाँले धेरै लेख्नुभएको छ। सायद त्यो देशबारे सबभन्दा बढ्ता कविता लेख्ने उहाँ नै हुनुहुन्छ जस्तो मलाई लाग्छ ।

हालै उहाँले मलाई एउटा पुस्तक दिनुभयो, ‘जि स्वयम्भूत्वाथ’ (म स्वयम्भूको खुड्किला) शीर्षकको । यो पुस्तक सन् १९८६ मा छापिएको थियो । केही समयअघि साथी सुमनको सहयोगले दुर्गालालका पुराना धेरैजसो प्रकाशित रचना मैले संग्रह गरेको थिएँ । तर त्यसमा यो किताब भने परेको रहेनछ। उहाँका ५८ वटा कविताहरु संग्रहित भएको त्यो किताबमा ३ वटा कविता भियतनाम बारे लेखिएका रहेछन् ।

मैले भियतनाम लैजान छानेको त्यो नेपाल भाषाको कविताको भाव यस्तो थियो :

हो चि मिन्हको निधनमा

आज मेरो आँखा रसाएर आए पनि
होइन म रोएको
हो चि मिन्ह बरु तिमीलाई सम्झेर
मैले यो कविता लेखेको ।

कविता लेखेको कविता लेखेको
होइन, दुर्बलता देखाएको
भियतनाम मेरो मुटुमा पनि छ
भनेर मात्र जनाएको ।

हो चि मिन्ह, बिन्ती छ मेरो नाउँ पनि
त्यो सूचीमा राखिदेऊ
जो शत्रु हुन् साम्राज्यवादी
अमेरिकाको सपनामा पनि ।

लोकप्रिय कवि दुर्गालालको रसिक कुराहरु सुनेर त कहिले अघाइएला र ? तर उहाँका सिर्जनात्मक समयलाई धेरै ओगट्नु पनि उचित नहुने भएकोले उहाँसँग विदा लिएर आएँ ।

त्यसपछि मैले सम्झें कवि भूपि शेरचनलाई । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’कविता संग्रहमा २०२३ मा उहाँले लेख्नुभएको एउटा कविताको सुरुवात यस्तो छ :

हो चि मिन्हलाई चिठ्ठी

आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुच्छ्रे हिमालको छायाँमा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर

चार पाना लामो यो कविताको अन्त्यमा उहाँले कोर्नुभएका हरफहरू यस्ता थिए :

आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुच्छ्रेको छायाँमा उभिएर
प्रतिज्ञा जस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ।

भूपिको कविताको भावनालाई पछ्याउँदै त्यसका सटिक शब्दहरुको गहिराइमा पुग्दानपुग्दै मैले अंग्रेजी भावानुवाद सिध्याएँ ।

भियतनाम भ्रमणको पहिलो पडाड (हनोइ ट्रान्जिट हुँदै )हुए सहर भयो। दक्षिण भियतनामको यो सहर पहिला न्गुयन वंशको पालामा भियतनामको राजधानी (सन् १९४५सम्म) थियो । अझ महत्वपूर्ण कुरो त यो समकालीन इतिहासमै बुध्द धर्मको केन्द्र पनि थियो। यहाँको प्रसिद्ध थिएन मु बिहारस्थित सात तल्ले पैगोडा भियतनाम भरकै सबभन्दा अग्लो बौद्ध स्मारक रहेछ। यो पुरानो भियतनामी राजधानीको प्रतीक चिह्न पनि रहेछ। थिएन मु बिहार पुगेर बुध्द मूर्तिअगाडि प्रार्थना गरी सकेपछि मेरो पहिलो चासोको विषय रह्यो, त्यहाँका भूतपूर्व मूल भन्ते थिक क्वाङ डुकको स्मृति।

अत्यन्त शान्त र सौम्य रहेको यो विहारमा उहाँका केही अविस्मरणीय तस्बिरहरु राखिएका रहेछन्। एउटा पुरानो मोडेलको नीलो अस्टिन गाडी पनि प्रदर्शन गरिएको रहेछ। यही गाडी चढेर थिक भन्ते (शाक्य वंशलाई भियतनामी भाषामा थिक भन्दो रहेछ) ११ जून १९६३ मा सैगन पुग्नुभएको रहेछ। उहाँले त्यसबेला दक्षिण भियतनाममा बौध्दमार्गीमाथि भइरहेको अन्याय–अत्याचारको विरोधस्वरुप आफैंमाथि पेट्रोल खन्याइ सैगनको मूलसडकमा आत्मदाह गर्नुभएको थियो ।

विश्व इतिहासमै यस्तो बलिदानको घटना पहिलो पटक भएको थियो र यसलाई म्याल्कम ब्राउन नामका पत्रकारले क्यामरामा कैद गरेका थिए । विश्वभर उनको फोटोले तहल्का मच्चाएपछि तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको आदेश अनुसार दक्षिण भियतनामका अन्य सैनिक जर्नेलहरूलाई लगाएर बौध्दहरुमाथि दमन गर्ने त्यहाँका राष्ट्रपति गो डिन्ह डियम बिरुद्ध कूको योजना बनाइएको थियो, जसमा उनी मारिएका थिए।

यो घटनालाई इतिहासकारहरुले भियतनाममा अमेरिकी पतनको सुरुवात बिन्दुको रुपमा पनि मान्दछन् । किनभने, गो डिन्ह डियम लामो समयसम्म अमेरिकाको भियतनाममा प्रमुख साझेदार थिए ।

थिक भन्तेको बलिदानको खवरले बुद्धको जन्मभूमि नेपाललाई पनि अवश्य तरंगित गरायो। यही घटनाले उद्वेलित भई बुद्ध सायमीले भियतनामको बारेमा त्यो कविता लेख्नुभएको थियो। बुद्ध सायमीको कविता वाचनको करिव ३ वर्षपछि २०२५ मा प्रकाशित भएको थियो, भूपिको कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’ यो संग्रह यथास्थितिविरुद्ध भूपिको विद्रोही आवाज थियो । यही संग्रहमा भूपिले ‘कैदीको डायरी’ नामक कविता संग्रह प्रकाशित गराइ आफूलाई विद्रोही कविको रूपमा स्थापित गराएका राष्ट्रपति हो चि मिन्हलाई सन्देशको रुपमा लेख्नुभएको लामो कविता सामेल थियो ।

भूपिको कविता छापिएको एक वर्षपछि नै हो चि मिन्हको देहावसान भएको । त्यसैले, उहाँले त्यो भावुक सन्देश शायद पढ्न पाउनु भएन होला ।
त्यस्तै, नेता हो चि मिन्हको दुखद अवसानको खबर सुनेर हाम्रा अत्यन्त भावुक कवि दुर्गालालमा पनि समवेदनाका भावनाले ओतप्रोत हुनुभएको रहेछ। उहाँले तत्काल पोख्नुभएका सुन्दर र जोशिला भावनाका पंक्तिहरुको बारेमा साँच्चै भियतनामीहरुलाई थाहा नहुन सक्छ भन्ने मलाई लाग्यो । तीनवटै कविताको अंग्रेजी भावानुवाद मैले भियतनाम भ्रमणमा बोकेको थिएँ ।

ऐतिहासिक सहर हुएको भ्रमण सकेर राजधानी हनोई आइपुगेपछि मुख्यत्: दुइवटा थलो हेर्न पाउँदा म सारै प्रभावित भएको थिएँ । ती हुन्, हो चि मिन्हको वासस्थान र भियतनामी वीरतालाई झल्काउने म्युजियम । सन् १८८७ देखि भियतनामलाई उपनिवेश बनाई शासन चलाई आएको फ्रान्सको विरुध्द हो चि मिन्हले नेतृत्व गरेको प्रतिरोध फौजले लामो संघर्ष गरेको थियो ।

सन् १९५४ मा फ्रान्समाथि विजय हासिल गरेपछि हो चि मिन्ह पहिलो राष्ट्रपति हुनुभयो । हनोइमा रहेको फ्रेन्च गभर्नर जनरलको भव्य भवनलाई राष्ट्रपति भवन तोकिएको थियो । तर, हो चि मिन्ह त्यहाँ बस्न मान्नुभएन । उहाँले भन्नुभयो, ‘गरिब देशको राष्ट्रपति त्यहाँ बस्न सुहाउँदैन।’

उहाँ त्यही कम्पाउण्डभित्रको इलेक्ट्रिसियनको क्वार्टर अर्थात् एकतल्ले घर नं ५४ मा गएर बस्नुभयो । ४ वर्ष त्यहाँ बसेरनै उहाँले धेरै महत्वपूर्ण कामहरु गर्नुभयो । सन् १९५८ मा त्यही इलाकामा करिब २० वर्ग मिटरको बाँस र काठले बनाएको २ तल्ले घरमा उहाँ सर्नुभएको थियो र त्यहीं सन् १९६९ मा उहाँको निधन भएको थियो। उहाँको सादगीपनाले साधु बन्न राजनीति गर्ने होइन भन्ने केही नौरंगी राजनीतिज्ञहरुलाई गिज्याइ राखेजस्तो मलाई लाग्यो।

हनोइको सैन्य म्युजियम पस्नासाथ भेटिने एउटी किसान महिलाको जीवन्त मूर्तिले कसैलाई पनि प्रभावित नपारी छोड्दैन। उनले काँधमा डोरी लगाएर तानेको वस्तु थियो, शक्तिशाली अमेरिकी बमबर्षक विमान B-52 को मूल अवशेष, जसलाई बन्दूक हानेर खसालिएको थियो। यो एउटा प्रतीक थियो, शक्तिशाली अमेरिकाले बीसौं बर्षसम्म आफ्ना लाखौं सेना र आधुनिक शस्त्रास्त्र पठाएर पनि जनशक्ति अगाडि हार खाएको कथाको ।

एक हप्ते भियतनाम भ्रमणको अन्त्यतिर नेपाली प्रतिनिधि मण्डलका नेता कमरेड माधव नेपालको सौजन्यबाट भियतनामी कम्युनिष्ट पार्टीको बैदेशिक सम्बन्ध आयोगको उपाध्यक्ष ट्रान डाक लोइसँग ‘कफी मिटिंग’ को रुपमा अनौपचारिक तवरले भेट्ने मौका मिल्यो। उहाँलाई मैले नेपाली कविहरुको भियतनाम र त्यहाँका ऐतिहासिक घटनामा भएको चासो र काव्यात्मक प्रतिक्रियाबारे बताएँ ।

उहाँले कविताहरु माग्नुभयो र मैले ‘डिजिटल कपी’ उहाँको मोबाइलमा सारी दिएँ । उहाँले त्यसलाई भियतनामको ‘आर्काइभ’ मा राखिने कुरा बताउनुभयो। मैले सन्तोषको सास लिएर फर्किएँ ।

(१ अगष्ट २०२०)

(तुलाधर झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार थिए)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट