कोरोनाका कारण सुनसान बुटवल-Sutra News

कोरोनाका कारण सुनसान बुटवल

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

रुपन्देही–बुटवल उपमहानगरपालिका बिहीबार रातिदेखि पूर्णरूपमा बन्द भएपछि त्यसको असर बुटवलसँग जोडिएका अन्य पालिकामासमेत परेको छ। बुटवलमा अत्यावश्यक सेवा बाहेकका सबै पसल बन्द गर्नुका साथै सरकारी कामकाज पनि बन्द भएका छन् ।



यसैगरी उद्योगमा कार्यरत कर्मचारी तथा मजदुर बाहिर निस्कन नपाउने र खाद्यस्टोर, दूधडेरी, फलफूल, तरकारी लगायतका पसलहरू विहान ७-११ र साँझ ५-७ बजेसम्म सञ्चालन हुन पाउने व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले ५० प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित गराएर विहान १० बजेदेखि २ बजेसम्म सेवा सञ्चालन गरेका छन्। तिलोत्तमा,देवदह,भैरहवा,सैनामैना,सिद्धार्थनगर,ओमसतिया,कञ्चनलगायतका पालिकाले पनि अत्यावश्यक बाहेकका सरकारी कामकाज बन्द गरेका छन्। जनतालाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आह्वान पनि गरेका छन्।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले सामाजिक सञ्चालमार्फत् नगरबासीलाई सम्बोधन गरी कोभिड–१९ बाट बच्नका लागि अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आह्वान गरेका हुन्। नगरपालिकाले यसअघि नै सूचना जारी गरी सबै वडामा अत्यावश्यक बाहेकका सबै सरकारी कामकाज बन्द गरिने जानकारी गराएको थियो।

ओमसतिया गाउँपालिकाले पनि सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सरकारी कामकाज बन्द गर्ने जनाएको छ। बुटवल उपमहानगरपालिका बन्द भएपछि छोटा दुरीको सवारीसाधन प्रभावित भएका छन् भने लामो दुरीका सवारीसाधानको चाप कम भएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट