निबन्धः नमुनाको लयमा-Sutra News

निबन्धः नमुनाको लयमा

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

अमित पोखरेल



ऊ एक नमुना हो । बिभत्सताका लागि परिकल्पित नमुना । सपनाहरुका लागि काव्यिक नमुना । द्रारिद्रयाका लागि अलौकीक नमुना । सफलताका लागि सिर्जीत नमुना । समग्रमा ऊ एक अलंकार हो । एक बिद्रोहको अलंकार— अवशेषको नमुना ।

बैराग्यको खाडलबाट पलाएको उसलाई, सम्मोहनका निस्फिक्री रातले दोहन गरेका छन् । अपवादका सम्यक नृत्यले उसलाई हरेक पाइलामा गिज्याएका छन् । निभिजाने प्रकाशले उसलाई लाखौँ मैनमा रुपान्तरण गरेका छन् । पृथकताका बिभक्तिले उसलाई अगुल्टोसरी जलाएका छन् । मादकताका रितले उसलाई शहरका कुना–काप्चामा हिँडाएका छन् । निद्राका पित्लासे सम्मोहनले उसलाई अनेक कसिंगरबाट पन्छाएका छन् । अराजकताका असन्तोसी खुड्कीलाले उसलाई अनेकन शिखर चढाएका छन् ।

मृत्युसम्मका उसका भोग्य कथामा अनेकन होमिएका छन् । उसका हरेक पाइलामा— उसको उपस्थितिमा अनेकन किटको समग्रता नस्ट भएको छ । उसका थुकमा डोबिएर कैयन तलाउ भएका छन् । सिमसारका दलदलमा गहिरिएर आहुती भएका छन् । चिप्ला आश्वासनमा पिल्सिएर नग्न भएका छन् । हिमतालका सम्मुखमा थुप्रिएर कुप्रा भएका छन् । उसका सामिप्यताका रिवाजहरुमा लखतरान भएर विस्फोट भएका छन् ।

कुट्मेरका जराहरुमा उसले आफ्नो गहिराई पहिल्याएको थियो । वनको विराटतामा ऊ भमरा बनिदिएको थियो । फलको पुण्यमा ऊ क्लिष्ट बनिदिएको थियो । शहरको आदिमतामा ऊ उमंग बनिदिएको थियो । उपहासका अजंग पर्खालहरुमा ऊ पुड्को बनिदिएको थियो । मनिसहरुको संसर्गमा ऊ मदिरा बनिदिएको थियो । प्रेमीक आलिंगनमा ऊ एकोहोरो प्रसंग बनिदिएको थियो । नदीको विस्फोटमा ऊ सुसुप्त भएको थियो । र, झरनाको शून्यतामा ऊ रित्तो भएको थियो ।

उकालो चढ्दाको स्वासमा तिमीले दिएको गाली सुनेर ऊ तर्सिएको छ । निस्पस्ट कालकोठरी अन्धकारमा तिमीसँगै हराएको छ । निस्लोट थकानका मझेरीमा तिम्रा पिलोन्धरे बाहुमा सुस्ताएको उसले तिमीसँगै भवसागर पनि त देखेको होला ?

रिवाजका भिख भएर जिउनेहरु उसका लागि अपाच्य छन् । ऊ जीर्ण प्रसंगलाई कण्ठस्त पारेर जीउन चाहने मानिस होइन । रित्ता भकारीमा उसले कहिल्यै पनि अभाव देखेन । आदर्शका खानीमा भेटिएका खनिज उसले कहिल्यै पनि खोस्रेन । रुमानी रिवाजका कर्कशमा उसले कहिल्यै पनि रात पिरोल्ने सपना साँचेन । भिमकाय उपस्थिति भएका मनुवाहरुका कुरामा ऊ कहिल्यै पनि आफूलाई तास्न पुगेन । स्वेत कमलका हरिया पातहरुमा टहल्दै हिँड्ने उमंगका गफबाट अछुत ऊ, यहीँ कतै भेटिने छ ।

विस्फोट बनेर जन्मिएको आलेखमा विरुपाक्ष बनेर ठडिन ऊ चाहँदैन । सन्तोषका उपसर्गले रुझेर कामुक नृत्य नाच्ने उसको सपना होइन । दाशीका दरिद्रतामा उम्रिएका कागजमा मृगतृष्णाका उमंग लेखेर पसिना पुछ्नु उसको धर्म होइन । अभावका रोदनमा भासिएका सन्तापका पात चुँडेर पिच्च थुक्नु उसको आदर्श होइन । किम्बदन्तीका बहुलठ्ठिपनमा रुमाल तेर्‍याएर दुहाई माग्नु उसको सिप होइन । भव्यता पनि उसका लागि वरदान होइन ।

सीमामा नस्ट भएका जीवनहरुको गाथा गाएर हुर्केका पलायनहरु उसका घाँटी निमोठ्न चाहँदा हुन् । विद्रोहका दोभाषे सारथि उसलाई कुल्चन चाहँदा हुन् । गाम्भिर्यका पिशाचसँगै जीवनको दोहन गरेर पूज्य भएका यक्षहरु उसलाई चार भञ्ज्याङ्ग कटाई सन्तुष्टिका सुस्केरामा सुत्न चाहँदा हुन् । रातका सुरम्यतामा रमिता भई मग्न रहने किन्नर–किन्नरीहरु उसका अंगहरु निमोठेर रासलिलामा रमाउन चाहँदा हुन् । उपभोग्यताका आहुती- भव्य पूजारीहरु बजार, चोकमा दम्भमा तेर्सीई ठेस् बनि पलाइजाँदा हुन् । बन्दुकका नालहरुमा उसैका नाम लेखिएका छन् ।

भोग्य पाचन बनी बलिमा नाम चढिटोपलेको बखत भव्य पर्वत बनेर उभिदा उसलाई नदी बनी दुई टुक्रा बनाई काटिएको थियो । तरवारका धार बनेर विजय गान चिच्याउने कवच लालमा पोतिएको बखत ऊ किल्ला बनी तेर्सिँदा उसलाई तोप बनि निमोठिएको थियो । ग्रहणका बखत उसलाई सीमा बनाई ठुन्क्याइएको थियो । पुराणे सन्दर्भमा उसलाई पन्छाइएको थियो । पठारको क्रूर वायुमा बुढो पिपल- ऊ विचरणले दहन भएको थियो ।

पाश्चात्य उपमाहरुमा उपरखुट्टी बनेर उफ्रिएका पाउहरुले उसलाई हजारौँ–हजार पटक कुल्चेका छन् । समान्तकृत भैखाएका सामन्ती बाहुहरुले उसलाई लाखौँ–लाख पटक रेटेका छन् । चिहान बनेर खुम्चिएका राता नजरले उसलाई हरेक बिहानीसँगै जलाएका छन् । बगर बनेर बिरक्तिएका स्वाभावले उसलाई हरेक बेलुका उपभोग गरेका छन्। वास्तवमा ऊ करोडौँ–करोड ललाट बनेर चेप्टिएको छ । उपभोगीताको बहुलतामा ऊ सुगन्धका नाथ्रिबाट रक्तरस भई बगेको छ ।

सोच्दा हुन, मानिसहरु समृद्धिका पर्खाल चढेर उपमाका गुणगान गाउन सुरम्यताका सैनिक तैनाथ हुनुपर्छ । खस्रा लेपहरु दलेर कोमल देखिन पाचनका कुलिन आदतहरु चाहिन्छन् । कर्मको मार्गमा कुण्ठित भएको वनपालेको कन्पट्टीबाट बन्दुक तेर्स्याइ पड्काउन अराजकताको अवशेष चाहिन्छन् । उग्रचण्डीको घडाबाट बगेको अमृत पिउन केश फुलेको उमेर चाहिन्छ । शासनको सहमति पैल्याउन रोदनको कला चाहिन्छ । क्रूरता पनि अग्घोर नहुँदो हो त फुर्तीका स्वासहरुमा नरभुज् आदतका डकार गुम्सिएका नभेटिँदा हुन् ।

मलाई थाहा छ उसैका साथै जंघार तरेका तिमीले उसैलाई आहुती बनाई काली किनारमा अस्तु सेलाएका थियौं । कालापथ्थर बनेर थामेको उसैलाई डढेलो बनेर जलाएका थियौं । रोदनका कम्बल ओढेर अइरहेको तिमीलाई उसैले खान दिएको थियो । दुःखको आहारा बनेर ओइरिएको तिम्रो प्राणलाई उसैले उग्राएको थियो । बहुलठ्ठीपनका तिम्रा काला रातहरुलाई जुनको उज्यालो पनि दिएको होला ! इर्श्याका तिम्रा सिंगमर्मरमा रातको धुमीलतालाई उसैले बिहानी बनाएको थियो । संसारलाई खर्लप्पै निलेर बाउँठिएको तिमीलाई उसैले घाम देखाएको थियो ।

होला ! उसले बैराग्यको ज्वारभाटा निलेको होला । बिसमताका चुचुरामा सुस्ताएको होला । बिद्रोहका मरुभूमिमा रसाएको होला । अन्त्यको शिखर— हिम्पातमा डुबेर तिमी निसासिएको बखत उठाएर न्यानो कन्दरामा पनि लगेको होला । रोशको सागरमा हराएको बखत उसको किली–काँटाहरुले बँचाएको होला । होला ! उसको उपस्थिति तिम्रो लागि वरदान पनि भएको होला ।

उकालो चढ्दाको स्वासमा तिमीले दिएको गाली सुनेर ऊ तर्सिएको छ । निस्पस्ट कालकोठरी अन्धकारमा तिमीसँगै हराएको छ । निस्लोट थकानका मझेरीमा तिम्रा पिलोन्धरे बाहुमा सुस्ताएको उसले तिमीसँगै भवसागर पनि त देखेको होला ? दरौँदी तारेर अन्माएकी दुलही जसरी अन्माउँदा उसलाई तिमी पनि त साथै रोएका थियौ होला ? तोरन तारेर मोक्षको संसार देख्ने तिमीले नै उसलाई मोक्षको बाटोमा भेटेका थियौं कि कतै ?

हिम–शिखरका कुना काप्चा वरपरका भञ्ज्याङ्गमा सुस्ताएर बस्नुको अर्थमा नफकिर्ने तिम्रो मन उसको विभत्सतामा के फर्कँदो हो । परिवार मारिएर संघर्ष बनी जीवनरुपी तुईनमा झुण्डिएका कर्कष- क्रन्दनमा तिम्रा तिर्सना के बहलाउँदा हुन् ! कोक्रोमा झुलिरहेका भविष्यका हाँसोमा तिम्रो मुहार के खुल्दो हो ? मर्दन त आफैँबाटै उत्पति भैरहेछ- आँखा चिम्लिएर होमीनुमा के अर्थ ?

ऊ रुझेका मानिससँगै काली तरेका पलहरु तिमीले बिर्सेका छौं । भलमा होमिएर विस्फोट भएका आरोग्यका चाहना तिम्रा किम्वदन्ती भएका छन् । खोस्टामा सुकेका मनहरु पेलिएका पित आलिंगनसँगै भुलिएका पनि छन् होला । मरुमा तेलले कोक्याएसरी उसका यादहरु कोक्याउँदा हुन् । तर, कलीमा वैतरणी तरेको पनि त उही थियो !

आज ऊ फेरि विद्रोहमा परिभाषित हुन असमर्थ छ । ऊ क्रोदमा रुपान्तरण हुन असमर्थ छ । चेष्टाहरुको दोहनसँगै विभक्ति भएको ऊ अब फेरि रुद्र–विभक्तिमा परिणत हुन असमर्थ छ । समयको सीमामा पुगेर सुस्ताएको ऊ तिम्रो समिपमै भइकन पनि तिम्रो सथै हुन असमर्थ छ ।

रीतमा रमिता बनेर पिटिएको ऊ बहुलाह भएको छ । रमझममा लठ्ठिएर ऊ स्वादहीन भएको छ । शितमा ठिहिरिएर ऊ सन्ताप भएको छ । कुण्ठामा कोप्चिएर ऊ विरक्ति भएको छ । वर्षामा मासियर लोप भएको छ । पिसिएका पलहरुमा रुस्ट- चेप्टिएको मनको एक आदिम आदात हो । तयारी सधैंका लागि नहोलान् । ऊ जानुले तिम्रो पनि त यात्राको निर्क्योल गर्छ । सन्दर्भमा रुँएटिएर फसेका लिसा भावना थाकेर आरोहणका बाधकमात्र होलान्, तिम्रा लागि ।

नविन नयाँपनको आशामा कैयन नविनता माशिएर नविनता नै पर्खिदा हुन्। उसले बाटो पहिल्यायो–पहिल्याएन यी गन्थनहरुमा मात्र सीमित होलान्। कटाक्षमा दोहन नभइकन उसको छायाँ समेतलाई छाडिएन । उसका पखेटा काटेर मुकुट पनि त बनाइयो । घडाभरी राखिएको जलमा डुबाएर मार्दा पनि त ऊ मरिदिन्छ, सजिलै !

लाहासिएका सर्पहरुका भोजन बन्नुको औचित्य खोज्दा–खोज्दै खड्कीएको जीतको नशामा रुमलिएर विताएका केही यादगार पलमा उसले आफ्नो अस्तित्व विसाएको छ, सायद । नदी किनारका घाटहरुमा हात खैँचिएर बसेका घाटेमानवको सहचार्यमा उसले आफ्न स्वर्णीम पलहरु विसर्जन पनि गरेको होला । चट्टानसँगै चुटिएर कुँदिएको भेललाई उसले आफ्ना केही स्वास सापटी दिएको होला । भवितव्यमा जिउनेका लागि आफ्नो हौसलाको केही अंश पनि उसले खर्चेकै हो ।

धुर्सेलीका फलसँगै ऊ कयरामा बास बस्यो । रमितेको गिर्गिरे उकालोमा उसले आफ्ना उदण्ड पाइला थकायो । बन्दुकका हरेक नालमा उसले आफ्नो नाम लेखायो । विवशताका हरेक मोडमा कन्सिरी ताक्नेका लागि उसले आफ्नो छाती खोलेर स्वीकार गर्‍यो। उसले आफ्ना लज्जाका अवशेषलाई दाँतैले चपाई निल्यो । डरका साना पनि तरंगलाई पाइलैले कुल्चेर मिल्काइदियो । र, अन्त्यमा ऊ सर्वमान्य विभक्तिमा अनुवाद भैदियो ।

तर, आज ऊ फेरि विद्रोहमा परिभाषित हुन असमर्थ छ । ऊ क्रोदमा रुपान्तरण हुन असमर्थ छ । चेष्टाहरुको दोहनसँगै विभक्ति भएको ऊ अब फेरि रुद्र–विभक्तिमा परिणत हुन असमर्थ छ । समयको सीमामा पुगेर सुस्ताएको ऊ तिम्रो समिपमै भइकन पनि तिम्रो सथै हुन असमर्थ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट