जब राज्य कविसँग डराउँछ-Sutra News

जब राज्य कविसँग डराउँछ

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

वर्षा गन्धिकोटा–नेल्लुट्ला



शनिबार मैले मेरो फोन खोली हेरेँ । त्यसमा काकाको खबर रहेछ, जो हाल भारतका एक राजनीतिक कैदी हुन् । उनले भनेका थिए ‘म ठीक छु ।’

तर उनी ठीक थिएनन् । उनको आवाज कमजोर र शिथिल थियो । उनका शब्दहरूमा निराशा थियो, जुन उनको प्रिय तेलगुबाट बारम्बार चिप्लिएर हिन्दीमा निक्लिरहेको थियो ।

बरबर रावको पहिचान हो– क्रान्तिकारी कवि ।

उनले ६ दशकभन्दा बढी आफ्नो पुस्तालाई आलोचनात्मक कविता र गद्यले मोहित पारे । उनी एक स्पष्ट रुपमा अभिव्यक्त गर्न सक्ने व्यक्तित्व थिए, जो भीडविनै पनि कुव्यवस्थाबारे डटेर बोल्न सक्थे । नरेन्द्र मोदीको प्रशासनको लक्ष्य भनेको मेरो काका जस्तालाई मौन बनाउनु हो ।
के तिनीहरू सफल भए ?

०००
बरबर रावलाई वर्णन गर्ने धेरै तरिका छन् । उनी एक शिक्षक हुन् । एक कवि हुन् । एक कार्यकर्ता हुन् । साधारण रुपमा उनी ‘भिभी’ भनेर चिनिन्छन् । भारत सरकारका लागि उनी एक विद्रोही र खतरनाक ‘राजद्रोही’ हुन् ।

वास्तवमा भारतीय राज्यले उनीमाथि लगाएको षडयन्त्रपूर्ण घटनाहरूको मिति मात्रैपनि स्वतन्त्र भारतको इतिहास चित्रण गर्न सम्भव छ । विगत ४५ वर्षमा उनले आफूमाथि लागेका मुद्दाको सुनवाइका लागि पच्चीस वर्ष बिताए, तीमध्ये आठ वर्ष त जेलमा बित्यो । अझै पनि ती मुद्दाको सुनुवाइका लागि उनी प्रतीक्षारत छन् ।
वामपन्थी बौद्धिक व्यक्तित्वको रूपमा माक्र्सवादी साहित्य आलोचनाको अनुशासनमा उनले महत्वपूर्ण योगदान दिए । धार्मिक कट्टरपन्थता, जातीय भेदभाव र नवउदारवादी विकासको निडर विरोधले उनलाई मुलुकमा रहेका अदृश्य व्यक्तिको प्रेम प्राप्त भयो भने प्रत्यासित रूपमा जमिन्दारहरु, ब्यूरोक्रेट्स र पुलिसहरुले उनीप्रति रोष प्रकट गरे ।

उनको क्रान्ति १९६० को दशकमा भूमि अधिकारको लागि ग्रामीण विद्रोहबाट सुरु भयो । त्यसपछि भएको कडा दमनको क्रममा उनी आन्द्र प्रदेश सरकार र नक्सलपन्थीबीचको शान्ति वार्तामा दूतको रूपमा सेवा पुर्याउने क्रममा पिछडिएको आदिवासी समुदायको पक्षमा उभिए ।

तर मेरो लागि उनी केवल बापू (तेलङ्गानामा पितालाई प्रेमपूर्वक भनिने शब्द) हुन् । पारिवारिक सम्बन्धका दृष्टिले उनी मेरा मामा हुन् । तर हरेक पुस्ताका लागि– भान्जी, भतिजा, हजुरआमा र नातिनातिना सबैका लागि– उनी सधैँ हाम्रा बापू हुन् ।

०००
दशकको प्रारम्भिक अवधिमा हामी– मेरी बहिनीहरू, मेरी आमा र उनका बहिनीहरू–हाम्रा काका मालाको हैदराबादस्थित निवास मलाकपेटमा बिताउँथ्यौं । त्यही शहरमा म हुर्केको थिएँ । उनको बैठक कोठाले त्यहाँ आइपुग्ने हरेकलाई स्वागत गर्‍यो। मेरी काकी, अम्मा (आमा), आगन्तुकहरुलाई चियाको प्रस्ताव राखिहाल्नुहुन्थ्यो । मेरो बाल्यकालको त्यो समय भारतमा त्यो वर्गको परिवारसँग मिल्छ, जसले धेरै गतिशिलताको अनुभव गर्‍यो र बढ्दो अभिजात वर्गविरुद्ध लगातार संघर्ष गरिरह्यो । बापू र अम्माको अपरिवर्तित अपार्टमेन्ट नम्र र सबैको स्वागतमा सदा तयार थियो । मेरो बाल्यावस्थामा उनीहरूको उपस्थिति र त्यस प्रेमिल वातावरणले मलाई अनन्त गुण प्रदान गर्‍यो ।

हामी बच्चाहरूका लागि त्यहाँको छिमेक झगडा गर्नेदेखि खेल्ने र लुक्ने ठाउँ थियो । जब आँपघारीभित्र पस्ने समय हुन्थ्यो, वयस्कहरूले प्यालेस्टाइन र क्युबा वा वारंगल र छत्तीसगढ़ जस्ता टाढा–टाढाका ठाउँहरूबारे अप्ठ्यारोका साथ कुरा गर्थे । कसैलाई गाउँका अगुवाले दुव्र्यवहार गरेको थियो । कसैलाई माथिल्लो जातीको समूहले कुटेका थियो । पीडितहरुलाई कानूनी सहायता आवश्यक थियो । उनीहरू भन्थे, ‘कसैलाई इन्काउन्टरमा मारियोे ।’

कुराकानी फेरियो । सबैले केही नयाँ कुरा पढेका थिए । सबै पूर्वानुमान गर्न उत्सुक थिए । उनीहरु आफूले पढेका कुरा एक अर्कालाई सुनाउथे । जस्तैः गएको हप्ताको कागजमा उर्दूबाट अनुवाद गरिएको एक नारीवादी कविता । कोलम्बिया फार्समा एक नयाँ पुस्तक । मित्रको सिफारिस । यस्ता कुरा साटासाट कहिले पनि बन्द भएनन् । किनकि मैले चिनेको ती परिवारले एक अर्काको न्यानोपनमा रक्सी पिए । उठेको आवाज र कठोर हाँसोको लागि भोकाए ।

मैले आफ्नो सम्पूर्ण जीवनमा बापूलाई उस्तै–उस्तै देखेँ । एउटा खजमजिएको सेतो सर्ट वा कहिले हल्का नीलो, खल्तीमा कलम र सेतै कपालले भरिएको टाउकोे । उनको ओठमा सदा एक मुस्कान खेलिरहन्थ्यो । जब उनी हामीलाई ढोकामा अभिवादन गर्थे, त्यो अँगालो सहितको हुन्थ्यो । ‘तिमी ठीक छौ मेरी छोरी ?’ उनी मेरी आमालाई सोध्थे ।

त्यस समय पुरुष र महिलाले सामान्यतयाः एक अर्कालाई अँगालो हाल्ने चलन विरलै थियो । पछि मैले यसलाई सिक्न नचाहेको थुप्रै चिजकोरूपमा मूल्याङ्कन गर्न थालेँ । यसले मलाई खुलेर स्वतन्त्रतापूर्वक र खुसीसाथ प्रेम गर्न सिकाएको थियो ।

१९९० मा बापू र अम्मा हैदराबादको यात्रा गर्न बाध्य पारिए । उनले त्यस वर्ष आन्द्र प्रदेशस्थित रायथु कुली संगमका किसानहरुको भूमि आन्दोलन सम्बन्धी सम्मेलनमा१२ लाख भन्दा बढीको जनसमूहलाई सम्बोधन गरेका थिए । यसबाट बापूमाथि राज्यका पुलिसको रोष थप बढ्यो । तिनै पुलिसले ५ वर्ष अगाडि १८८५ मा बापूकै साथी डा.रमानाथनको हत्या गरेका थिए । बापूलाई पनि त्यो भाषणपछि आफ्नो निशाना बनाउने नियत प्रस्टै देखाएका थिए । बढ्दो खतराका कारण बापू र अम्माले आफ्नो प्यारो वारंगल छोडे । किनभने भर्खर निर्वाचित कांग्रेस (आई) को सरकारले राज्यभरवामपन्थी आन्दोलनमाथि दमन गरिरहेको थियो ।

०००
संयुक्त राज्य अमेरिकाको एक ग्रेड स्कूलको साथीले मलाई एक पटक सोधे कि, मेरो राजनीतिकरण कहाँ सुरु भयो ? मैले तुरुन्तै जवाफ दिएँ, ‘घरमा, मेरा बाबु–आमाबाट ।’

खासमा मेरा आमा–बुबाका राजनीतिक शिक्षक बापू थिए । उनीबाट राजनीति सिक्ने मेरा बुबाआमा मात्र थिएनन् । जब उनले युवाका रूपमा १९५७ मा लेख्न थाले, त्यो बेलोदेखि सम्पूर्ण पुस्ताले उनीबाट राजनीति सिक्न सुरु गरेको थियो । जब पछि सरकारले सताउन थाल्यो, उनी झन् निडर भएर यसबारे वकालत गर्दै हिड्न थाले । उनलाई पछ्याउँदै धेरै कार्यकर्ताहरुले पिछडिएका नागरिक अधिकार संरक्षणको माग गर्न थाले । त्यो बेला ‘नयाँ भारत’ भन्ने नाराका साथ आदिवासीका जमिन रसामुदायिक स्थललाई औद्योगिक क्षेत्रर जलविद्युतका बाँधका रुपमा परिणत गरिँदै थियो ।

जब मेरा आमा–बुबाले तेलङ्गाना आन्दोलन वा स्वतन्त्र नागरिक संगठनको बारेमा पुराना स्मृतिहरु याद गर्छन्, उनीहरूको स्मृतिमा उल्लेखनीय कुरा खासै केही हुँदैनन् । त्यस्ता गतिविधि बरबरको पुस्ताका लागि सामान्य थिए ।

बापूको जीवनलाई नजिकैबाट नियाल्नु भनेको कानून आफैँ कसरी गैरकानूनी हुनसक्छ भन्ने कुरा बुुझ्नु थियो । अनि कसरी यसको प्रतिवाद गर्न सकिन्छ भन्ने कल्पना पनि गर्नु थियो । उनका लागि सजाय यति सामान्य भइसकेको थियो कि हामी उनलाई अक्सर प्याक भएको ‘जेल–झोला’ सहित शान्तपूर्वक आगामी गिरफ्तारीका लागि पर्खिबसेको भेट्थ्यौं ।

अगस्ट २०१८ मा जब पुलिस बापू र उनका तीन छोरीहरूको घरमा आईपुगे, यो समय पनि विगतभन्दा फरक हुनेछ भनेर दाबी गर्ने कुनै आधार थिएन । पुलिसले मराठी भाषामा ‘यहाँ पक्राउ पुर्जी छ?’ वा ‘कुनै प्रकारको चिठी छ ?’ भनी सोधेका थिए । तर बापू मराठी बोल्दैनथे । कसैले भने कि, यो मोदीलाई मार्ने षडयन्त्रको बारेमा थियो । 

‘तपाईंको ल्यापटप कहाँ छ ?’ प्रहरीले यस विश्वासमा यस्तो प्रश्न सोधिरहेका थिए कि, बापूले हजारौं पृष्ठ कट्टरपन्थी साहित्य केवल हातले मात्र लेखे होलान् भनेर । तर बापूले हातैले लेखेका थिए ।

जब मलाई यो खबर छापामार्फत् मिल्यो, म हैदराबादतर्फ जाने उडानका लागि एयरपोर्टमा थिएँ । त्यसको केही घण्टासम्म मैले कुनै जानकारी पाउने स्थिति थिएन । हैदराबाद पुगेपछि मात्र मैले पक्राउबारेको विवरण सुन्न पाएँ ।

पक्राउ पर्नेमा उनी एक्लो थिएनन् । दिल्ली र मुम्बईका वामपन्थी सर्कलका सुधा भारद्वाज, गौतम नवलखा, वर्नन गोन्साल्विस र यस्तै अरू केही अग्रज वामपन्थी चिन्तकहरुका साथ उनी पक्राउ परेका थिए । त्यसकुराले मलाई अलि राहत दियो । अनि मैले मनमनै सोचेँ कि, बापू यसबाट पक्का चाँडै निस्किनेछन् ।

पुलिसले उनलाई राजद्रोहको आरोप लगाएको थियो, जसका लागि मृत्युदण्ड वा जन्मकैदमात्रै सजायँ थिए । दुई वर्ष बितिसक्दा पनि उनलाई अझै कुनैै औपचारिक अभियोग लगाईएको छैन । यसमा क्रुरतामात्र हैन, स्पष्ट रूपमा असंवैधानिकता पनि छ ।

बापूलाई जेल लगिएको थियो, अखबारमा जताततै उनले हैदराबादको गान्धी अस्पतालको ‘इमरजेन्सी वार्ड’ छोडेको फोटो छापिएको थियो । त्यो मार्ग उनलाई जेलमा लैजाँदा मिडियालाई रोक्न पुलिसले चुनेको एउटा गोप्य मार्ग थियो । फोटोमा उनी केही प्रहरीहरूद्वारा घेरिएको देखिएका थिए । उनले मुट्ठी उचालेका थिए र ओठमा सदाझैँ मधुर मुस्कान थियो । भीडबाट कसैले उनको गोप्य रूपमा फोटो खिच्न सकेको थियो । उनको अनुहारमा पहिलेको जस्तै चमक देखिन्थ्यो ।

पछि मैले थाहा पाएँ, त्यो फोटो फोटोग्राफर रविले खिचेका थिए, जसले लामो ‘करिअर’ का क्रममा थुप्रै यस्तै ऐतिहासिक क्षणहरू कैद गरे । उनको हालसालै मृत्यु भइसकेको छ । उनको बारेमा पढ्नु अचम्मको कुरा थियो । यस्तो मान्छे, जसलाई मैले कहिल्यै भेटेका थिइनँ, तर उनले मलाई यस्तो मूल्यवान् चीज दिएका थिए ।
केही समयमै बापूको रिहाईका लागि अभियान सुरु भयो । वारंगलको उनले पढाएको सीकेएम कलेजसँग आवद्ध व्यक्तिहरुले यस अभियानमा हातेमालो गरे । विदेशमा समेत ‘भीमा कोरेगाउँ मुद्दा’ प्रख्यात भएपछि संयुक्त राष्ट्र संघ, मानव अधिकार वाच र एम्नेस्टी इन्टरनेसनल सबैले यस गिरफ्तारीको निन्दा गरे । सय भन्दा बढी विश्वव्यापी बुद्धिजीवीहरू जस्तै, नोम चोम्स्की, निगुगागइ वा थिओन्गो, जुडिथ बटलर र ब्रुनो लाटौर लगायतले उनको रिहाईको माग गरे ।भारतीय इतिहासकार रोमिला थापरको तर्फबाट पक्राउविरुद्ध सर्वोच्च अदालतमा चुनौति दिइयो । यसले अस्थायी रूपमा बापूलाई घरमा नजरबन्दमा ल्यायो ।

भारतमा लेखक र राजनीतिक आन्दोलन बीचको वास्तविक सम्बन्ध स्थानीय पाठकहरूका कारण फस्टाउँछ । यो ऐतिहासिक रुपमा सत्य हो, मैले बापूको जीवनमा पनि यो देखेको छु । उनले स्थापना गरेका संस्थाहरू, जस्तै : श्रुजाना, तेलगु पत्रिकाले कट्टरपन्थी साहित्य प्रकाशित गरे । क्रान्तिकारी लेखकहरूको अर्काे संगठन थियो, विरासम । यी दुबैका पाठक सीमान्तकृत वर्गका थिए, जसले साहित्यिक संस्कृतिको कुलीन अभ्यास देखेका थिए ।

तानाशाही प्रवृतिको सरकार विशेष गरी स्थानीय भाषामा लेख्ने कविहरुसँग डराउँछ । केशवन लेख्छन्, ‘भारतमा बौद्धिक व्यक्ति पत्ता लगाउने एउटा तरिका शवलाई पछ्याउनु हो ।’ नरेन्द्र दाभोलकर र गोविन्द पन्सारे, जो मराठीमा लेख्थे, त्यस्तै यम.यम. कालबुर्गी र गौरी लंकेश, जसले कन्नाडामा लेख्थे– उनीहरुको हत्यालाई औल्याउँदै उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

०००
राज्य सरकारले १९७४ मा बापूविरुद्ध दर्ता गरेको षड्यन्त्रकारी मुद्दाले यो कुरा स्पष्ट पार्छ कि, त्यो अवधिमा क्रान्तिकारी आन्दोलनका सबै कार्यहरू कविता, भाषण र कट्टरपन्थी लेखकहरूको लेखोटको प्रत्यक्ष परिणाम हो । १९८९ मा पन्ध्र वर्ष लामो समय चलेको मुद्दाको सजायमा उनी निर्दोष सावित भए ।

यद्यपि, बापूको आत्म–आलोचनात्मक शब्दहरू अनपेक्षित रूपमा मेरो स्मृतिमा आउँछन्, जुन १९९० को कविता ‘एफटर अल यु से’ मा लेखिएको छ :
तर मेरो लागि
शब्दको रूपमा मानिस पढ्ने बानी
पुस्तक एक विकल्प हुन सक्छ
संसारको लागि ?

हामीले केही समयका लागि बापूको बिग्रँदो स्वास्थ्यको आधारमा एउटा मुद्दा दायर गर्न चाहेका थियौ । सन् २०१८ मा पक्राउ परेका व्यक्तिमध्ये सबैभन्दा बृद्ध थिए उनी । उनको स्वास्थ्य अवस्था धेरै गम्भीर थियो र उनी घरबाट धेरै टाढा थिए । अम्मा आफ्नै बिरामी स्वास्थ्यको कारण उनलाई भेट्न आउन सक्ने अवस्थामा थिइनन् । तर उनले प्रतिरोध गरे,‘म साईबाबा वा शोमा सेन भन्दा खास छैन । बरु जेलबाट हामी अनिश्चित फोन कलहरुमार्फत् भएपनि धेरै मानिसहरुको लागि लड्छौं र थुप्रै परिवारमा सूचनाहरु पठाउछौँ ।’

अप्रिल २०२० मा बापूको व्यक्तिगत जमानत याचिका दायर गर्ने समयसम्ममा भारतमा हजारौं कोभिड–१९ प्रमाणित घटनाहरू आइसकेका थिए । देशभर केही सय मृत्युको रिपोर्ट आइसकेको थियो । अप्रिल १५ मा उनका वकिलले अन्तरिम जमानत याचिका दायर गरेका थिए । त्यसबेलासम्म ‘नेशनल इन्टिलिजेन्स एजेन्सी’ ले यस मुद्दाको जिम्मेवारी लिएको थियो र तुरुन्तै जमानतको विरोध गर्‍यो ।

तीन दिन पछि एक जनहित याचिकाले बापूलाई राखिएको तलोजा लगायत महाराष्ट्रका तीन जेलमा कोभिड–१९ ले मृत्यु भएको कुरा सार्वजनिक गरे । वकिलले जेल अधिकारीलाई तुरुन्त फोन गरे । फोन कसैले उठायो । तर तिनीहरुले प्रश्नको उत्तर दिएनन् । साथीहरू चिन्तित भएर सोसल मिडियामा अनुरोधहरू पोस्ट गर्न थाले, ‘के कसैले तलोजा जेलमा सम्पर्क गर्न सक्छ ? वा महाराष्ट्र सरकार वा मिडियामा ?’

‘हामी अत्यन्त चिन्तित छौँ’, उनका तीन छोरीर मेरो भतिजले मे २७ मा जारी गरिएको एउटा खुला पत्रमा लेखे । उनीहरूले बापूलाई आठ हप्ताको बीचमा आफ्नी श्रीमतीसँग मात्र तीन पटक फोन गर्न दिएका थिए । तर एक पटकमा दुई मिनेट भन्दा बढी कुराकानी हुन पाउँदैथ्यो ।

अर्को दिन अदालतको मिति आइपुग्यो । जेल अधिकारीहरू चिकित्सा प्रतिवेदन प्रदानगर्न असफल भए । त्यही कारण सुनुवाई पाँच दिनढिला भयो ।

अर्को दिन स्थानीय पुलिस स्टेशनले फोन गर्‍यो कि,उहाँ अस्पतालभर्ना हुनुभएको छ । ‘किन? के भयो? के उहाँ ठीक हुनुहुन्छ ?’ जति प्रश्न गर्दापनि हामीले एक लाइनको छोटो उत्तरभन्दा बढी प्राप्त गर्न सकेनौँ । एउटा समाचारमा उनी तीन दिन अघि नै अस्पतालमा भर्ना भएको दावी गरिएको थियो । आधिकारिक ब्रिफिङ भने फरक थियो कि, ‘उनलेभर्खरै स्मरणशक्ति गुमाए, उनलाई अस्पताल ल्याइयो तर उनको शरीर सामान्य अवस्थामा फर्किसकेको छ ।’
यसबारेमा सत्य कुरा के हो, त्यो हामी जान्न चाहन्थ्यौं ।

०००
भर्खरै निर्मित गैरकानूनी गतिविधि रोकथाम ऐन वा युएपीएले कसैलाई पनि कानुनी सोधपुछविना नै ‘राज्यको शत्रु’ घोषित गर्ने अधिकार दिएको छ, भारत सरकारलाई । यसको मतलब यो हो कि, भारतको नयाँ असंवैधानिक शासनमा एक कानुनी सोधपुछ प्राप्त गर्ने प्रयासले नै अनन्त समय लिनसक्छ । तपाईंले प्रत्येक सुनुवाइअघिको डरलाग्दो उत्सुकता महसुस गर्नुअघि नै बिस्तारै कानुनी सहायता प्राप्त गर्ने जोस हारमा परिणत हुँदै जान्छ ।

फेरि अदालतको मिति जुन २ मा पुग्यो । त्यसदिन न्यायाधीश अनुपस्थित थिए । अझ तीन दिन ढिलाइ हुने भयो । अदालतको मिति फेरि आयो । मेडिकल रिपोर्ट अझै गायब थियो । त्यसले पाँच दिन ढिलाइ गरायो । पुनः न्यायाधीश अनुपस्थित थिए । अर्को दुई दिन लम्बियो । यस पटक भने मेडिकल रिपोर्ट देखा प¥यो । तर अझै पढ्न बाँकी भयो । अरु हप्ता दिन लम्बियो । अभियोजनलाई तयारी गर्न समय चाहिएको थियो । अर्को हप्ता समय थपियो ।

जुन २६, म फेरि मेरो फोनमा कुरिरहेको छु । तर्कहरूको समय सकिएको छ । ‘अर्डर रिजर्भ गरियो’, मैले आरक्षित अर्डरहरूमा पढ्न सुरु गरेँ । कहिले न्यायाधीशले तुरून्त निर्णय नगर्ने निर्णय गर्न सक्दछन् ? के यो राम्रो कुरा हो? त्यहाँ समीक्षा गर्नका लागि प्रमाणछैनन् ?तीन घण्टामा फेरि अस्वीकृत ।
१९९० को ‘द अदर डे’ मा जेल जानु अघिल्लो दिनलाई उद्धित गर्दै उनले लेखेका छन् :
कस्तो संवादमा
हामी कुराकानी गर्न सक्छौं
निर्दयीसँग ?

११ जुलाई । मेरो काकी बापूसँग भएको फोनमा भएको कुराकानीबाट उनको अवस्था गम्भीर भएको पुष्टि भएपछिको प्रेस सम्मेलनको लागि क्यामेराको अगाडि बसिरहेको देखे । आँसु थाम्दै उनले आग्रह गरिन्, ‘म कुनै पनि जमानत, रिहाइको लागि माग गरिरहेको छैन । कृपया उनलाई चिकित्सा सेवा दिनुहोस् र उनको जीवन बचाउनुहोस् ।’

म सोच्छु कि, मैले यो पत्र बापूका लागि लेखेको हुँ ।यसमार्फत् मेरो केही स्नेह जेल पुग्ला । म यसलाई सार्वजनिक रूपमा आह्वानका रूपमा कल्पना गर्दछु । हुन सक्छ, मेरो पीडाले तपाईंहरूलाई पनि उत्तेजित गर्नेछ । म अब निश्चित छैन ।

तेजू कोलले एक पटक यस्तो टिप्पणी गरेका छन्, ‘लेखनको रूपमा लेखन । दंगाको रूपमा लेखन । सहीे रूपमा लेखन । राम्रो दिनहरूमा, यी तीन नै ।’
क्रुर प्रतीक्षाको यस अवधिमा यो लेख मेरो सम्झना मात्रै हुनसक्छ वा भविष्यमा यसको पनि एक–एक हिसाबहुनेछ ।

(चर्चित भारतीय कवि बरबर रावमाथिको यो आलेख रुपक घिमिरेले अनुवाद गरेका हुन् । यो आलेख बोष्टनरिभ्युडटनेटमा प्रकाशित भएको थियो ।)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट