‘पुजार सार्की’मा पल शाहको ‘मेघराज खत्री’ लुक्स-Sutra News

‘पुजार सार्की’मा पल शाहको ‘मेघराज खत्री’ लुक्स

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । स्टारकाष्टका कारण चर्चामा रहेको फिल्म ‘पुजार सार्की’को निर्माण टिमले अभिनेता पल शाहको पात्र चिनाउने लुक्स सार्वजनिक गरेको छ ।



राष्ट्रिय अवार्ड विजेता समेत रहेका निर्देशक दिनेश राउतको निर्देशन रहेको यस फिल्ममा पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरिएको हो ।

जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा बताउने फिल्मको यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने चरित्र चित्रण भएको तस्बिर सार्वजनिक गरिएको थियो ।

यता, अर्का प्रमुख पात्र रहेका पलको सार्वजनिक गरिएको तस्बिर हेर्दा काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेको देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।

झट्ट हेर्दा पलको हुलियाले खल पात्रको सङ्केत गर्छ । निर्देशक राउतले मेगराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् ।

फिल्ममा पहिलो पटक तीन अभिनेताहरू आर्यन, प्रदीप र पल एकसाथ देखिँदै छन् । फिल्मको आधिकारिक रिलिज मिति केही दिनमा तोक्ने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिका रहेको छ । यस्तै फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दै छन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । यस फिल्ममा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आरआर फिल्मसले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट