फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर-Sutra News

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर गरिएको छ । ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाको कमब्याक फिल्मलाई जेठ १८ गतेबाट रिलिज गर्ने तयारी गरिए पनि अब एक साता पोस्टपोन्ड गर्दै जेठ २५ पुर्याइएको छ ।



पूर्वघोषित मिति बाट एक हप्ता पछाडि ‘गाउँ आएको बाटो’लाई एकल रिलिजको अवसर भने मिल्ने छैन । किनकि, यसअघि नै फिल्म ‘लण्डन टू पेरिस’ले जेठ २५ गतेलाई ‘बुक’ गरिसकेको छ । यस हिसाबले बक्स अफिसमा अभिनेता दयाहाङ राइ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच प्रतिस्प्रर्धा हुने भएको छ । यद्यपि, दुवै फिल्म फरक विषयमा बनेका छन् ।

प्रदर्शन मिति हेरफेर भएसँगै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सीज इन्टरटेन्मेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । शनिबार फिल्मका निर्माता र वितरक कम्पनीका प्रतिनिधिबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गर्ने गरी फिल्मलाई एक हप्ता पछि सारिएको जनाइएको छ ।

फिल्म ‘गाउँ आएको बाटो’ले दुर्गम गाउँमा सडक र गाडी पुगेपछि एउटा परिवारका के कस्तो भिन्नता देखिन्छ भन्ने कथालाई उठान गरेको छ । फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको छ ।

विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको यस फिल्मलाई अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । निर्देशक सुब्बा र महेश राईको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् ।

यो फिल्म टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट