पूजाको दान्भी जेठ १० बाट भाग्यो, अब कहिले आउला ?-Sutra News

पूजाको दान्भी जेठ १० बाट भाग्यो, अब कहिले आउला ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । आगामी जेठ १० गते फिल्महरूको प्रतिस्पर्धा त हुँदैछ, तर इगोको लडाइँ पनि सतहमा देखिने भएको छ । यस विषयमा करिब एक महिनाअघि सुत्र न्यूजले ‘स्टारडम’को लडाइँमा फिल्मी क्षेत्र : एकअर्कालाई सिध्याउन फिल्म जुधाउँदै’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।



यो मितिमा विशेष गरी तीन नेपाली फिल्म एकै दिन प्रदर्शन हुने कुराले लामो समयसम्म चर्चा भइरहेको थियो । सुरुवातमा छायांकनकै चरणबाट फिल्म ‘फर्की फर्की’ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको थियो ।

त्यसपछि, नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ले सोही दिनलाई प्रदर्शन गर्न मिति तय गरेको थियो । यसपछि नायक प्रदीप खड्का, आर्यन सिग्देल र पल साहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’ले पनि सोही दिन प्रदर्शन हुने घोषणा गरेको थियो ।

प्रदर्शन मिति घोषणा गरिरहँदा यता फिल्मवृत्तमा भने इगोको लडाइँ सतहमै देखिँदै थियो । उनीहरु एक अर्कासँगको आन्तरिक इगो देखाउँदै प्रतिस्पर्धा गर्न सामेल भएर प्रदर्शन मिति घोषणा गरेका थिए ।

खासगरी यी तीनै फिल्मको रिलिज मिति जेठ ११ गते हो । तर, जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेकाले एक दिनअघि सरेर यी फिल्म प्रदर्शन हुन लागेका हुन् ।

धेरै समयसम्म यी तीन फिल्म एकैदिन आउने कुरा भइरहँदा अन्ततः दान्भीले आफ्नो प्रदर्शन मिति सारेको छ । यो फिल्मको प्रदर्शन मिति सारिनुको पछाडि पूजा शर्माले देखाएको लचकता पनि एक कारण हो ।

किनकी सुरुवातमा अनमोल केसीसँगको एक फिल्मबाट सुरु भएको विवादबाट प्रतिस्पर्धामा उत्रिएकी उनले आफ्ना दुई हिरो प्रदीप र पलका लागि भन्दै उनले दान्भीलाई पर भगाउन खोजेको स्पष्ट हुन्छ ।

पहिला त पूजासँग प्रदीप र पलले दुई फरक फरक फिल्ममा सँगै काम गर्दै छिन् । त्यस हिसाबले आफ्नो मित्रता देखाउँदै निर्माण पक्षसँग जुध्न उपयुक्त हुँदैन भन्दै यो फिल्मको प्रदर्शन मिति हेरफेर गर्न लगाएकी हुन् भन्न बुझ्न गाह्रो पर्दैन ।

यता, इगोमा फिल्म प्रदर्शन हुँदै गर्दा फिल्म दान्भी टीमले नजुधाएर उदारणीय काम गरेको साहनुभूति लिने प्रयास गरेको छ । यस विषयमा दान्भीका वितरक करण श्रेष्ठले सुत्र न्यूजसँगको कुराकानीमा आफूले गत फागुन २५ मा फिल्म जुध्दाको पाठ सिकेको भन्दै त्यही नहोस् भन्न मिति सारेको बताए ।

उनले भने, ‘मलाई कोहीसँग प्रतिस्पर्धा र इगो देखाउनु छैन, मलाई सुरुवातमा निर्माण पक्षले जेठ १० को मिति चाहियो भन्नु भएको हो, मैले सोही मितिमा हुन्छ भनेर यस मितिमा रिलिज गर्न तयार भएको हुँ, पहिला फिल्म फर्की फर्कीले मात्र रिलिज मिति घोषणा गरेकाले दुई फिल्म त नेपाली दर्शकका लागि उपयुक्त हुन्छ भन्दै तयार भएका थियौँ, पछि पुजारी सार्की थपियो, अब यस मितिबाट कोही न कोही त सर्नै पर्ने हुन्थ्यो, हामीले केही व्यक्तिसँग छलफल गरेरै मिति हेरफेर गरेका हौँ ।’

फिल्म दान्भीलाई जेठ १० गतेबाट सारिए पनि कहिले प्रदर्शन गर्ने भन्नेबारे आधिकारिक घोषणा हुने सकेको छैन् । तर, वितरक श्रेष्ठका अनुसार असार ७ गते प्रदर्शन गर्ने गरी तयारी गरिएको छ । यस विषयमा निर्माण टीमसँग छलफल भइरहेको जानकारी दिए ।

उनीहरुले फिल्म नजुधाउनलाई प्रदर्शन मिति हेरफेर गरे पनि दान्भी सार्नुमा दुई फिल्मको चेपुवामा पर्ने भएकाले भागेको भन्न गाह्रो हुने छैन । किनकी बक्स अफिसमा एकै दिन ठूला फिल्म प्रदर्शन हुँदा एक न एक असफल हुने देखिन्छ । त्यसको गतिलो उदाहारण वितरक श्रेष्ठले भनेकै फागुन २५ लाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट