‘स्टारडम’को लडाइँमा फिल्मी क्षेत्र : एकअर्कालाई सिध्याउन फिल्म जुधाउँदै-Sutra News

‘स्टारडम’को लडाइँमा फिल्मी क्षेत्र : एकअर्कालाई सिध्याउन फिल्म जुधाउँदै

निर्माता, अभिनेता र वितरकबीचको इगो मुख्य कारण

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । नेपाली फिल्म क्षेत्रका मेकरहरुको एउटै रोग छ, त्यो भनेको एक अर्कासँग जुध्नुपर्ने । यो रोगका कारण उनीहरुका फिल्मले भने जस्तो व्यापार गर्दैन भन्ने पनि थाहा छ । तर, यसरी किन जुधेको होला भन्यो भने उनीहरु ठाउँका ठाउँ गाग्रीका गाग्री दूध खन्याएर चोखो बनेझै गरिहाल्छन् ।



यस्तै हुँदैछ आगामी जेठमा पनि । जहाँ नेपाली फिल्म उद्योगमा इगोको लडाइँ सतहमै देखिँदैछ । जेठमा तीन नयाँ फिल्म रिलिज हुँदैछन् । आँखाले अटेसमटेस हुने गरी समय हेरेर बसेका उनीहरु एक अर्कासँग इगो देखाउँदै प्रतिस्पर्धा गर्नसमेत सामेल भएको देखिन्छ ।

सुरुवातमा नायक अनमोल केसी र नायिका जसिता गुरुङ्गको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को टिमले छायांकन अगावैबाट जेठ ११ गते फिल्म रिलिज गर्ने घोषणा गर्‍यो । यहीबीच नायिका पूजा शर्मा केन्द्रीय भूमिकामा रहेको फिल्म ‘दान्भी’को पनि ११ गतेलाई रिलिज मिति घोषणा गरियो । यता फिल्म ‘पुजार सार्की’टिमले पनि सोही दिनमा नै रिलिज गर्ने तयारी गरिरहेको बुझिएको छ । अहिले यो विषय फिल्म क्षेत्रभित्र चर्चाको केन्द्रमा छ ।

खासगरी यी तीनै फिल्मको रिलिज मिति जेठ ११ गते नै हो । तर, जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेकाले एक दिनअघि सरेर दुई फिल्म ‘फर्की फर्की’ र ‘दान्भी’ रिलिज हुन लागेका हुन् । यसको ठिक अर्को दिन जेठ ११ गते ‘पुजार सार्की’ रिलिज हुने कुरा छ । यसरी हेर्दा, यी तीनै फिल्महरूले एक–अर्काको सामना गर्नेछन् ।

हुन त, नेपाली फिल्म क्षेत्रमा कोही पनि दुस्मन र मित्र भएको देखिँदैनन् । पर्दामा कहिँलेकाहीँ सँगै देखिएपनि उनीहरु पर्दाबाहिर प्रतिस्पर्धामै देखिने गरेका छन् । उनीहरुबीचको प्रतिस्पर्धा अलि बढी पेचिलो पनि देखिन्छ ।

यसै सन्दर्भलाई बुझ्ने हो भने, वितरक र निर्मातादेखि निर्देशकसम्मको इगो राख्न जोड दिइरहेको पाइन्छ । उनीहरूले विभिन्न रणनीतिहरू अपनाउँदै आफ्नो फिल्मलाई बजारमा जति सफलतापूर्वक प्रस्तुत गर्ने योजना बनाएका छन् उति नै अरुसँग प्रतिस्पर्धा गर्न पनि ।

‘पुजार सार्की’ यस मितिमा रिलिज गर्ने तयारी गरिनुको पछाडि, दुई व्यक्तिबिचको सम्बन्धलाई कारण मानिएको छ । फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र फिल्म ‘पुजार सार्की’का निर्देशक दिनेश राउतबिचको तिक्तताले दुई प्रतिक्षित फिल्मको भिडन्त हुन लागेको देखिन्छ ।

दिनेश र रोहितले मिलेर फिल्म ‘२६ करोड’ बनाउने तयारी गरेका थिए । तर, यी दुईबिच असमझदारी उत्पन्न भएपछि यो फिल्म बन्न सकेन । अहिले ‘फर्की फर्की’सँग ‘पुजार सार्की’ रिलिज गर्ने तयारी गरिनुको पछाडि पनि दिनेशको रोहितसँग सिर्जना भएको तित्ततालाई लिन सकिन्छ ।

अर्कोतिर, एकसाथ फिल्महरु जुधाइनुमा वितरकको समेत हात देखिन्छ । ‘फर्की फर्की’लाई गोविन्द शाही, ‘दान्भी’लाई करण श्रेष्ठ र ‘पुजार सार्की’लाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

यी वितरकको इगो वर्षोंदेखि वितरण गर्दै आएका फिल्मले उत्पन्न भएको विवाद पनि हो । वितरक कट्टेल टीमले अन्य दुई वितरकभन्दा पहिले नै फिल्म वितरण गर्दै आएका थिए । कट्टेल टीमले फिल्म वितरण गर्दै आइरहेका बेला शाही र पछि श्रेष्ठ थपिएका हुन् । एकै पटक फिल्म जुध्नको पछाडि पनि वितरक समूहबीचको आन्तरिक लडाइँलाई पनि लिन सकिन्छ ।

यस इगोको लडाइँमा कलाकारहरू पनि भागिदारी रहेको देखिन्छ । नायिका पूजा शर्माले फिल्म ‘दान्भी’ सोही दिन रिलिज गराएर नायक अनमोल केसीको फिल्म ‘फर्की फर्की’लाई कमजोर बनाउन रणनीति बनाएको देखिन्छ । केही समयअघि एक यूट्युब मिडियासँग अन्तर्वार्ता दिने क्रममा पूजाले आफ्नो जीवनबाट अनमोल केसीको च्याप्टर क्लोज भएको बताएकी थिइन् । यसो भन्नुको पछाडि पूजा शर्माको होम प्रोडक्सनबाट निर्माण हुने भनिएको फिल्म रावायणको विवादलाई लिन मिल्छ । यस हिसाबले पनि जेठ १० गते अनमोलसँग प्रतिस्पर्धा गर्छु भन्दै पूजा अग्रसर भएको देखिन्छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र नायक प्रदीप खड्काबिच निकै खटपट देखिन्छ । गत वर्ष फिल्म प्रकाशलाई शोज बाडफाँटमा सहयोग नगरेको र ‘प्रेमगीत ३’लाई असफल बनाउन केसीले पदको दुरुपयोग गर्दै लागि परेको आरोप प्रदीपले लगाएका थिए । त्यस समयमा प्रदीपले केसी विकास बोर्डको अध्यक्ष पदका लागि लायकसमेत नभएको कठोर टिप्पणी गरेका थिए । उनीहरूको सम्बन्धमा शीतयुद्ध आएपछि यसको प्रभाव नायक अनमोल केसी र प्रदीप खड्काबीचको सम्बन्धमा समेत परेको स्पष्ट हुन्छ ।

यतिमात्र होइन, प्रदीपले फिल्म ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड नदिएपछि विकास बोर्डप्रति देखाएको आक्रोश पनि फिल्मीकर्मी र दर्शकमाझ ताजै छ । अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि उत्पन्न भएको परिस्थितिमा प्रदीपले अनावश्यक रुपमा खेल खेल्न खोजेको आरोप छ । अनमोलमाथि तिखोरुपमा प्रस्तुत हुँदै सामाजिक संजालमा स्टाटस कोरेका प्रदीप अन्ततः आलोचित भए र स्टाटस हटाउन बाध्य भए । यही कारण पनि अनमोलमाथि घुमाउरो तवरले फिल्म जुधाउन र स्टारडम देखाउन लागि परेका हुनकी भन्ने धेरैले शङ्का गरिरहेका छन् ।

यता ‘पुजार सार्की’का निर्देशक दिनेश राउत आफ्नो फिल्म प्रकाशले उत्कृष्ट अवार्ड नपाउँदाको तुस फिल्म जुधाउन पनि लागि परेको देखिन्छ । पछिल्लो लडाइँलाई राउतले आफ्नो फिल्मी समूहको हैसियत परीक्षण गर्न खोजेको पनि देखिन्छ ।

एउटा फिल्म बनाउन टिमले नै मेहनत गरेको हुन्छ । फिल्मलाई फाइदा पुग्नकै लागि सबै मिलेर काम गर्न सकिन्छ । कृपया, कसैले पनि समग्र फिल्मलाई एक अर्कासँगको इगोको कारण नबनाऔं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट