आवासीय भवनमा आक्रमण हुँदा १५ जना मृत्यु-Sutra News

आवासीय भवनमा आक्रमण हुँदा १५ जना मृत्यु

सोमबार, ३१ बैशाख २०८१

सोमबार, ३१ बैशाख २०८१

काठमाडौं । रुसको दक्षिण पश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवन आंशिक रूपमा क्षतिग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।



समाचार एजेन्सी तासले रूसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै आइतबार भएको ‘युक्रेनी आक्रमण’पछि भवन ढलेको हो ।

यसअघि बेलगोरोड र यसका उपनगरमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्‍याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए । उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो ।

यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटना स्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडिओमा ठूलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उनले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि दशौँ तलादेखि भुँइ तलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट