‘बलिदान’ का लागि कलाकार खोज्दै सन्तोष सेन-Sutra News

‘बलिदान’ का लागि कलाकार खोज्दै सन्तोष सेन

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ। निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मका लागि केही अन्य मुख्य पात्रका लागि इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसन आह्वान गरेका छन् ।



सेनले फिल्मका लागि प्रमुख महिला कलाकार र एक पुरुष कलाकारको आवश्यकता परेको भन्दै २१ देखि ३२ बर्ष उमेरकी महिला र २८ देखि ५५ बर्ष उमेरका पुरुषको अडिसन आह्वान गरेका छन् । अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरसाइकल हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरूष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ। पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ।

प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए।  आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ।

अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना [email protected] मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ।

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस फिल्ममा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्। सबै स्टार कलाकारहरूको अभिनय रहने यस फिल्मलाई लिएर ठुलो अपेक्षा गरिएको छ।

यसै वर्ष रिलिज हुने यस फिल्मलाई सन्तोषको मेगा प्रोजेक्टको रूपमा हेरिएको छ । जसकालागि हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो। यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन्। फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट