‘महाजात्रा’को पहिलो दिनमै बम्पर ओपनिङ, एक करोड २३ लाख ग्रस कलेक्सन-Sutra News

‘महाजात्रा’को पहिलो दिनमै बम्पर ओपनिङ, एक करोड २३ लाख ग्रस कलेक्सन

शनिबार, १० चैत्र २०८०

शनिबार, १० चैत्र २०८०

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ ।



शुक्रबारबाट देशभर रिलिज भएको प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गर्दै पहिलो दिन १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो ।

देशभरका हलमा उच्च शोज पाएको सिनेमाले काठमाडौँभित्र र बाहिर नै राम्रो कमाई गरेको हो । फिल्म ‘महाजात्रा’ हेर्न पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मल पुगेकी थिइन् ।

हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन्। पूर्व रानी शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो गर्यो।’

निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौँ उपत्यका र बाहिर गरेर शुक्रबार फिल्मले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए । काठमाडौँ उपत्यकाभित्र मात्रै फिल्मले करिब ७० लाख कलेक्सन गरेको छ । बाँकी उपत्यका बाहिरको कलेक्सन हो ।

शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झालगायत पुगेका थिए ।

दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए । ‘हामी शनिवार पनि दर्शकसँग भेटिरहेका छौँ । प्रिमियर झैँ प्रतिक्रिया प्राप्त भइरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौँ’, अभिनेता आचार्यले भने ।

निर्देशक भट्टराईले पहिलो दिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ । हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो । आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ’, निर्देशक भट्टराईले भने ।

फिल्म युनिट शनिवार बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ । दर्शकको चाँप हलमा बढेपछि प्रदर्शकले शो सङ्ख्या बढाएका छन् । शनिवारका अधिकांश शो हाउसफुल भइसकेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले प्रदर्शक, वितरक, मिडियाले फिल्म प्रति गरेको विश्वास सफल भएको प्रतिक्रिया दिए ।

‘हामीले पाइरहेको माया र हामी माथि गर्नुभएको विश्वासलाई हामीले घट्न दिएनौँ । हलमा हामीले दर्शकको रूपमा परिवारलाई नै भेटेका छौँ’, निर्माता खत्रीले भने ।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट