क्रिश्चियन नमान्ने ‘देशद्रोही’ कि सुदन किराँती ?-Sutra News

क्रिश्चियन नमान्ने ‘देशद्रोही’ कि सुदन किराँती ?

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । नेपालको संविधानअनुसार मुलुक ‘धर्मनिरपेक्ष’ राष्ट्र हो । संविधानमै प्रष्टरूपमा राष्ट्र ‘बहुधार्मिक’ हो भन्ने उल्लेख छ । संविधानको भाग १ धारा ४ को (१) मा प्रष्ट भाषामा भनिएको छ, “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।”



जसअनुसार जुनसुकै व्यक्ति, जहाँसुकै भएपनि आफ्नो सम्प्रदायको पक्षमा उभिन पाउँछ, बोल्न पाउँछ । जुन व्यवस्थाअनुसार पर्यटनमन्त्री सुदन किराँतीले आफू ‘क्रिश्चियन हुँ, जिससको अनुयायी हुँ’ भन्न पाउँछन् ।

किराँतीले जिसस र क्रिश्चियन धर्मालम्बीको तारिफ गर्न पाउँछन् । उनले ‘क्रिश्चियन नै सबैभन्दा बढी प्रगतिशील’ भनेका छन्, त्यो उनको व्यैक्तिक अधिकार हो ।

उनले जिससलाई आफ्ना नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरे । जसप्रति पनि आपत्ति जनाउनुपर्ने कुनै कारण छैन । किनकी यो उनको अभिव्यक्ति स्वतन्त्रता हो । जुन संविधानको धारा १७ को उपधारा २ मा प्रष्टरूपमा उल्लेख छ ।

तर, किराँतीले बुधबार क्रिश्चियन महासंघको कार्यक्रमलाई सम्बोधनका क्रममा “क्रिश्चियन नमान्ने देशद्रोही हुन्, तिनलाई हतकडी लगाउँदै जेलमा हालिदिने हो” भन्ने अभिव्यक्ति दिए । हुनत् किराँतीका ‘अनुयायी’हरूले यसलाई ‘संविधानमा भएको व्यवस्थाको व्याख्या’ भनेका छन् ।

तर, संविधानको सबै भाग, धारा, उपधारा अनि अनुसूचीलाई केलाउँदा “क्रिश्चियन नमान्ने देशद्रोही हुन्” भन्ने कुरा कहिँबाट पनि पुष्टि हुँदैन । किनकी संविधानको मर्मले नागरिकलाई कुनै पनि धर्म नमान्न पनि छुट दिएको छ । संविधानले बलजफ्ती कुनै धर्म मान्नैपर्छ भनेको छैन । बरु, बलजफ्ती धर्म मान्न लगाउनुलाई अपराध मानेको छ ।

केही दशकदेखि नै नेपालमा धर्मान्तरणको खेल तिव्र गतिमा भइरहेको छ । विशेषगरी राज्यको पहुँचबाट पाखा पारिएका जाति, वर्ग र सम्प्रदायलाई लोभ्याएर धर्मान्तरण अभियान चलाइएको छ । जसमा राजनीतिदेखि समाजका अन्य अङ्गहरु सक्रिय छन् ।

स्वयम्ले किराँतीले भनेअनुसार नेपालमा क्रिश्चियन मान्नेको संख्या वर्षेनी बढ्दो छ । किराँतीले धर्मरूपान्तरणमा क्रिश्चियनहरू ‘विजयउन्मुख’ भएको बताएका छन् ।

“नेपालमा तीन करोड जनसंख्यामा आज लाखौं क्रिश्चियन भइसकेका छन्, संविधानको अधिकारलाई प्रयोग गर्दै उनीहरू क्रिश्चियन भएका हुन्” उनले भनेका छन्, “विजय त क्रमशः हुँदैछ, हामी चाहन्छौं भ्यागुताले छिछिम्रा खाएजस्तै विजय भएको भा, ख्याप्पै खाइहालिन्थ्यो, सर्पले भ्यागुता खाएजस्तै विजयी हुँदैछ, विस्तारै निल्दैछ ।”

किराँतीले भनेजस्तै नेपालमा क्रिश्चियन धर्मरूपान्तरणको खेलमा विजयी बन्दैछन् । तर, उनी स्वयम्ले हेक्का नराखेको कुरा, संविधानकै व्यवस्थामा धर्मान्तरण वा अर्को सम्प्रदायमाथि प्रहार गर्नु ‘अपराध’ हो ।

संविधानको धारा २६ को उपधारा ३ मा धर्म परिवर्तन गराउन नपाइने, अर्काको धर्ममा खलल पार्न नपाइने कुरा स्पष्टसँग उल्लेख छ । जहाँ भनिएको छ, “प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।”

किराँतीको अभिव्यक्तिलाई उनका अनुयायीले संविधानको व्याख्या गरेको बताए पनि उनका अभिव्यक्तिलाई हेर्दा, उनी संविधानबाहिर छन् । त्यतिमात्रै होइन, उनले धर्मरूपान्तरण गराउने खेलमा हिस्सा लिँदै ‘अपराध’ कर्म गरेका छन् ।

किराँती दण्ड तथा सजायँ गराउने अधिकारी होइनन्

किराँती हाल संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा छन् । किराँतीले भाषणको क्रममा क्रिश्चियन नमान्नेलाई जेलमा कोच्ने बताएका छन् । तर, नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार उनको कार्यक्षेत्रमा कसैलाई दण्डित गर्ने अधिकार भने दिइएको छैन ।

किराँती नेतृत्वको मन्त्रालयको कार्यक्षेत्रमा सबैका धर्म, संस्कृति, सम्पदाको संरक्षण गराउने, पुरातात्विक महत्वका सम्पदालाई जोगाउने, राष्ट्रिय संग्रहालयको व्यवस्थापन गर्ने, कला, पर्यटनलगायतसम्बन्धित क्षेत्रलाई हेर्ने भन्ने उल्लेख छ ।

उनको मन्त्रालयले उल्लेखित विषयमा कानुन, नियम तथा मापदण्ड बनाउन सके पनि दण्ड तथा सजायँ गराउन सक्दैन । जसको हेक्का उनले पटक्कै राखेका छैनन् । उनले आफूलाई न्यायालयको न्यायाधिशको रुपमा उभ्याएका छन् र क्रिश्चियनविरोधीलाई जेल कोच्ने बताएका छन् ।

आलोचना स्वीकार भएन

किराँतीको अभिव्यक्ति समग्रमा अराजक छ । उनको अभिव्यक्तिले साम्प्रदायिक विद्वेष फैलाउने चिन्ता बढाएको देखिन्छ । उनको अभिव्यक्तिपछि कतिपय धार्मिक अतिवादीले आन्दोलनको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोखिएका अभिव्यक्तिलाई हेर्दा, उनले क्रिश्चियन इतर समुदायको आस्थामाथि पूर्ण खलल पुर्‍याएका छन् ।

तर, चौतर्फी आलोचनाका बीच उनले आफ्नो अभिव्यक्ति सच्याउन खोजेनन् । बरु, किराँतीले आलोचकलाई ‘अतिवादलाई परास्त गरौं’ भन्ने अर्ति दिए ।

एक सञ्चार माध्यमसँगको कुराकानीमा उनले विरोधीहरू “नाङ्गै, अर्धनाङ्गै उत्रिएको” भनेर असभ्य र रुखो भाषामा गाली गरेका छन् । किराँतीको सबैभन्दा पछिल्लो अभिव्यक्तिलाई केलाउँदा, जे बोल्नुपर्ने थियो त्यो बोलेँ, जे बालेँ ठिक बोलेँ भन्ने देखिन्छ । जुन मुलुकका निम्ति दुर्भाग्यको विषय हो ।

सम्बन्धित समाचार

पर्यटनमन्त्रीको विवादास्पद अभिव्यक्ति : क्रिश्चियन नमान्ने देशद्रोही हुन्

अराजक अभिव्यक्तिले विवादमा तानिए किराँती, तत्काल बर्खास्ती गर्न माग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट