किन ‘ओली पथ’मा लागे रवि ?-Sutra News

किन ‘ओली पथ’मा लागे रवि ?

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

सञ्चारकर्मीका रूपमा रहँदाको प्रसिद्धि र ख्यातिको प्रयोग गर्दै पार्टी स्थापनाको साढे चार महिनामा नै सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र हाराहारी लोकप्रिय मत हासिल गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा चौथो ठूलो शक्तिकाे रूपमा विराजमान छ । नागरिकता विवादले सांसद पद गुमाउनु अगाडिसम्म केही दिन उपप्रधानसहित गृहमन्त्रीको पदसमेत सम्हालेका रवि यतिबेला प्रतिपक्षी मोर्चामा छन् ।



लोकतान्त्रिक पद्धति संस्थागत हुँदै गरेको हाम्रोजस्तो मुलुकमा चौथो ठूलो राजनीतिक दल पनि एउटा जिम्मेवार शक्तिको रूपमा उपस्थित हुने परिकल्पना गरिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै जस्तो हावादारी दाबी र भविष्यवाणी गर्न व्यस्त देखिन्छन् । सामाजिक सञ्जाल र मुलधारको राजनीतिबाट वितृष्णा नागरिकको मतबाट उदाएका लामिछाने अहिले पनि सामाजिक सञ्जालकै उपयोग गरेर आफ्नो राजनीति स्पेस बनाउने ध्याउन्नमा छन् ।

गत वैशाख १० गते भएको उप-निर्वाचनको क्रममा मतदातासामु गरेका प्रतिबद्धता पूरा गर्न भन्दै उनले सुरु गरेको ब्लु बस र नि:शुल्क एम्बुलेन्स सेवा पनि यतिबेला फगत एउटा स्टन्टमा मात्रै सिमित भएको छ ।

चितवनमा उनको स्टन्ट चलेकै थियो, ‘मिसन ८४’को नाममा प्रवास यात्रामा निस्किएका रविले मलेसिया, कतार हुँदै बेलायत पुग्दा भने आफ्ना सबै पुराना स्टन्टलाई पनि माथ दिँदै अघिल्लो आइतबार बेलायत पुग्दा बेलायतमै सडक उद्घाटन गर्ने भन्दै भ्रमको खेती समेत गर्न भ्याए । १० डिसेम्बरमा स्विडन शहरको ग्रीनविचस्थित अन्नपूर्ण प्राइभेट वे को उद्घाटन गर्ने घोषणा सगर्व राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक पेज मार्फत नै दाबी गरिएको थियो ।

तर, रवि बेलायतमा रहँदासम्म न त उक्त सडक उद्घाटन भयो न त यो सम्बन्धि थप जानकारी रास्वपाले नै दिन आवश्यक ठान्यो । जे पनि बोलेर ‘मुकुन्दे’ र ‘मंगले’ शैलीको अर्को फण्डा मात्रै रहेको कुरा सार्वजनिक हुनलाई धेरै समय नै लागेन ।

लामिछानेले शनिबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको कार्यक्रममा त रविले सबै हद पार गर्दै ठूला राजनीतिक दलका सबै नेतालाई एकमुष्ट गाली गर्दै कसैसँग पनि सहकार्य नगर्ने उद्घोष गरे । अब आफूले गफमा विश्वास नगर्ने भन्दै पछिल्ला दिनमा मात्रै सार्वजनिक हुने गरेका भ्रष्टाचार र वेथितिका विरुद्ध सडकमा निस्कन लाग्ने हो भने कुनै दिन पनि सडक खाली नहुने भन्दै प्रत्येक प्रकरणलाई लिएर प्रश्न उठाएर नभ्याइने भन्दै आफ्नो निरिहता समेत प्रस्तुत गरे ।

वैकल्पिक राजनीतिको वकालत गर्दै सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रविले मिसन ८४ ले सबै समस्याको समाधान हुने दाबी गर्दै गर्दा उनको मिसन ८४ लाई अरु दलले चोरेको भन्दै तीखो टिप्पणी गर्दै अब ‘मिसन ८०’ पनि सार्वजनिक गर्ने उद्घोष गर्न भ्याए । मुलधारका दलहरू भ्रष्ट भएको ठहर गर्दै ती दलभित्र रहेका इमानदारहरूले विद्रोह गर्नुपर्ने आवाज चर्को स्वरले उठाउँदै गर्दा केही दिन अगाडि मात्रै महोत्तरीको जलेश्वरमा सम्पन्न आफ्नै पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आफ्नै तजविजीमा मनोमानी तरिकाले पार्टी विधानको धज्जी उडाउँदै जम्बो पदाधिकारी थप्ने निर्णय र त्यसमा पार्टीका जिम्मेवार नेताहरूले गरेको मौन विद्रोहलाई ध्यान दिन आवश्यक नै ठानेनन् ।

आफूले गरेका प्रत्येक निर्णय मात्रै सही, आफू र आफ्नो भजन मण्डली बाहेक सबै गलत भन्ने भाष्यकै कारण आफ्नै दलको सुविधाजनक बहुमतलाई समेत लत्याएर दुई–दुई पटक संसद विघटन जस्तो गैरसंवैधानिक र अप्रजातान्त्रिक काम गरेका ओलीको दम्भले अहिले एमालेको हैसियत कहाँ छ अनि, समृद्धिका लागि संकल्प यात्रा लिएर मध्यपहाडको यात्रा टुंग्याएका ओलीले कस्तो निष्कर्ष निकाल्दै छन् भन्ने कुरा हेर्नलाई धेरै टाढा पनि नजानुपर्ने नै हो । अपार जनसमर्थन, सामाजिक सञ्जालको सहयोगले चौथो ठूलो दलका रूपमा उदय भएका रविको ओलीपथको यात्राले उनको आगामी भविष्य कस्तो होला उनैले जान्ने कुरा हो । तर, निर्वाचनको समयमा घोषणापत्र बोकेर भिजेको बिरालो कै शैलीमा जनताको घरघरमा मत माग्न पुगेका रविले पनि मुलधारका दलले जस्तै घोषणापत्र घरको दराजमै थन्काएर हावादारी स्टन्टमै रमाउन थाले भने रविको मिसन ८४ पनि घरघरमा ग्याँसको पाइपलाइन जोड्ने एउटा परिकल्पना बाहेक यथार्थ नहोला भन्नलाई कुनै आइतबार कुर्न पर्दैन ।

यदि लोकप्रियताकै आडमा जे पनि स्टन्ट गर्दा भिड जम्मा भै हाल्छ भन्ने भ्रममा नै रवि हुन भने हिजो आफैं उपस्थित कार्यक्रमको भिड हेरे आफ्नो लोकप्रियता प्रष्ट भै हाल्छ । शक्ति प्रदर्शनको होडमा उत्रिने हो भने क्यामेराले धान्न नसक्ने भिड जम्मा गर्ने डिङ हाकेका रवि सहभागी नैकापको कार्यक्रममा उपस्थितको संख्या भने दयनीय नै थियो । यस्तोमा सबैलाई चर्को स्वरले गाली गरेकै भरमा लोकप्रिय बनेर चुनाव जित्न सकिन्छ भन्ने भ्रममै हो भने त लामिछाने नै किन चाहियो त्यसका लागि त ओली र दुर्गा प्रसाईंहरू नै काफी छैनन् र ?

भिडियाेमा हेर्न

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट