राहुलको ‘असफल यात्रा’को नक्कल गर्दै ओली, देला त प्रतिफल ?-Sutra News

राहुलको ‘असफल यात्रा’को नक्कल गर्दै ओली, देला त प्रतिफल ?

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । गत हप्ता मात्रै भारतका चार राज्यहरूमा विधानसभाको निर्वाचन सकिएको छ । सार्वजनिक नतिजाअनुसार तीन प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को बहुमत छ । भाजपासँग प्रतिस्पर्धामा रहेको दल कांग्रेसले एक प्रदेशमा मात्रै जित हात पारेको छ ।



विधानसभामा देखिएको नतिजासँगै प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बाटोमा रहेको विश्लेषण भइरहेका छन् । यसअघि उनी पूरा दुई कार्यकाल अर्थात् १० वर्ष प्रधानमन्त्री बनिसकेका छन् ।

देशमा निर्वाचन नजिकिएसँगै यसै वर्षको सुरुवातमा कांग्रेस नेता राहुल गान्धीले ‘भारत जोडो’ यात्रा सुरु गरेका थिए । उनले १३६ दिन पैदल हिँडे । यस क्रममा गान्धीले तीन हजार ५७० किलोमिटर यात्रा गरे । यात्राका क्रममा गान्धीको खुबै चर्चा भयो । निर्वाचनमा कांग्रेसले भाजपालाई पराजित गर्ने दाबी पनि गरियो । तर, विधानसभा निर्वाचनमा गान्धीको यात्राले कुनै प्रभाव पार्न सकेन ।

यता, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको जम्बो टोली एक सातादेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा छ । यात्रामा अध्यक्षसहित एमालेका वरिष्ठ नेताहरू सहभागी छन् ।

अध्यक्ष ओलीको यात्रा भारतीय कांग्रेस नेता राहुल गान्धीको जस्तो पैदल छैन । उनी विवादित मेडिकल व्यवसायी तथा कुनै समय आफैले नेता बनाएका दुर्गा प्रसाईंले किनेको ६ करोड मूल्य पर्ने गाडीमा सवार छन् । व्यवसायी प्रसाईंले साथ छाडे पनि अ‍ोलीलाई उसैले किनेको गाडीले साथ दिइरहेको छ ।

यात्राको क्रममा उनले विभिन्न जिल्लामा सभा पनि गरेका छन् । जसमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाएका छन् ।

यात्राको क्रममा उनले भेँडाको ऊनबाट बनेको स्वीटर, गलैँचाहरूलाई ब्राण्डिङ गरेर एडिडास र नाइकलाई चुनौती दिनेसम्म भन्न भ्याए । यसका लागि उनले बीबीए र एमबीएका विद्यार्थीलाई भेँडाको ऊनबाट बनेको सामानको अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्न सुझाव दिए ।

‘जाडो बढेसँगै लेकबाट भेँडी गोठहरू बेँसी झर्ने क्रम मध्य पहाडी लोकमार्ग यात्रामा धेरै ठाउँमा देखियो, मैले उहाँहरुका कुरा सुनेँ, उहाँहरू ऊनबाट स्वेटर, गलैँचा बुनेर बेच्नु हुँदो रैछ, मैले उहाँहरूबाट एउटा स्वेटर किनेँ, धेरै न्यानो थियो”, ओलीले भनेका छन्, “यसो सोचेँ– यी भेडाको ऊनका गलैँचा, स्वेटरहरुलाई ब्राण्डिङ गरेर (एडिडास, नाइक) जस्तै अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने आइडिया हाम्रा बीबीए एमबीएका विद्यार्थीहरूले ल्याउन सके कस्तो राम्रो हुन्थ्यो होला ।”

यात्राकै क्रममा ओलीले सार्वजनिक गरेको एउटा पत्र भाइरल बन्यो । एक नौ वर्षीय बालक किशोर पौडेलले देशमै बस्ने वातावरण बनाइदिन आग्रह गर्दै ओलीलाई पत्र लेखेका थिए ।

पत्रमा भनिएको छ, ‘सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू, म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु ।”

बालकले दिएको पत्रमा अध्यक्ष ओलीले बन्दै गरेका चिल्ला सडकहरूले सपना पूरा गर्न सहयोग गर्ने बताउँदै जवाफ दिएका थिए । “सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्, यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जानेछ”, उनले जवाफको रुपमा भनेका छन् ।

अध्यक्ष ओलीले यात्रामा मन्दिरहरूमा दर्शन गर्न छुटाएका छैनन् । उनी प्रायः मन्दिरहरूमा पुगेका छन् । पुजा पाठसँगै गेरु वस्त्र लगाएका छन् । लाग्छ उनी तीर्थयात्रामा निस्केका हुन् ।

ओलीको यात्रामा छुटेकाहरू

एक हजार ८७९ किलो मिटरको मध्यपहाडी लोकमार्गको यात्रामा हिँडेका अध्यक्ष ओलीको साथबाट अनेक विषयहरू छुटे । उनीसँग यात्राको अभियान थालेका नेता कार्यकर्ताहरू छुटे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साथ दिन आएका जनताहरू छुटे । तर, ओलीको यात्रा जारी छ ।

यस यात्रामा छुटेका महत्वपूर्ण तथा प्रभावशाली नेता हुन्– पूर्वउपाध्यक्ष एवम् नेता डा. भीम रावल । नेता रावललाई ओलीले निम्तोसम्म दिन आवश्यक ठानेनन् । यसको मूल कारण हो, आफ्लो गल्तीविरुद्ध आवाज उठाउनु ।

यात्रामा आफूलाई वेवास्ता गरेको भन्दै नेता रावलले सामाजिक सञ्जालमार्फत गुनासो पोखे । उनले आफूलाई अपमानपूर्ण ढंगबाट व्यवहार गरिएको टिप्पणी गरे । पार्टीभित्र निरन्तर हेपाइमा पर्दै आएका रावल गृहजिल्लामा हुने कार्यक्रममै छुटे ।

यसैगरी, एनसेल खरिद बिक्रीको घोटलामाथि बोल्न छुटे । सानो कुरामा चित्त नबुझ्दा संसद अवरोध गर्ने एमालेबाट यति ठूलो घोटालाबारे बोल्ने आवाज छुटेको छ ।

यसैगरी, जाडोका कारण जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको पक्षमा बोल्ने प्रतिपक्षी दलको आवाज छुटेको छ । लाग्छ, एमालेबाट आउने ती नेताहरूको आवाज ओलीको यात्रामा रमाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट