आजियाटाको कदमले बाह्य लगानीकर्तालाई कति प्रभाव ?-Sutra News

आजियाटाको कदमले बाह्य लगानीकर्तालाई कति प्रभाव ?

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । मलेसियन टेलिकम कम्पनी जायन्ट आजियाटा एनसेलबाट बाहिरिएपछि अन्य बाह्य लगानीकर्तालाई कस्तो प्रभाव पर्ला भन्ने चिन्ता नेपालमा बढेको छ । आजियाटाले लगानी फिर्तासँगै नेपालको सन्दर्भमा दिएको अभिव्यक्तिले चिन्ता बढाएको हो ।



आजियाटाका सिइओ विवेक सुदले गत नोभेम्बर २९ मा एक विज्ञप्ति जारी गर्दै आजियाटा बाहिरिनुको कारण खोलेका थिए । उनले विज्ञप्तिमा ‘नेपालबाट बाहिरिनु आजिटाकाका लगानीकर्ताको लागि दुरगामी हितमा अत्यावश्यक रहेको’ कुरा उल्लेख गरेका छन् । सुदले नेपालको अर्थराजनीति लगानीमैत्री नभएको आरोप लगाएका छन् ।

अर्थविद्को रूपमा परिचित तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णीम वाग्ले सुदको उक्त विज्ञप्तिले नेपालको छवि अन्तराष्ट्रिय स्तरमै बिग्रिन पुगेको बताउँछन् । उनका अनुसार अन्तराष्ट्रिय लगानीकर्ता भित्र्याउने सन्दर्भमा आजियाटाको व्यवहारले प्रभाव पार्नसक्छ ।

“जसरी आजियाटाका सिइओले एनसेलबाट बाहिरिनुपर्ने कारण उल्लेख गर्दै विज्ञप्ति जारी गरे, त्यसले अन्तराष्ट्रियरूपमै नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने देखिन्छ, नेपालबाट बाहिरिनुपर्ने सन्दर्भमा उनले उल्लेख गरेको कारण गम्भीर छ”, डा. वाग्लेले भनेका छन् ।

वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डित पनि एनसेल खरिद–बिक्री प्रकरणले नेपालमा विदेशी लगानीमा प्रभाव पर्ने बताउँछन् । आजियटा ग्रुपले आफ्नो शेयरमात्रै नबेचेर ‘नेपालमा लगानीको वातावरण छैन’ भनेर जाँदा अन्तराष्ट्रिय स्तरमै निकै नकारात्मक सन्देश गएको उनले बताए ।

“आजियाटाले केवल शेयर मात्रै बेचेर गएको छैन, नेपालमा लगानी गर्ने वातावरण राम्रो छैन, विदेशी लगानीकर्तालाई सुरक्षा छैन, यहाँको कर कानुन घाँटी रेट्ने खालको छ भनेर जस्तो आरोप लगाएको छ, यो धेरै गम्भीर कुरा हो”, वरिष्ठ अधिवक्ता प्रा।डा। गान्धी भन्छन्, “यसले अन्तराष्ट्रियरूपमै नेपालको छवि बिगारेको छ ।”

नेपालमा अन्य लगानी भित्र्याउने सन्दर्भमा एनसेलको घटना बाधक बन्नसक्ने प्रा.डा. गान्धीको भनाई छ ।

प्रभावित हुनसक्छ लगानी सम्मेलन

सरकारले आगामी २०८१ को वैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ । वैदेशिक लगानी भित्र्याउने योजनासहित गर्न लागिएको सम्मेलनको मुखमै ठूलो बाह्य लगानीकर्तामध्येको एक आजियाटा बाहिरिएको छ । यो घटनाले लगानी सम्मेलन प्रभावित हुनसक्ने चिन्ता विज्ञहरुको राखेका छन् ।

रास्वपा सांसद वाग्ले आजियाटा बाहिरिने घटनाले सरकारले गर्ने भनेको लगानी सम्मेलनकै औचित्य र विश्वसनीयतामाथि पनि प्रश्न उठेको बताउँछन् । “लगानीकर्ता आउ भनेर तामझामका साथ कार्यक्रम गर्ने, अनि नेपालमा भित्रिएको सबैभन्दा ठूलो लगानीकर्ता धारे हात लगाउँदै बाहिरिनुले एकदमै गम्भीर प्रश्न उठाएको छ”, उनले भनेका छन्, “यसले कतै सम्मेलन भद्रगोल हुने त होइन, प्रश्न उब्जिन्छ ।”

आजियाटाको कदमले नेपालमा लगानी गर्ने सन्दर्भमा मनोवैज्ञानिकरूपमा ठूलो असर गर्ने वाग्लेको भनाई छ ।

तर, छलकपटपूर्णं रूपमा गरिएको छ शेयर खरिद–बिक्री

एनसेलको शेयर खरिद–बिक्री भने निकै छलकपटपूर्ण देखिन्छ । सन् २०१६ मा स्वीडेनको टेलिया सोनेरासँग एनसेल कम्पनीको नाममा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रूपैयाँमा किनेको आजियाटाले हाल देखाउँदा जम्मा पाँच करोड डलर अर्थात् छ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको छ ।

आजियाटाले निरन्तर नाफामै रहेको कम्पनीको शेयर मूल्य ९६ प्रतिशतभन्दा बढी घटाएर बिक्री गरेको देखाएको छ । जसलाई सामान्यरूपमै हेर्दा बिक्रीमा लाभकर छल्न खोजेको देखिन्छ ।

एकातिर शेयर खरिद–बिक्री गर्दै गर्दा नियामक निकायलाई वेवास्ता गरिएको छ भने अर्कोतिर शेयरको मूल्य अस्वभाविकरूपमा घटाइएको छ । जुन घटनाप्रति चौतर्फीरूपमै प्रश्न उठेका छन् र आलोचना भएका छन् । सरकारले उक्त घटनामाथि छानबिन प्रारम्भ गरेको छ भने एनसेलले पनि विश्वसनीय जवाफ दिन सकेको छैन ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

एनसेल शेयर खरिद–बिक्री प्रकरण : तीन बैंकको ४० अर्ब जोखिममा !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट