आजियाटा प्रवेशकाे झण्डै आठ वर्ष : चार खर्ब आम्दानी, ६६ अर्ब गयो मलेसिया-Sutra News

आजियाटा प्रवेशकाे झण्डै आठ वर्ष : चार खर्ब आम्दानी, ६६ अर्ब गयो मलेसिया

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । मलेसियामा मुख्यालय रहेको टेलिकम कम्पनी जायन्ट आजियाटा सन् २०१६ को मध्यतिर अर्थात् २०७२ चैत्रमा एनसेलमा प्रवेश गरेको थियो । सेन्टस् किटस् एन्ड नेभिसमा दर्ता रहेको रेनोल्डस् होल्डिङ्स लिमिटेड कम्पनीलाई खरिद गर्दै आजियाटा एनसेलमा भित्रिएको थियो । एनसेलमा रेनोल्ड होल्डिङ्स कम्पनीको ८० प्रतिशत शेयर छ । तत्कालिन समय आजियाटाले एनसेलको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब रुपैयाँमा किनेको थियो ।



तर। साढे सात वर्षअघि झण्डै डेढ खर्बमा किनेको कम्पनीलाई हालै आजियाटाले जम्मा पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रुपैयाँमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको छ । विवादित व्यवसायी सतिशलाल आचार्यको नाममा दुई महिनाअघि दर्ता गरिएको कम्पनीलाई अस्वभाविक मूल्यमा बिक्री गरेपछि अहिले कम्पनीको शेयर खरिद–बिक्री प्रकरण विवादमा तानिएको छ ।

आजियाटाले आधिकारिकरुपमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार निरन्तरको नाफामा आएको गिरावटपछि कम्पनी बिक्री गरिएको थियो । तर, कम्पनीले नेपालका नियमनकारी निकायलाई बुझाइएको विवरणअनुसार एनसेलको आम्दानी खास ठूलो अन्तर तथा घटबढ देखिन्न । आजियाटाले पनि योबीचमा अर्बाैंको दरले नाफा लगिरहेको थियो । यहाँ आजियाटा प्रवेशपछि एनसेल कम्पनीले कमाएको नाफा र आजियाटाले लगेको लाभांशबारे चर्चा गरिएको छ ।

कुन वर्षमा कति आम्दानी ?

आजियाटा भित्रिएपछिको आठ आर्थिक वर्षमा एनसेलले करिब चार खर्ब आम्दानी गरेको छ । सुरुवात वर्षहरुमा बढेको आम्दानी पछिल्ला वर्षहरुमा भने केही घटेको देखिन्छ । तथापि, दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकलाई हेर्दा औसतमा प्रत्येक आर्थिक वर्षमा एनसेलले ५० अर्ब हाराहारी आम्दानी गरिरहेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ५७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको एनसेलले आर्थिक वर्ष ०७३/०७४ मा ५६ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, आर्थिक वर्ष ०७४/०७५ मा ५९ अर्ब ६९ करोड कमाएको एनसेलले आर्थिक वर्ष २०७५/०७६ मा ५५ अर्ब २८ करोड रुपैयाँ कमाएको थियो ।

आव २०७६/०७७ मा ४६ अर्ब ७६ करोड रुपैयाँ कमाएको एनसेलले आव ०७७/०७८ मा ४० अर्ब २२ करोड रुपैयाँ कमाएको थियो ।

यस्तै, आव ०७८/०७९ मा ३९ अर्ब ५० करोड रुपैयाँ कमाएको एनसेलले आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड रुपैयाँ कमाएको देखिन्छ ।

कुन वर्षमा कति लग्यो लाभांश ?

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो आठ आर्थिक वर्षको बीचमा आजियाटाले एनसेलबाट ६६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ लाभांश लगेको छ । आर्थिक वर्ष २०७२/०७३ र २०७६/७७ मा आजियाटाले लाभांश नलगेपनि अन्य आर्थिक वर्षमा लाभांश लगेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लगेको थियो भने आर्थिक वर्ष २०७४/७५ मा २३ अर्ब ५० करोड ५२ लाख ८० हजार रुपैयाँ लाभांश लगेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा आजियाटाले १२ अर्ब ५४ करोड रुपैयाँ लाभांश लगेको थियो । तर, आर्थिक वर्ष २०७६/७७ भने आजियाटाले लाभांश लगेको देखिन्न । उक्त वर्ष एनसेलले ४६ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा आजियाटाले १३ अर्ब ९७ करोड १८ लाख ४० हजार, आव २०७८/७९ मा ४ अर्ब ७७ करोड ७२ लाख १९ हजार र आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ६५ करोड ४२ लाख ६हजार रुपैयाँ लाभांश फिर्ता लगेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

आम्दानीको विवरण नै शंकास्पद

सार्वजनिक विवरणअनुसार पछिल्लो आर्थिक वर्षहरुका एनसेलको आम्दानी क्रमशः घट्दो छ । तर, अर्थविज्ञहरु उक्त विवरणहरु नै शंकास्पद रहेको बताउँछन् । पूर्व गर्भनर तथा अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री एनसेलले गलत विवरण पेश गरिरहेको भन्दै विवरणमाथि नै छानबिन हुनुपर्ने बताए ।

“एनसेलको नाफा अस्वभाविक घटेको देखाइएको छ, कोभिडकै बेलामा पनि नाफा घटेको देखियो, जुन बेलामा बढ्नुपर्ने हो त्यहि बेलामा घट्नु अस्वभाविक छ”, सुत्रसँगको कुराकानीमा क्षेत्रीले भनेका छन्, “नियामकले एनसेलको सबै आर्थिक विवरणलाई हेर्नुपर्छ, कुनै विदेशी कम्पनीले लगानी गरेकै आधारमा लुट्न पाउनुपर्छ भन्ने हुन्न ।”

कर छल्नको निम्ति विभिन्न क्षेत्रमा खर्च बढी देखाउने र गलत विवरण बनाउने खेलहरु विभिन्न कम्पनीहरुमा हुँदै आएको उनले बताए । कानुनमा विभिन्न लोपहोलहरु सिर्जना गरिँदा पनि समस्याहरु आएको उनले बताए ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

एनसेल शेयर खरिद–बिक्री प्रकरण : तीन बैंकको ४० अर्ब जोखिममा !

एनसेल प्रकरण : सार्वजनिक लेखा समितिले थाल्दै छानबिन

एनसेल प्रकरण : जालसाझीपूर्ण भएको सत्ता गठबन्धनको ठहर, छानबिन गर्ने सहमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट