कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?-Sutra News

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । मलेसियन जायन्ट आजियाटा कम्पनीले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै एनसेलबाट बाहिरिएको घटनाले नेपालमा नयाँ तरंग सिर्जना भएको छ । आजियाटाको कदमलाई लिएर नेपालमा थुप्रै प्रश्नहरु उठेका छन् । शुक्रबार सार्वजनिक भएको विज्ञप्तिअनुसार मलेसियन कम्पनी जायन्ट आजियाटाले बेलायतमा दर्ता भएको ‘प्रोक्सी’ कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई एनसेलमा भएको आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर बिक्री गरेको थियो ।



एकातिर नेपालको कानुनलाई छल्दै शेयर खरिद–बिक्री गरिएको थियो भने अर्कोतिर लाभकर नबुझाउनकै निम्ति ९६ प्रतिशतभन्दा बढी भ्यालुएसन घटाइएको थियो । अनौठो ढंगले शेयर खरिद–बिक्री भएको घटनाबारे नियमनकारी निकाय दुर सञ्चार प्राधिकरणले भने दुई दिनपछि मात्रै सार्वजनिक मिडियामार्फत जानकारी पाएको थियो ।

प्राधिकरणले शेयर खरिद–बिक्रीबारे जानकारी लिन पत्र लेखेको केही घण्टापछि खरिद–बिक्री गरिएको जानकारीसहितको विज्ञप्ति एनसेलमार्फत सार्वजनिक गरिएको थियो ।

कानुनलाई छल्दै, नियमनकारी निकायलाई समेत वेवास्ता गर्दै गरिएको एनसेलको शेयर खरिद–बिक्री घटनापछि सरकारी तर्फबाट के हुन्छ ? प्रश्न उब्जिएको छ । बुधबार खरिद–बिक्री भएको र शुक्रबार जानकारी सार्वजनिक गरिएको सन्दर्भमा नेपाल दुरसञ्चार प्राधिकरणले कुनै आधिकारिक भनाई भने सार्वजनिक गरेको छैन ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद–बिक्रीबारे आधिकारिक जानकारी माग गरिएको बताएका छन् । प्राधिकरणले पनि सार्वजनिक सञ्चार माध्यमबाट जानकारी पाएको उनले बताए । दुरसञ्चार ऐनअनुसार शेयर खरिद–बिक्री गर्नुपूर्व नै प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भएको उनले जनाए ।

“एनसेलको शेयर खरिद–बिक्री भएको सन्दर्भमा प्राधिकरणले पनि सञ्चार माध्यममार्फत जानकारी पाएको हो, जुन सन्दर्भमा हामीले आधिकारिक जानकारी माग गरेका छौं”, सुत्र न्यूजसँगको कुराकानीमा खनालले भनेका छन्, “विद्यमान दुरसञ्चार ऐनअनुसार दुरसञ्चार कम्पनीहरुको शेयर खरिद–बिक्री गर्दा प्राधिकरणलाई पूर्वजानकारी तथा प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्छ, त्यो बाध्यकारी व्यवस्थालाई कार्यान्वयन गर्नु हाम्रो दायित्व हो ।”

आइतबारभित्र माग गरिएअनुसारको जानकारी नआए कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणको तयारी छ । प्राधिकरणले सार्वजनिक सञ्चार माध्यममार्फत आएको शेयर खरिद–बिक्रीको घटनालाई निकै गम्भीररुपमा लिएको अध्यक्ष खनालले बताए ।

“सञ्चारमाध्यममार्फत सार्वजनिक भएका विषयलाई प्राधिकरणले सामान्यरुपमा लिएको छैन, हाम्रो कानुनले प्राधिकरणसहित थुप्रै निकायसँग समन्वय नगरी यस्तो काम हुने कल्पना गरेको छैन”, उनले भनेका छन् ।

अस्वभाविक भ्यालुएसन, अस्वभाविक कम्पनी

मलेसियन कम्पनी आजियाटाले सन् २०१६ मा स्वीडेनको टेलिया सोनेरासँग एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको थियो । तर, सात वर्षपछि आजियाटाले निकै नगन्य मूल्य पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको छ ।

आजियाटाले निकै अपत्यारिलो मूल्यमा शेयर बिक्री गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेड हो । जुन विवादित व्यवसायी सतिशलाल आचार्यको हो । अनौठो सन्दर्भ, सिंगापुर स्थायी ठेगाना देखाउने नेपाली मूलका आचार्यले दुई महिनाअघि मात्रै दुई डलरमा उक्त कम्पनी खडा गरेका थिए ।

सँगै अर्को रोचक सन्दर्भ, एनसेलको स्वदेशीतर्फको २० प्रतिशत शेयर पनि उनै आचार्यको श्रीमति भावना सिंह श्रेष्ठको स्वामित्वमा रहेको सुनिभेरा क्यापिटल लिमिटेडको नाममा छ ।

दुरसञ्चार ऐनको दफा २५ को उपदफा १ अनुसार लाइसेन्स अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुनेछ । एनसेलको लाइसेन्स २०२९ स्वतः खारेज हुनेछ । विद्यमान दूरसञ्चार ऐन कायम रहेमा सन् २०२९ मा एनसेल सरकारी स्वामित्वमा आउनेछ ।

तर, ऐनको दफा ३३ को उपदफा ४ मा विदेशी लगानीकर्ताको शेयर ५० प्रतिशतभन्दा कम भएमा लाइसेन्स नवीकरण गर्न सक्ने र सरकारी स्वामित्वमा जान नपर्ने उल्लेख छ । जुन प्रावधानलाई टेक्दै आचार्य घरानाले शेयर आफ्नो स्वामित्वमा ल्याएको देखिन्छ ।

जुन घटनाले कानुनको घेराबाहिर ठूलो आर्थिक लेनदेन भएको सम्भावना दर्शाउँछ । तथापी, यो घटना, आजियाटा वा आचार्यको कम्पनी स्पेक्ट्रलाइट मिलेर मात्रै नभएको धेरैको आशंका छ ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट