एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर-Sutra News

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले एनसेलको नाममा रहेको सबै शेयर बिक्री गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको जनाएको हो । एनसेलमा आजियाटाको ८० प्रतिशत शेयर थियो ।



सन् २०१६ मा स्वीडेनको टेलिया सोनेरासँग आजियाटाले एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा किनेको थियो । तर, सार्वजनिक विज्ञप्तिअनुसार आजियाटाले निकै नगन्य मूल्य पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको छ ।

जसअनुसार आजियाटाले एक अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर घाटा व्यहोरेको छ । निकै अपत्यारिलो शेयर मूल्यमा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेड व्यवसायी सतिशलाल आचार्यको हो ।

आचार्य सिंगापुर स्थायी ठेगाना देखाउने नेपाली मूलका व्यवसायी हुन् । एनसेलको स्वदेशीतर्फको २० प्रतिशत शेयर पनि उनकै श्रीमति भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल लिमिटेडको नाममा छ ।

आजियाटाको नाममा रहेको सम्पूर्ण शेयर खरिदसँगै एनसेलको सबै स्वामित्व आचार्य परिवारभित्रै आएको छ ।

शेयर खरिद गर्नकै लागि कम्पनी

आजियाटाको नाममा रहेको सम्पूर्ण शेयर खरिद गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेड नै दुई महिना अघि दर्ता भएको पाइएको छ । बेलायती वेबसाइड इन्डोलअनुसार उक्त कम्पनी गत सेप्टेम्बर २६ मा दर्ता भएको थियो ।

जुन तथ्यअनुसार उक्त कम्पनी नै एनसेलको शेयर खरिद गर्नकै निम्ति खडा गरिएको देखिन्छ । आचार्यकै नाममा स्वदेशमा हिस्सा हुनु र दुई महिनाअघि मात्रै बेलायतमा कम्पनी खडा गर्नुले काम योजनाअनुरुप नै गराएको स्पष्ट पार्छ ।

प्राधिकरणबाट अनुमति नै नलिई खरिद–बिक्री

अपत्यारिलो मूल्यमा शेयर बिक्री गरेको आजियाटाले सरकारी नियामक निकायसँग कुनै स्वीकृति नलिइएको तथ्य सार्वजनिक भएको छ । नियामक नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार आजियाटाले प्राधिकरणसँग कुनै अनुमति लिएको छैन ।\

नियामकसँग अनुमति वा पूर्वस्वीकृति लिनुपर्ने प्रावधानलाई छलेर गैरकानुनी रुपमा खरिद–बिक्री भएको उनले बताए ।

“एनसेल खरिद–बिक्रीको विषयमा प्राधिकरणबाट कुनै पनि अनुमति वा पूर्वस्वीकृति लिइएको छैन”, खनालले भनेका छन्, “नियामकलाई नै छलेर खरिद–बिक्री विद्यमान कानुनअनुसार गैरकानूनी हो ।”

सात वर्ष अगाडि सन् २०१६ मा पनि एनसेलको शेयर यसैगरी नियम छलेर खरिद–बिक्री गरिएको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारी निकायलाई छल्दै आफ्नो हिस्साको शेयर आजियाटालाई बेचेको थियो ।

तत्कालिन समय पुँजीगत लाभकर नै नतिरेर टेलिया भागेपछि आजियाटामार्फत उक्त रकम उठाउन सरकारी निकायलाई सकस परेको थियो ।

ठगीकै नियतबाटै काराेबार

एकातिर शेयर खरिद–बिक्री गर्दै गर्दा कम्पनीको शेयर मूल्य ९६.३४ प्रशितशतले घटाएर ३.६६ प्रतिशत हाराहारी कायम गरिएको छ भने अर्कोतिर नियामकलाई कुनैपनि जानकारी गराइएको छैन । जुन ढंगले मूल्य घटाइयो र खरिद–बिक्री गरियो यसमा कैफियत देखिएको विज्ञहरु बताउँछन् ।

दुरसञ्चार प्राधिकरणका एक विज्ञ शेयरको मूल्य कायम नै स्पष्टरुपमै कर छलि गर्ने योजनाअनुरुप देखिएको बताउँछन् । “वास्तविक मूल्यमा खरिद–बिक्री गर्दा पुँजीगत लाभकर बुझाउनुपर्ने अवस्था रहन्छ, घाटामा बिक्री गर्दा पुँजीगत लाभकर बुझाउनु पर्दैन, सरकारलाई लाभकर नदिनकै निम्ति ९६ प्रतिशतको हाराहारीमा शेयर मूल्य घटाइएको देखिन्छ, यसमा ठगीको योजना झलन्छ”, उनले भनेका छन् ।

अर्कोतर्फ एनसेलले २५ वर्षका लागि मात्रै लाइसेन्स पाएको थियो । जसको समयावधि सन् २०२९ सम्ममा सकिँदैछ र, अन्तिमपटक २०२४ मा लाइसेन्सको नविकरण हुनेछ ।

विद्यमान दुरसञ्चार ऐन कायम रहेको अवस्थामा सन् २०२९ मा एनसेल सरकारी स्वामित्वमा आउनेछ ।

तर, पछिल्लो चलखेल सरकारको स्वामित्वमा लैजान नदिने कोणबाट पनि भएको देखिन्छ । विद्यमान दुरसञ्चार ऐन दफा ३ को उपदफा ४ मा विदेशी लगानीकर्ता ५० प्रतिशतभन्दा कम भएमा लाइसेन्स नवीकरण गर्न सक्ने र सरकारी स्वामित्वमा जानु पर्दैन ।

स्पेक्ट्रलाइट युके लिमिटेडको नाममा हुँदै स्वदेशी कम्पनीलाई शेयर हस्तान्तरण गर्दै कम्पनी हडप्ने दाउ पनि पछिल्लो कदममा रहेको ती विज्ञको आशंका छ । जसलाई एनसेल खरिद–बिक्रीको घटनाले स्पष्ट पार्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट