‘मिसन-८४’काे रन्को: रवि र बालेन नै प्रतिद्वन्दी हुनसक्ने संकेत !-Sutra News

‘मिसन-८४’काे रन्को: रवि र बालेन नै प्रतिद्वन्दी हुनसक्ने संकेत !

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडाैं । मुलुकमा प्रत्येक पाँच वर्षमा एक पटक हुने आम निर्वाचन सम्पन्न भएको एक वर्ष मात्रै पूरा भयो । आ-आफ्ना घोषणापत्र लिएर चुनावी अभियानमा होमिएका दलले आफ्नो गच्छेअनुसारका सीट पनि हासिल गरे । नयाँ जनमतसहित आएका संसदीय शक्तिहरूकै हातमा राज्यसंयन्त्रको नेतृत्व पनि छ । तर, सबै दल ‘मिसन २०८४’ को रटानमा छन् । अनि त्यही मेसोमा आइपुगेका छन् काठमाडौं महानगरपालिकाका लोकप्रिय मेयर बालेन शाह पनि ।



अघिल्लो आम निर्वाचनबाट उत्साहजनक मतसहित संसदको चौथो ठूलो शक्तिमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले मिसन २०८४ को नारा अरु दलले चोरेको आरोप लगाएका छन् । उनले मध्यावधि चुनावमा जानपर्ने परिस्थिति निर्माण हुँदै गएको विश्लेषण गर्दै पार्टी पंक्तिलाई स्ट्याण्डबाई रहन पनि निर्देशन दिएका छन् ।

लामिछानेले मध्यावधिकाे सम्भावनालाई देखाउँदै पार्टी पंक्तिलाई तयार रहन निर्देशन दिएकाे सन्दर्भमा काठमाडाैंका मेयर बालेन शाहले तरंग नै सिर्जना गर्नेगरी अभिव्यक्ति दिएका छन् । उनले ‘रास्वपाकाे समाप्तिपछि मात्रै देश बन्ने’ बताएका छन् ।

‘देश बन्छ, तिमीहरूको ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर देश बन्छ, तिमीहरूलाई सक्काएर बन्छ’ लामिछानेलाई नै संकेत गर्दै बालेनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

लामिछानेलाई उछिताे काढ्दै बालेनले अभिव्यक्ति दिएपछि यतिबेला सामाजिक सञ्जाल यसको पक्ष विपक्षमा पाेखिएकाे छ ।

२०८९ सालको स्थानीय तहको निर्वाचनमा फराकिलो अन्तरले जित निकालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला देशकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ हुन् भन्नलाई कसैले कञ्जुस्याई गर्न पर्दैन । काठमाडौं महानगरको प्रमुख निर्वाचित भएपछि आजसम्म उनले गरेका कामहरूको प्रशंसाको सूची निकै लामो छ भने संघीय सरकार र अहिलेको व्यवस्था मात्रै होइन व्यवस्था परिवर्तन गरेर पुनः राजसंस्था पुनर्स्थापना गर्नुपर्छ भन्नेहरूलाई पनि उनले गतिलै जवाफ दिन भ्याउँछ्न् ।

भलै बालेनका पनि केही कमजोरी भने नभएका होइनन्, तर सत्ता र शक्तिको चंगुलमा परेका मुलधारका दलहरूभन्दा उनको व्यक्तित्व आलोचकहरूको नैतिक स्तरभन्दा निकै भिन्न छ । वैकल्पिक शक्तिको रूपमा संसदीय राजनीतिमा स्थापित रास्वपा सभापति लामिछानेले पनि पटक-पटक बालेनसँग एउटै मञ्चमा काम गर्न मन लागेको बताउने गरेका छन् । तर, त्यसको जवाफ बालेन शाहले अहिलेसम्म प्रष्ट दिएका भने छैनन् ।

बालेनले आफ्नो अलग्गै दल गठन गरेर देशको प्रधानमन्त्री भएको हेर्न चाहने उनका प्रशंसक प्रसस्तै नभएका पनि होइनन् । तर, अहिलेसम्म बालेनले कुनै दल खोल्ने तयारी गरेको वा उनले थप राजनीति स्टेप आउट गर्न लागेको विषय कहिलेकाहीँ सामाजिक सञ्जाल मै हल्लाखल्ला हुनु बाहेक थप विषय बाहिर आएको छैन । यस्तोमा बुधबार साँझको बालेन शाहको स्टाटसले बालेन पनि बेग्लै राजनीतिक अभियानमा सरिक हुन लागेको संकेत मिलेको विश्लेषकहरू बताउँछन् ।

२०८४ मा स्थानीय तहको निर्वाचनपछि मात्रै संघीय र प्रादेशिक संसदको निर्वाचन हुने तथा अहिले सबै दल मिसन ८४ मै केन्द्रित भएको अवस्थामा नयाँ राजनैतिक मिसनमा लाग्नुभन्दा मेयर भएर गर्नुपर्ने आफ्नो दायित्वमा केन्द्रित हुँदै परिस्थिति हेरेर मात्रै नयाँ निर्णय गर्ने मूडमा बालेन शाह रहेको उनी निकटहरू बताउँछन् । बालेनले पनि पटक-पटक आफू काठमाडौं महानगरको मेयर भएको र अहिले आफ्नो लागि त्यो नै महत्त्वपूर्ण दायित्व रहेको बताउँदै आएका छन् । यसले पनि उनले तत्कालै आफू वा आफू निकटको नेतृत्वमा कुनै दल खोल्ने वा कुनै पार्टीमा प्रवेश गर्ने सम्भावना निकै रहेको बुझ्न कठिन छैन ।

तर, बुधबारको उनको स्टेन्टमेन्टले भने वैकल्पिक शक्तिको वकालत गर्नेहरूलाई नयाँ उर्जा प्रदान गरेको कुरालाई पनि नकार्न सकिन्न । अहिले मुलधारमा रहेका दलहरूको कार्यशैलीबाट असन्तुष्ट रहेका जनताहरू दुर्गा प्रसाईं जस्ता विवादित व्यक्तिको पछाडि त उभिन तयार छन् भने काठमाडौं महानगरको कुशल नेतृत्व गरेका बालेनले नयाँ राजनीतिक कदम चाले भने उनको पछाडि उभिने नागरिकको संख्यामा कुनै कमी नहुने कुरा त स्वभाविक नै हुन जान्छ ।

आफ्नो घोषणापत्र लिएर चुनाव जितेको केही महिना नबित्दै मिसन ग्रासरुट अभियानमा होमिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रारम्भिक रिजल्ट त गएको वैशाखमा तनहुँ, चितवन र बाराका एक/एक वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनले नै संकेत गरिसकेको छ । गठबन्धनको जोडतोडमा निर्वाचनमा जित निकालेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जस्ता दलहरूको कार्यशैली जस्ता कारणले आगामी आम निर्वाचनको नतिजा कस्तो होला त्यो आम चासोकै विषय छ ।

अहिलेसम्म विचारविहिन राजनैतिक क्लबको आरोप लाग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो राजनैतिक दस्तावेज पारित गर्दै आफ्नो कित्ता स्पष्ट गरेको छ ।

यस्तोमा २०८४ मा हुने आम निर्वाचनमा दुई तिहाइ मत ल्याएर अहिलेकै प्रणालीबाट देश परिवर्तन गर्ने मिसनमा रहेका रवि लामिछाने र ८४ मा सबैको ८४ गरेर देश बनाउने कसम खाएका बालेन शाहको भिडन्त भयो भने आश्चर्य नमान्दा पनि हुन्छ ।

किनकी अहिले मुलधारमा रहेका दलहरू ८४ मा हुने आम निर्वाचनमा जित निकाल्ने लक्ष्यसहित मिसन ८४ को अभियानमा होमिएका त छन् तर, ८१,८२,८३ मा आफ्नो मिसन के हो र आफ्नो दायित्व के हो भन्ने कुराबाट अनविज्ञ देखिन्छन् । यस्तोमा २०८४ नेपाली राजनीतिको लागि नयाँ कोषेढुंगा सावित हुने सम्भावनालाई नकार्न सकिन्न । यस्तोमा यसको पहिलो हकदार भने रवि लामिछाने र बालेन शाह नै हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट