देउवा अभिव्यक्तिले राजनीतिमा नयाँ तरंग-Sutra News

देउवा अभिव्यक्तिले राजनीतिमा नयाँ तरंग

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्ने नेतामा गनिन्छन् । सत्तामा हुँदा वा सत्ता बाहिर बस्दा प्रायः विषयमा उनले धारणा राख्दैनन् । नबोलेरै विपक्षीलाई पराजित गर्ने देउवाको स्वभाव अनौठो छ ।



पछिल्लो समय देशमा राजनीतिक व्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सडकमा झरे । व्यवस्था नै उल्ट्याउने भन्दै उनले केही हजार मानिसलाई मंसिर ७ मा सकडमा ओराले । उनी नेतृत्वको समूहले केही दिन काठमाडौंका सडक ततायो पनि । तर, अहिले उनको आन्दोलन निकै मथ्थर भइसकेको छ ।

प्रसाइँले केन्द्रीय राजधानी काठमाडौं केन्द्रीत प्रदर्शनको सुरु गर्दैगर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै उपस्थित गराएर झापामा शक्ति प्रदर्शन गराए । उक्त शक्ति प्रदर्शन निकै नै ऐतिहासिक रहेको राजावादीहरुको ठम्माइ छ ।

देशमा यी र यस्ता राजावादीहरुले शक्ति देखाइरहँदा विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने प्रतिवादमै उत्रियो । एमालेले आफ्नो भातृ संगठन युवा संघलाई दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध सडकमै उतार्‍यो ।

एमाले सडकमै उत्रिँदा सत्तारुढ र अन्य संसदवादी दलहरुले भने मौनता देखाए । माओवादी केन्द्रले सामान्यरुपमा विरोध गर्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने करिब मौन देखियो ।

यी घटनाहरुका बीच पार्टी सभापति शेरबहादुर देउवाले कुनै पनि प्रतिक्रिया दिएनन् । आन्दोलनहरु कम भएपछि भने उनले “देशमा गणतन्त्रको विकल्प नभएको” सम्म बताउन सके ।

गत सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले राजसंस्थापक्षधरको सक्रियताबारे मुख खोलेका थिए । “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन”, उनको प्रतिक्रिया छ ।

तथापी, मंगलबार नवलपुर पुगेका देउवाले व्यवस्थासँगै जोडिएको अर्को गम्भीर विषयमा बोलेका छन् । कांग्रेसको नवलपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा “सरसल्लाह गर्न सकिने” बताएका छन् ।

“जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन, संघीयता र गणतन्त्रविरुद्धका कुनै पनि गतिविधि स्वीकार्य हुँदैन”, उनले भनेका छन्, “धर्मको विषयमा भने मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ ।”

देउवाको अभिव्यक्तिपछि राजसंस्थाको पक्षमा देखिएको पंक्ति हौसिएको छ । देउवाको अभिव्यक्तिपछि राजसंस्थापक्षधरले माहोल तयार हुन थालेको बताउन थालेका छन् ।

देउवाको अभिव्यक्तिपछि राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रले भित्रभित्रै हिन्दु राष्ट्र घोषणा गर्ने विषयमा सहमत भइसकेको भन्दै राजसंस्थाको पक्षमा माहोल पूर्ण तयार भएको प्रतिक्रिया दिए ।

“खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्”, देउवाको प्रतिक्रियामाथि टिप्पणी गर्दै मिश्रले भनेका छन्, “कांग्रेसबाट प्रस्ताव आउनेछ, माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ। आफूलाई ‘नामी अग्रगामी’ भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन् ।”

व्यवस्था परिवर्तन पक्षधरकै शैली व्यवस्थाविरोधी

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई व्यवस्था परिवर्तनकै पक्षमा देखिएका दलहरुको शैलीले व्यवस्था विरोधी शक्तिलाई बल पुर्‍याएको बताउँछन् । तथापि, कांग्रेस सभापति देउवाको भनाइले तत्कालको सन्दर्भमा धेरै महत्व नराख्ने उनको भनाइ छ ।

“दलहरुकै अकर्मण्यताले अहिले प्रश्न उठेको हो, जसमा समाधान दिनु दायित्व दलहरुकै हो”, भट्टराईले भनेका छन्, “जहासम्म देउवाको अभिव्यक्तिको सन्दर्भ छ, जसले उनको अभिव्यक्तिले तत्काल केही अर्थ राख्दैन, एकातिर उनको अभिव्यक्ति नै दुविधायुक्त छ भने अर्कोतिर कांग्रेसभित्र र संसदको शक्ति सन्तुलनमा व्यवस्था परिवर्तन गराउने स्थितिमा छैन ।”

कांग्रेसभित्रकै माहोल व्यवस्था उल्टाउने पक्षमा नरहेको उनको भनाई छ । “देउवा बृद्ध भइसके, आगामी महाधिवेशनबाट उनी बाहिरिने अवस्था पनि सिर्जना भइसकेको छ, यस्तोमा अन्य उदाएका शक्ति व्यवस्था उल्टाउने पक्षमा देखिन्नन्”, भट्टराईको तर्क छ ।

समग्र राजनीतिमा बामपन्थीकै दबदबा रहिरहेको कारण व्यवस्था उल्टाउने सम्भावना नरहेको उनको भनाई छ । तथापी, व्यवस्था विरोधी शक्तिहरु केही बलशाली बन्दै भने गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट