के हालको गठबन्धन तोड्दै कांग्रेस एमालेसँग सहकार्य गर्न सक्छ ?-Sutra News

के हालको गठबन्धन तोड्दै कांग्रेस एमालेसँग सहकार्य गर्न सक्छ ?

शनिबार, ११ कार्तिक २०८०

शनिबार, ११ कार्तिक २०८०

काठमाडौं । नेकपा (एमाले) जसरी पनि हालको सत्ता गठबन्धनलाई तोड्ने पक्षमा छ । गठबन्धन बनेदेखि नै एमालेले घोषितरुपमै गठबन्धनलाई तोड्नुपर्ने बताउँदै आएको छ । कोशी घटनासँगै एमालेलाई आफ्नो अभियानमा केही उत्साह मिलेको पनि देखिन्छ ।



एमालेका नेताहरुले ‘३२ सिटे’को पछाडि लागेको भन्दै कांग्रेसलाई व्यंग्य पनि गरिरहेका छन् । एमालेका नेताहरुले कांग्रेस र एमालेबीच सहकार्य गरेर जानुपर्ने बताइरहेका छन् । स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिकरुपमै कांग्रेस–एमाले मिलेर देशलाई निकास दिनुपर्ने कुुरा बताएका छन् ।

कोशी घटनापछि कांग्रेसको शेखर कोइराला पक्ष पनि खुलेरै माओवादी केन्द्रसँगको गठबन्धन जसरी पनि तोड्नुपर्ने पक्षमा उभिएको छ । नेता कोइरालाले हालको नेतृत्व स्वीकार्य नभएको पनि खुलारुपमै बताइरहेका छन् । उनले हालको नेतृत्वले देशलाई थप समस्यामा धकेल्ने भनाई राखेका छन् ।

कोशीपछि कोइराला पक्षले अन्य प्रदेशमा पनि माओवादीसँगको गठबन्धनलाई तोड्ने प्रयास थालेको देखिन्छ । केन्द्रमा पनि कांग्रेसको नेतृत्वमा एमालेसँग सहकार्य गर्दै सरकार बनाउनुपर्ने पक्षमा कोइराला पक्ष उभिएको छ ।

तर, सतहमा थुप्रै घटनाहरु देखिएपनि कांग्रेसको संस्थापन पक्षको निर्णय नै मुख्य हुने गर्दछ । के कांग्रेसको संस्थापन पक्ष हालको गठबन्धन तोड्ने पक्षमा छ त ? यस प्रश्नको जवाफ खोज्दा, कांग्रेसको संस्थापन पक्ष अहिलेको गठबन्धनलाई तोड्ने पक्षमा देखिएको छैन । संस्थापन पक्षले हालको गठबन्धनलाई थप आफूँ अनुकुल बनाउन खोजिरहेको देखिए पनि माओवादी केन्द्रलगायतसँग सहकार्य तोड्दै एमालेसँग गठबन्धन गर्ने पक्षमा देखिन्न ।

संस्थापन पक्षीय नेता बिमलेन्द्र निधि पाँचै वर्ष गठबन्धन जाने कुरा निश्चित रहेको बताउँछन् । उनका अनुसार पूर्वसहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुने भएपनि गठबन्धन परिवर्तन हुने अवस्था छैन ।

हालै एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ, यसमा कुनै द्विविधा नराखे हुन्छ, पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ, तर गठबन्धन परिवर्तन हुँदैन ।”

कांग्रेसभित्रको अंकगणितका कारण पनि कोइराला पक्षले चाहँदैमा समीकरण फेरिँदैन । कांग्रेसको संसदीय दलमा कोइरालाको पक्षमा एक तिहाई पनि सांसद देखिँदैनन्, जसको कारण निर्णायक भूमिका बलियो हुने देखिन्न ।

यसअघिको संसदीय दलको प्रतिस्पर्धामा गगन थापाको पक्षमा जम्मा २५ सांसद खुलेका थिए । जुन कोइराला र गगन थापाको समेत मत हो । पछिल्लो घटनाक्रमसँगै थापा र कोइराला नै दुई कित्तामा छन् । यस्तो परिस्थितिमा कोइरालाको पक्षमा थप मत घट्ने निश्चित छ ।

कोइराला पक्षीय नेता जीवन परियार कांग्रेसको एउटै निर्णय हुने बताउँछन् । कोशीको घटनाले अन्य प्रदेश र केन्द्रमा कुनै असर नगर्ने उनको भनाई छ ।

“कोशीको सन्दर्भमा मध्यावधि होइन, हामीले यसको विकल्प खोज्नुपर्छ भनेर शेखर कोइरालाले त्यो पहल कदमी लिनुभएको हो, पछिल्लो दिनमा प्रचण्ड, शेरबहादुर देउवासमेतले त्यसलाई समर्थन गर्नु भएको छ”, उनले भनेका छन्, “तर, अन्य प्रदेशमा र संघमा अहिले कुनै विकल्प खोजिएको छैन, त्यो परिस्थिति होइन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट