विभाजित बन्यो मोर्चा, उपेन्द्र र माधव अलग्गिने तयारीमा-Sutra News

विभाजित बन्यो मोर्चा, उपेन्द्र र माधव अलग्गिने तयारीमा

मंगलबार, ३० असोज २०८०

मंगलबार, ३० असोज २०८०

काठमाडौं । गत असार ४ मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा मोर्चा घोषणा गर्दै गर्दा दलहरूले मोर्चालाई पार्टीको रूपमा रूपान्तरण गर्ने पनि उद्घोष गरेका थिए ।



मोर्चा घोषणाको चार महिनामा दलहरूले मोर्चाको प्रदेश र जिल्ला तहमा सन्देशसभा गरेका छन् । अहिले पनि केही जिल्लामा दलहरूको सन्देशसभा चलिरहेको छ । सन्देशसभामार्फत दलहरूले मोर्चाको तहगत कमिटी पनि घोषणा गरिरहेका छन् ।

सन्देशसभालाई बाहिरबाट हेर्दा दलहरू एकताबद्ध हुँदै गएको पनि देखिन्छ । दलहरू घोषित नीतिअनुसार पार्टी एकताको नीतिमा उन्मुख देखिन्छन् । तर, आवरणमा दलहरू मिलेपनि आन्तरिकरूपमा दलहरूबीच निकै दुरी बढ्दै गएको छ । दलहरूबीचको असमझदारी पछिल्लो समय सन्देशसभामा समेत पोखिन थालेको छ ।

मूलतः दलहरूबीच वैचारिक र कार्यनीतिक पक्षमा तादाम्यता छैन । सन्देशसभाभित्रै पनि एकले अर्कोलाई गाली गर्ने, उछितो काढ्ने गरेको देखिन्छ । कतिपय सन्दर्भमा मोर्चा घटक विप्लव नेकपाले सत्ताधारी तीन दलको उछितो काढ्ने गरेको देखिन्छ भने सत्ताधारी दलहरूले पनि एकले अर्कालाई गाली गरेको देखिन्छ ।

सन्देशसभाहरूमा माओवादी घटकले माओवादीहरू बीच एकताको कुरा गरिरहेका छन् भने जसपा र एकीकृत समाजवादी भने मौन देखिन्छन् । मोर्चामा माओवादी केन्द्र र विप्लव नेकपाको बचश्र्व भएको कारण पनि जसपा र एकीकृत समाजवादीलाई अस्तित्व जोगाउने सकस परेको छ ।

विप्लवका अभिव्यक्तिले असहज

२०७७ फागुन २१ मा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो । शान्तिपूर्ण राजनीतिमा फर्किएको साढे दुई वर्षको बीचमा नेकपाको व्यवहार सामान्य रहेपनि अभिव्यक्ति भने निकै अराजक र आक्रामक खालका देखिन्छन् ।

समाजवादी मोर्चाका सन्देशसभालाई पनि विप्लव नेकपाले आक्रामक अभिव्यक्ति दिने थलोका रूपमा प्रयोग गरिरहेको देखिन्छ । विप्लव स्वयम्ले माओवादीहरूबीच एकता हुनुपर्ने, कम्युनिष्टहरू एकता हुनुपर्नेजस्ता अभिव्यक्ति दिइरहन्छन् । कतिपय कार्यक्रमका विप्लवले ‘माओवादीहरू फेरि हतियार उठाउन तयार रहेको’ भन्ने अभिव्यक्तिसमेत दिएका छन् ।

सोमबार धनगढीमा आयोजित मोर्चाको सन्देशसभामा विप्लवले अहिलेको अवस्थाको जिम्मा माओवादीले मात्रै लिनसक्ने बताएका थिए । उनले आवश्यक परेमा माओवादीले फेरि हतियार उठाउन सक्ने पनि संकेत गरेका थिए ।

विप्लवका अभिव्यक्ति माओवादी केन्द्रका निम्ति राहत भएपनि एकीकृत समाजवादी र जसपाका निम्ति भने निकै अपाच्य खालका छन् ।

मोर्चाको भविष्यमाथि प्रश्न

धनगढीमा सन्देशसभा भएको भोलिपल्ट (मंगलबार) जसपाका अध्यक्ष उपेन्द्र यादवले लामो फेसबुक स्टाटस लेखे । फेसबुक स्टाटसमा उनले आफ्नो पार्टीलाई गैरकम्युनिष्ट मात्रै भनेका छैनन्, मोर्चा आबद्ध दलहरुबीच पार्टी एकताको सम्भावनालाई पनि नकारेका छन् ।

“जसपा सैद्धान्तिकरूपले कम्युनिष्ट होइन र हुन पनि सक्दैन, यसमा कसैलाई भ्रम नरहोस्”, यादवले भनेका छन्, “समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरूबीचको मोर्चा समाजवादी मोर्चा हो, वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन सक्दैन, यो सहकार्य र मोर्चा मात्रै हुनेछ ।”

मोर्चा घटक दलहरूले सन्देश सभामा दिएको अभिव्यक्तिपछि यादवले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । यादवको अभिव्यक्तिलाई हेर्दा, उनी मोर्चाभित्र निकै सकसमा परेको मात्रै देखिन्न, त्यहाँबाट बाहिरिन खोजेको पनि देखिन्छ ।

जसपा मात्रै नभई एकीकृत समाजवादीभित्र पनि यस्तै उकुसमुकुस देखिन्छ । एकीकृत समाजवादीका नेताहरुले पनि सार्वजनिकरूपमै मोर्चामाथि प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका छन् ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एक सार्वजनिक कार्यक्रममार्फत मोर्चामा पनि ‘ओली शैली’ घुसेको भन्दै विरोध जनाएका छन् । उनले हालको शैली कायमै रहे मोर्चामा रहनुको अर्थ नरहेको अभिव्यक्ति दिएका छन् ।

“समाजवादी मोर्चाभित्र पनि ओलीको ‘ओरेन्टेसन’ देखिन्छ, यदि त्यही शैली पछ्याउने हो भने भाषण गर्न किन मोर्चा चाहियो ?”, एकीकृत समाजवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चलाई सम्बोधन गर्दै उनले भनेका छन् ।

जसपा र एकीकृत समाजवादीले मोर्चाको अर्थ र भविष्यमाथि प्रश्न उठाउन थालेका छन् । नेताहरूका अभिव्यक्तिलाई हेर्दा, मोर्चा विभाजित अवस्थामा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट