एमाले रणनीति : सके गठबन्धन फुटाउने, नसके उपधारा ५ अनुसार सरकार बनाउने-Sutra News

एमाले रणनीति : सके गठबन्धन फुटाउने, नसके उपधारा ५ अनुसार सरकार बनाउने

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । सर्वोच्च अदालतको परमादेशका आधारमा सत्ताको नेतृत्व पाएपनि कोशीमा सत्ता टिकाइरहन एमालेलाई सकस छ । परमादेशपछि भदौ २२ मा मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले असोज २० गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्छ । तर, राजनीतिक समीकरण कार्कीले मत पाइहाल्ने खालको छैन ।



यस्तोमा एमालेले कांग्रेस–माओवादी गठबन्धनलाई फुटाएर समीकरण आफ्नो अनुकुल बनाउने रणनीति अघि बढाएको छ । जसको लागि एमालेले गठबन्धनका दुई दल कांग्रेस र एकीकृत समाजवादीसँग अनौपचारिकरुपमा सत्ता सहकार्यको प्रस्ताव राखेको छ । एमालेले कांग्रेस र एसलाई मनाउन आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्तावसमेत बुझिएको छ ।

कोशीमा कांग्रेस र एकीकृत समाजवादीलाई फकाउन एमालेका नेताहरु कस्सिएरै लागेका छन् । कांग्रेस र एकीकृत समाजवादीप्रति रुखो अभिव्यक्ति दिइरहने मुख्यमन्त्री कार्कीले पनि पछिल्लो समय निकै समंयता अपनाएका छन् । उनले सार्वजनिक रुपमै मिल्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

कोशीमा ४० सदस्य भएको एमाले र २७ सदस्य भएको कांग्रेस मिलेमा अन्य कुनैपनि दल जोडिन आवश्यक पर्दैन । एमालेले कांग्रेसलाई बराबरी हैसितयमै सहकार्यको प्रस्ताव राखेको छ । अनौपचारिकरुपमा सत्ता सहकार्यको प्रस्ताव राखेको भएपनि कांग्रेस सहमत भइसकेको छैन ।

तथापी, कांग्रेसभित्र संस्थापन इतर समूहका नेताहरु केन्द्रमै सत्ता गठबन्धनको विकल्प खोज्नुपर्नेमा देखिएका छन् । यस्तोमा प्रदेशमा नयाँ समीकरण बन्दैन भन्न सकिन्न । एमालेले जुन सम्भावनालाई केलाइरहेको देखिन्छ ।

एकीकृत समाजवादीलाई आफ्नो पक्षमा पार्ने दाउ

कोशी प्रदेशमा एकीकृत समाजवादीसँग चार सिट छ । चार सिट भएको एकीकृत समाजवादीलाई मनाउन सकेमा सहजै बहुमत जुट्न सक्छ । जसलाई एमालेले निकै महत्वका साथ अगाडि बढाएको छ ।

पूर्वमुख्यमन्त्री एवम् एमाले स्थायी समिति सदस्य शेरधन राईले गत भदौ ३१ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईसँग धरानमा विशेष छलफल गरेका थिए । धरानको छलफलमा निष्कर्ष ननिस्कएको भएपनि छलफल निकै सौहार्दपूर्ण रहेको नेताहरुले बताएका छन् ।

धरान छलफलबारे नेता राजेन्द्र राईले पनि निकै उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् । “उहाँ (शेरधन राई)ले हामी मिल्नुपर्छ भन्नुभयो, त्यसका लागि सरकारको नेतृत्वमा आलोपालो गरौं वा अरु सबै दललाई मिलाएर सरकार बनाऔं भन्ने कुरा गर्नुभयो”, छलफलबारे उनले भनेका छन्, “छलफल सकारात्मक छ तर, निष्कर्ष भने निस्किसकेको छैन ।”

एमालेले राप्रपा आफ्नै साथमा रहेको निष्कर्षसहित एकीकृत समाजवादीसँग छलफल बढाएको हो । यदि ४० सिट भएको एमाले, छ सिट भएको राप्रपा र चार सिट भएको एकीकृत समाजवादी मिलेमा सहजै बहुमत पुग्नेछ । कोशीमा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ, तीन दल मिल्दा ५० सिट पुग्छ ।

तथापी, शेरधन र राजेन्द्रबीचको भेटवार्ताले एकीकृत समाजवादीभित्र ठूलो विवाद सिर्जना गराएको छ । जुन भेटप्रति पार्टी अध्यक्ष माधव नेपालले सार्वजनिकरुपमै आपत्ति जनाएका छन् । कोशीमा एमालेसँग सहकार्य गर्ने अवस्था भएमा एकीकृत समाजवादी विभाजन हुनसक्ने देखिन्छ ।

उपधारा ५ को डिजाइनमा एमाले

सर्वोच्चको परमादेशका आधारमा कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जुन उपधारामा प्रदेशसभाको ठूलो दलले सरकार बनाउने व्यवस्था छ । तर, सरकार बनाएपनि ३० दिनभित्र विश्वासको मत भने प्रदेशसभाबाट लिनुपर्ने हुन्छ ।

यस्तोमा कार्कीले बहुमत जुटाउन कांग्रेस–माओवादी गठबन्धन फुटाउनुको विकल्प छैन । तर, अवस्था फुटाउन सहज भइहाल्ने खालको छैन । अर्कोतर्फ दलीय ह्वीप लाग्ने हुँदा मत तान्न सहज छैन ।

तर, यस्तोमा उपधारा ५ बमोजिम भने मत जुटाउन एमालेलाई सहज देखिन्छ । गठबन्धनभित्रकै दलहरुमा देखिएको विभाजनका कारण पनि एमालेलाई मत पुर्‍याउन सहज हुनसक्छ । किनकी उपधारा ५ मा दलीय ह्वीप लाग्दैन । कांग्रेस र एकीकृत समाजवादीको केही मत लिन सकेमा एमालेलाई बहुमत पुर्‍याउन सहज हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट