एमालेभित्र नयाँ हलचल : भण्डारी र पोखरेलबीचको भेटको अर्थ के ?-Sutra News

एमालेभित्र नयाँ हलचल : भण्डारी र पोखरेलबीचको भेटको अर्थ के ?

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौं । पार्टी महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयले एमालेभित्र हलचल उत्पन्न भएको छ । पार्टी महासचिव पोखरेलले चीन भ्रमणबाट फर्किएलगत्तै भण्डारीलाई उनकै निवासमा पुगेर भेटेका थिए ।



चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा महासचिव पोखरेल भदौ १७ मा चीन भ्रमणमा गएका थिए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उनी भ्रमण छोट्याएर भदौ २७ मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि पोखरेलले असोज २ मा भण्डारीलाई भेटेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिक फर्किने चर्चा चलिरहेको छ । कम्युनिष्टहरुबीच एकता गर्नका निम्ति पनि भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने आवाज एमालेको ठूलै समूहले उठाइरहेको छ । यही बेला अध्यक्ष ओलीका विश्वासपात्र मानिने पोखरेलको भेट निकै अर्थपूर्ण देखिन्छ ।

उनी स्वयम्ले पनि भेटको महत्व र सन्देश धेरै रहेको संकेत गरेका छन् । भण्डारीसँगको भेटपछि पोखरेल स्वयम्ले “चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँग भेटघाट” भनेर फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

ओलीको विकल्प खोज्न दबाब

नितान्तः ओलीको हठकै कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन भएको थियो । सर्वोच्च अदालतको आदेशपछि ब्यूँतिएको एमाले पनि ओलीको हठकै कारण पुनः विभाजित बन्यो । जसलाई विशेषगरी वामपन्थी एकतापक्षधरले रुचाइरहेका छैनन् ।

यस्तोमा आन्तरिक र बाह्यरुपमा बामपन्थी एकताका पक्षधरले ओलीको विकल्प खोज्नुपर्ने दबाब एमालेलाई दिइरहेका छन् । राजनीतिक विश्लेषकहरुका अनुसार चीनले पनि स्पष्टरुपमा नेपालमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताइरहेको छ । पोखरेललाई पनि बामपन्थी मिलाउने गरी सन्देश पठाएको हुनसक्ने विश्लेषकहरुको भनाई छ ।

आफ्नै कारण अध्यक्ष ओली पार्टीभित्र र बाहिर स्वीकार्य नेता बन्न सकिरहेका छैनन् । उनलाई पार्टीभित्र निरंकुश नेताको रुपमा चित्रण गरिन्छ भने अन्य दलले उनलाई विश्वास गर्दैनन् । दुईतिहाइको सरकार टिकाउन नसकेको, पटक–पटक संसद् विघटन गरेको, एमालेलाई फूटबाट जोगाउन नसकेको, आम चुनावपछिको केन्द्र र प्रदेशको सरकार टिकाउन नसकेको जस्ता आरोप उनीमाथि लागेका छन् ।

यस्तोमा एमालेको एउटा समूहले ओलीको सट्टा विद्यालाई अगाडि सार्दा एमालेलाई पुरानै अवस्थामा फर्काउने सकिने र कम्युनिष्टहरुबीच सहकार्यको वातावरण पनि बन्नसक्ने भन्दै पहलकदमी लिइरहेको छ । प्रदेश तहमा भइरहेका एमालेको अधिवेशनले पनि ओलीको विकल्प खोज्नुपर्ने स्पष्ट सन्देश दिइरहेको छ ।

एकताकाे माहाेल बनाउँदै चीन

पछिल्लो समय चीन नेपाली नेताहरुलाई बोलाउँदै सम्झाउँदै गर्न थालेको छ । चीनले कहिले एमाले त कहिले माओवादी अनि कहिले अन्य कम्युनिष्ट दलका नेतालाई आलो–पालो गरेर बोलाइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणमा एकपछि अर्को गर्दै नेपाली नेताहरु पनि चीन भ्रमणमा गइरहेका छन् ।

जेठ ५ गतेदेखि १८ गतेसम्म माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादीका २० जना नेता चीन भ्रमणमा गएका थिए । सापकोटा नेतृत्वमा गएको टोलीको फिर्तिपछि लगत्तै एमालेका नेताहरु चीन भ्रमणमा गए ।

जेठको २८ गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ जनाको टोली चीन भ्रमणमा गएको थियो ।

तिमिल्सिनाको टोली फर्किएपछि माओवादी केन्द्रका महासचिव देव गुरुङ साउन २५ मा चीन भ्रमणमा गए । गुरुङको भ्रमणपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको तालिका तय भएको हो ।

गुरुङको भ्रमणपछि पोखरेल एमाले महासचिव टोली भदौ १७ मा चीन भ्रमणमा पुगेको थियो ।

प्रधानमन्त्री प्रचण्ड अहिले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा छन् । उनी असोज ५ मा चीन जाने कार्यक्रम छ । चिनियाँ सरकारको निमन्त्रणमा उनी चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । जहाँ द्विपक्षीय विषयमा छलफल हुने बताइएको छ । जहाँ नेपालको राजनीतिबारे पनि छलफल हुने निश्चित छ ।

चिनियाँ नेताहरु नेपालका कम्युनिष्टहरुबीच एकता होस् भन्ने चाहान्छन् । तत्कालिन नेकपा विभाजनको सन्दर्भमा पनि उनीहरुले एकताको निम्ति निकै भूमिका खेलेका थिए । पछिल्लो समयमा चीनले खेलेको भूमिकालाई सामान्य अर्थमा मात्रै लिन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट