महेन्द्र रायलाई प्रचण्डको पत्र, नेसपा फुटाएर एकताको प्रयास-Sutra News

महेन्द्र रायलाई प्रचण्डको पत्र, नेसपा फुटाएर एकताको प्रयास

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौं । पार्टी एकताका लागि भन्दै माओवादी केन्द्रले पठाएको पत्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा हलचल मच्चिएको छ । पार्टीका मुख्य अध्यक्ष डा. बाबुराम भट्टराईलाई नपठाई अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाइएपछि हलचल मच्चिएको हो ।



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्तरुपमा भदौ ३० गते अध्यक्ष यादवलाई सम्बोधन गर्दै पत्र पठाएका थिए । दुई जना अध्यक्ष भएपनि नेसपामा वरियताका हिसाबले भट्टराई पहिलो र यादव दोस्रो हुन् । तर, प्रचण्डले दोस्रो अध्यक्ष यादवलाई पत्र पठाएका छन् ।

यादव गत मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रकै चुनावचिन्हबाट चुनाव लडेका थिए । माओवादी केन्द्रको चिन्हबाट चुनाव लडेका यादवलाई प्रचण्डले मन्त्रीसमेत बनाएका छन् । एक सांसद भएपनि उनी प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारीमा छन् ।

प्रचण्डसँग मन मारेका छन् भट्टराईले

गत निर्वाचनको समयमा माओवादी केन्द्रसँग पार्टी एकता गर्न भट्टराई निकै कस्सिएका थिए । पार्टी एकताको वातावरण बनाउनकै निम्ति उनले आफूले लड्दै आएको निर्वाचन क्षेत्र नै प्रचण्डलाई छाडिदिएका थिए ।

भट्टराईले माओवादी केन्द्रलगायतका पार्टीहरुबीच एकता गर्नेगरी समाजवादी मोर्चा बनाउने सन्दर्भमा पनि बहस आरम्भ गराएका थिए । निर्वाचनअघि नै मोर्चा बनाउने उनको प्रयास सफल भने भएन । तर, भट्टराईले अघि सारेको योजना मुताबिक प्रचण्डले गत जेठ ४ मा भने समाजवादी मोर्चा घोषणा गरे ।

तर, मोर्चाको मुख्य योजनाकार भट्टराईसँग सामान्य सल्लाह पनि नगरी प्रचण्डले मोर्चाको घोषणा गराएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मिलाएर समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

आफ्नो योजनाअनुसार मोर्चा घोषणा हुनु तर, आफूँ स्वयम्लाई पाखा पन्छाइएपछि भने भट्टराई प्रचण्डप्रति झस्किएका छन् । त्यसयता उनले माओवादी केन्द्रसँग एकताको सम्भावना टरेकोसमेत बताउन थालेका छन् । नेसपाका नेताहरु मोर्चा गठनसँगै प्रचण्डप्रति बाबुरामको मन मरेको पनि बताउँछन् ।

मोर्चा घोषणायता भट्टराई आफ्नै पार्टीको अभियानमा व्यस्त छन् । उनले योबीचमा प्रचण्डसँग पटक–पटक भेट गरेपनि भेटमा पार्टी एकताबारे भने कुनै चासो देखाएका छैनन् । तर, भट्टराईले चासो नदेखाएको पार्टी एकताको बहस भने नेसपाभित्र राम्रैगरी छेडिएको छ ।

फुटाएरै एकताको प्रयास

भट्टराईले एकता गर्न चाँसो दिन छाडेपछि नेसपाकै अन्य नेताहरु भने माओवादी केन्द्रसँग निरन्तर संवादमा छन् । भदौ दोस्रो साता नेसपाका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रचण्डलाई सामूहिकरुपमै भेट गरेका थिए ।

माओवादी केन्द्रका एक नेताले बताएअनुसार उक्त भेटमा जसरी पनि पार्टी एकता गर्नुपर्ने कुरा नेसपाकै नेताहरुले राखेका थिए । ती नेताले बताएअनुसार बाबुरामले इच्छा नगरेपनि एकताका लागि आँट गर्न प्रचण्डले नेताहरुलाई सुझाएका थिए ।

त्यसयता दोस्रो तहका नेताहरु अध्यक्ष प्रचण्डसहित अन्य माओवादी केन्द्रका नेताहरुसँग निरन्तर संवादमा छन् । जसलाई सहज पार्नेगरी प्रचण्डले अध्यक्ष यादवलाई पत्र पठाएको देखिन्छ ।

पत्रमा प्रचण्डले आवश्यक परे पार्टीको नाम नै परिवर्तन गर्न सकिने आशय राखेसँगै एकता पक्षधरलाई थप सजिलो बनाएको छ । तर, बाबुरामको अडानका बीच पार्टी विभाजनपछि मात्रै एकता हुने अवस्था छ ।

भट्टराईकै विश्वास पात्र एकताको पक्षमा

दोस्रो अध्यक्ष यादव मात्रै होइन नेसपाभित्र बहुमत नेताहरु माओवादी केन्द्रसँग एकताको पक्षमा छ । जसमा भट्टराईकै विश्वासपात्र विश्वदीप पाण्डेसमेत पर्दछन् ।

उनले गत भदौ २६ मा प्रचण्डलाई बालुवाटारमा पुगेर भेटेका थिए । नेताहरुका अनुसार पाण्डेयले पनि जसरी पनि एकता गर्नुपर्ने कुरा प्रचण्डलाई सुनाएका थिए ।

नेता पाण्डेयले यसअघि पनि पटक–पटक सामाजिक सञ्जालमार्फत एकताको पक्षमा अभिव्यक्ति दिने गरेका छन् । उनले पूर्वमाओवादीहरुबीच निःशर्त एकता हुनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट