सरकार ढाल्ने र गठबन्धन फेर्ने कुरा किन उठ्दैछ कांग्रेसभित्र ?-Sutra News

सरकार ढाल्ने र गठबन्धन फेर्ने कुरा किन उठ्दैछ कांग्रेसभित्र ?

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका पछिल्ला अभिव्यक्ति सरकार परिवर्तन गर्नुपर्ने कोणबाट आउन थालेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कारण पार्टी बदनामित हुन थालेको भन्दै उनले सरकार फेर्नुपर्ने विकल्प अघि सारेका छन् ।



आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डकै नेतृत्वमा देश जातिय द्वन्द्वमा जाने खतरा पनि बढिरहेको बताए । “धरानमा देखिएको द्वन्द्व पनि प्रचण्डको इशारामा त होइन ?” भनि कोइरालाले प्रश्न उठाएका छन् ।

“प्रधानमन्त्रीले नै आदिवासीको कार्यक्रममा गएर हामीलाई भोट दिनुस्, हामी जातीय राज्य ल्याउँछौं भन्नुहुन्छ, सुर्खेतमा गएर एक÷दुई महिनाभित्र लाखौं मानिस सडकमा उतार्छौं भन्नुभयो”, उनले भनेका छन्, “उहाँले यो मुलुकलाई कता लैजाँदै हुनुहुन्छ, के कांग्रेस साँक्षी बन्ने हो ?”

उनले कांग्रेस मुलुकको ठूलो शक्ति भएको कारण देशलाई ठीक ठाउँमा लैजान पनि नेतृत्व लिन अघि सर्नुपर्ने तर्क गरेका छन् । कांग्रेसभित्रको माग पनि सरकार परिवर्तन गर्नुपर्ने रहेको उनको भनाई छ ।

कोइरालाले सरकार परिवर्तनको सन्दर्भमा दिएको अभिव्यक्ति यो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै पटक सरकार परिवर्तनबारे धारणा राख्दै आएका छन् । ‘सीट संख्याको आधारमा पनि माओवादीको नेतृत्वमा कांग्रेस रहन नहुने’ तर्क कोइरालाको छ ।

कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गर्ने कोइरालासँगै महामन्त्री गगन थापाले पनि पटक–पटक सार्वजनिकरुपमा सरकारबारे पुनर्विचार गर्नुपर्ने बताउन थालेका छन् । तत्कालिन चुनावको बेला गठबन्धन गर्ने विषयमा असहमति जनाएका उनले बीचमा मौनता साँधेपनि पछिल्लो समय खुलेर सरकारको आलोचना गर्न थालेका छन् ।

विशेषगरी सरकारले विभिन्न प्रकरणका फाइल खोल्दै गर्दा नेताहरु समातिएका सन्दर्भमा कांग्रेसको संस्थापन इतर समूहले असन्तुष्टी पोखिरहेको छ । केन्द्रीय समिति र संसदीय दलको बैठकमा पनि नेताहरुले ‘कांग्रेसका नेताहरुलाई टार्गेट बनाइएको त होइन ?’ भन्दै प्रश्न उठाएका थिए । नेता बालकृष्ण खाँण जेल परेको घटनामा संस्थापनसँगै इतरपक्षले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध असन्तुष्टि पोखिरहेको छ ।

गृहमन्त्रीविरुद्ध सार्वजनिकरुपमै विरोध जनाउनेमा सहमहामन्त्री महेन्द्र यादव पनि थिए । उनीमाथि सार्वजनिक स्थलमै आक्रमण भएपछि गृहमन्त्री श्रेष्ठविरुद्ध कांग्रेस थप आक्रामक बनेको छ । कांग्रेसका नेताहरुले संसदमै गृहमन्त्री श्रेष्ठमाथि कडा आरोपसहित आक्रोश पोखेका थिए ।

आन्तरिक भागवण्डाको आक्रोश सरकारमाथि

कांग्रेसभित्र विशेषगरी संस्थापन इतर मन्त्री छान्दादेखि नै असन्तुष्ट छ । माग गरेबमोजिम मन्त्री नदिएपछि इतर समूहका नेताहरुले असन्तुष्टी पोख्दै आइरहेका छन् । यस्तोमा पछिल्लो समय विभिन्न नियुक्ति तथा भागवण्डामा इतर पक्षलाई पाखा पन्छाउँदै निर्णय गरिएपछि असन्तुष्ट पोख्ने माध्यम सरकारलाई बनाइएको छ ।

कतिपय भागवण्डा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर गर्ने गरेको आरोप इतर पक्षको छ । देउवाले वेवास्ता गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीले समेत वेवास्ता गरेको आरोप इतर पक्षले लगाउँदै आएको छ ।

कांग्रेसका प्रभावशाली नेता सरकारविरुद्ध नेताहरुले गलत ढंगले विरोध जनाएको बताउँछन् । गठबन्धन फेर्ने वा सरकार फेर्ने विषयमा कांग्रेसभित्र कुनै कोणबाट पनि छलफल नभएको उनको भनाई छ ।

“कतिपयका आन्तरिक असन्तुष्टि होलान्, कहाँ पोख्ने भन्ने हुन्छ”, उनले भनेका छन्, “सरकार वा गठबन्धनको सन्दर्भमा हामीबीच खास मतभिन्नता छैन, सरकार परामर्शअनुरुप नै चलिरहेको अवस्था हो । यो गठबन्धन भत्किन्न, सरकार ढल्छ भन्ने कुरा कांग्रेसले सोंचेको छैन ।”

इतर पक्षलाई विपक्षीको अफर

कांग्रेसभित्र पेलिएको इतर पक्षलाई विपक्षी दलहरुले फकाइरहेका छन् । विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा (एमाले) कांग्रेसको इतर पक्षलाई साथमा लिएर सरकार परिवर्तनको खेलमा सक्रिय ढंगले लागिरहेको छ । इतर पक्षका नेताहरुसँग थुप्रै पटक एमालेले संवाद पनि गरेको छ ।

एमालेले सार्वजनिकरुपमै सहकार्यको प्रस्वात पनि गरिरहेको देखिन्छ । एमालेले मुख्य दुई शक्ति मिलेर सरकार चलाउनुपर्ने बताइरहेको छ । यस्तोमा कांग्रेसको इतर पक्षलाई सरकारविरुद्ध खुल्न अनुकुल हुन गएको विश्लेषण गर्न सकिन्छ ।

कतिपयले संस्थापन इतरका पछिल्ला अभिव्यक्ति एकातिर देउवालाई दबाब दिने र अर्कोतिर प्रचण्डलाई झुकाउने कोणबाट आएको टिप्पणी गर्दछन् । तथापी, कांग्रेसको संस्थापन पक्षको भूमिकाले इतर पक्षलाई कहाँ पुर्‍याउन भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट