कांग्रेसभित्र शशांकको चर्चा, के होला देउवाको रणनीति ?-Sutra News

कांग्रेसभित्र शशांकको चर्चा, के होला देउवाको रणनीति ?

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं । १४औं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै कांग्रेस फेरि १५औं महाधिवेशनको चर्चाले तात्तिन थालेको छ । १५औं महाधिवेशनमा नेतृत्व हत्याउन नेताहरुबीच अहिलेदेखि नै खेल सुरु भएका छन् । जुन सतहमा देखिन थालेका छन् ।



१४औं महाधिवेशनमा निर्णायक मानिएको कोइराला समूह विभाजित बनेको थियो । जसको फाइदा उठाउँदै शेरबहादुर देउवा सभापतिमा अत्याधिक मतले विजयी भएका थिए । महाधिवेशनको चरणमा बेग्ला–बेग्ला गुट चलाइरहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतका नेता नै देउवाको पक्षमा उभिएका थिए ।

कोइराला परिवारका शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा अर्का नेता शशांक कोइराला मौनरुपमा देउवालाई सघाउन पुगे भने गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला पनि खुलेरै देउवाको पक्षमा लागिन् । १४औं महाधिवेशनमा विशेषतः कोइराला परिवारको विभाजन र शशांकको मौन समर्थनले नै देउवालाई नेतृत्व हत्याउन बल मिलेको थियो ।

१४औं महाधिवेशनमा मौन बनेर देउवालाई सघाएका शशांकको चर्चा अहिले चुलिएको छ । स्वयम् शशांकले पनि आगामी महाधिवेशनमा “देउवाकै समर्थनमा आफू सभापतिको उम्मेदवार बन्ने” समेत बताउन थालेका छन् । उनले उम्मेदवार बन्ने गरी तयारी पनि गरिरहेको देखिन्छ ।

गत साउन ९ मा शशांकले केन्द्रीय सदस्यहरुलाई बोलाएर चियापान गराएका थिए । सो कार्यक्रममा उनले ‘अघिल्लो पटक देउवालाई सघाएको भन्दै आगामी महाधिवेशनमा देउवाले आफूलाई सघाउने’ कुरा राखेको नेताहरुले बताएका छन् ।

साउन ९ को चियापानपछि शशांक देश दौडाहामा निस्किएका छन् । देश दौडाहाकै क्रममा भदौ २० मा चितवन पुगेका शंशाकले सार्वजनिकरुपमै “देउवाको सभापतिको उम्मेदवार म” भन्ने अभिव्यक्ति दिए । आम नेता तथा कार्यकर्ताको भावना बुझ्ने क्रममा आफू देश दौडाहामा निस्किएको उनले बताएका छन् । “सम्भावना छ, नहुने भन्ने के छ र ? पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु”, चर्चाबारे सोधिएको प्रश्नमा उनले भनेका छन् ।

कांग्रेस अहिले शशांकको अभिव्यक्ति र दौडधुपले तरंगित छ ।

इतर समूह एकजुट हुँदै

शंशाक कोइरालाले सक्रियता बढाइरहँदा कांग्रेसको संस्थापन इतरमा ठूलो तरंग पैदा भएको छ । आ–आफ्नै डम्फू बजाइरहेका नेताहरु अहिले एकजुट हुन थालेका छन् ।

शशांकको चियापानदेखि नै तरंगीत बनेको संस्थापन इतर भदौ १७ मा अजुर्ननरसिंह केसीको निवासमा छलफलमा जुटेको थियो । महाधिवेशनको बेलामा बेग्ला–बेग्ला कित्तामा देखिएका विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बलबहादुर केसीलगायतका नेताहरु पनि शेखर कोइराला–गगन थापा समूहको भेलामा उपस्थित भएका थिए ।

केसी निवासमा भएको उपस्थितिलाई हेर्दा, कांग्रेसभित्र अर्को बलियो धार सिर्जना हुँदै गरेको स्पष्ट हुन्छ । तथापी, यसअघि जस्तै संस्थापन इतर विभाजित हुँदैन भनेर भने यकिन गर्न सकिन्न ।

देउवाको रणनीतिले अन्योलता

आफ्नो उमेर अनि कांग्रेसको विधानका कारण पनि देउवा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने छैनन् । तथापी, देउवाले कसलाई अघि सार्लान् भन्ने विषय भने कांग्रेसका लागि निकै महत्वपूर्ण छ ।

अहिले देउवाले ‘विपीकै छोरा (शशांक)लाई नेतृत्व दिन्छु’ भनेको विषयले चर्चा पाइरहेको छ । तथापी, देउवाले शशांकलाई नै अघि सार्ने कुरा निश्चित भने देखिन्न ।

देउवा रणनीतिक हिसाबले चतुर खेलाडी हुन् । नबोली–नबोली आफ्नो अनुकुलको वातावरण बनाउने देउवा यसपटक पनि सोही शैलीमा अन्य कसैलाई त अगाडि बढाउँदैनन् भन्न सकिन्न ।

देउवाले पत्नी आरजु राणालाई पनि कांग्रेसभित्र स्थापित गराउन चाहिरहेका छन् । उनले सार्वजनिकरुपमै पनि ‘नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने’ बताइरहेका छन् । तथापी, आरजुले कांग्रेसभित्र सभापति नै भइहाल्ने खालको हैसियत भने सिर्जना गरिसकेकी छैनन् ।

देउवा समूहभित्रै गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधि, पूर्णंबहादुर खड्कालगायतका नेताहरु आगामी महाधिवेशनबाट सभापति बन्न लालायीत छन् । गोपालमानले सार्वजनिकरुपमै ‘देउवापछिको सभापति म नै हुँ’ भन्ने पनि गरेका छन् । तथापी, देउवाले कसलाई अघि सार्लानन् स्पष्ट नभएपनि आफ्नो अनुकुलको पात्र भने अघि ल्याउनेमा दुविधा छैन ।

शशांकको चर्चा, संस्थापन इतरलाई विभाजित बनाएर आफ्नो अनुकुलको पात्रलाई अघि सार्ने देउवाको चाल हुनसक्ने पनि कतिपयकाे विश्लेषण छ । जुन शैली १४औं महाधिवेशनमा पनि देउवाले प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट