ओलीविरुद्ध खुल्दै भण्डारी, दोस्रो तहका नेतामार्फत शक्ति अभ्यास-Sutra News

ओलीविरुद्ध खुल्दै भण्डारी, दोस्रो तहका नेतामार्फत शक्ति अभ्यास

बुधबार, २० भाद्र २०८०

बुधबार, २० भाद्र २०८०

काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको मतगणनापछि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको गुटबन्दी राजनीति सतहमै छरपष्ट बनेको छ । लुम्बिनीमा महासचिव पोखरेलले राम्रै हार व्यहोरेका छन् । जहाँ पौडेल पक्षीय निवर्तमान अध्यक्ष राधकृष्ण कँडेल विजयी भएका छन् । प्रतिस्पर्धी पार्टी केन्द्रीय सदस्य हरि रिजाललाई दुई मतले पराजित गर्दै कँडेल अध्यक्षमा विजयी भएका थिए ।



पराजित भएका उम्मेदवार रिजाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत साथ रहेको थियो । तर, लुम्बिनीमा ओलीको साथ पाएका रिजालसहित प्यानलकै हार भएको छ । जहाँ अध्यक्षको आर्शिवाद पाएका एक जनाले मात्रै जितेका छन् ।

रिजाललाई जिताउन ओलीले कार्यकर्तामाझ कानेखुसी गरेको र चिटसमेत बाँडेको कुरा बाहिरिएको थियो । तर पनि ओलीले आफ्ना उम्मेदवार जिताउन सकेनन् । यता अध्यक्षमा जित्न सफल कँडेल भने उपाध्यक्ष पौडेलको मात्र नभई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उम्मेदवार रहेको खुलेको छ ।

भण्डारीले विष्णु पौडेलमार्फत कँडेललाई अध्यक्षमा उठाएकी थिइन् । एमालेका एक पदाधिकारीका अनुसार भण्डारी लुम्बिनी अधिवेशनमा ओलीको विपक्षमा लागेको र हराउन सफल पनि भएकी छन् । उपाध्यक्ष विष्णु पौडेल र विद्या भण्डारी मिलेर अब अन्य प्रदेशमा पनि उम्मेदवार बनाउने योजना बुन्न थालेका छन् ।

एमालेको उच्च तहले जानकारी दिएअनुसार भण्डारी क्रमशः शक्ति अभ्यासमा उत्रिएकी छिन् । ओलीले भण्डारीको उम्मेदवारलाई जित्न नदिन सर्वसम्मत उम्मेदवार चयन गर्न समेत निर्देशन गरेका थिए । तर उनको त्यो निर्देशनको पनि पालना भएन । अब एमालेमा भण्डारी एकाएक शक्तिमा आउँदै गरेको शक्ति लुम्बिनी महाधिवेशनले देखाएको छ ।

अध्यक्ष बन्ने दाउमा भण्डारी, रोक्दै ओली

भण्डारी एक पटक फेरि सक्रिय राजनीतिमा आउने तयारीमा छिन् । एमाले अध्यक्ष बन्ने दाउमा रहेकी उनले हरेक ठाउँमा एमालेमा भाग खोज्ने गरेकी छन् । उनीसँग पछिल्लो समय एमाले अध्यक्ष ओलीको समेत सम्बन्ध बिग्रिएको एमाले नेताहरु सुनाउँछन् । ओली अबको एक कार्यकाल अध्यक्ष आफैं चलाउन चाहन्छन् । उनले उनीमाथि तगारो बन्ने एमालेको ७० वर्षे उमेर हदसमेत फालीसकेका छन् । तर भण्डारी भने एमालेका दोस्रो स्तरका नेतालाई प्रयोग गर्दै शक्ति सञ्चित गरिरहेकी छन् । भण्डारीले एमालेमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई लिएर हिँडेकी छन् । उनीहरु एमालेमा अब एकपटक भण्डारी नै अध्यक्ष बन्नुपर्ने बताउँदै आएका छन् ।

यसबारे केही दिनअघि उपमहासचिव गुरुङले त भण्डारीलाई स्वीकार्न तयार रहेको बताएका थिए । ओली भने भण्डारी, पौडेल र गुरुङलाई नै रोक्न चाहन्छन् । उनी भण्डारी सक्रिय राजनीतिमा आउन आवश्यक नरहेको बताउने गरेका छन् ।

राष्ट्रपतिजस्तो सम्मानजनक पदमा बसेको व्यक्तिले फेरि राजनीतिमा आउन नहुने तर्क ओलीको छ । यता उपाध्यक्ष पौडेल भने अबको एमालेको अध्यक्ष बन्ने दाउमा छन् । यदि अबको महाधिवेशनबाट आफै वा भण्डारीलाई अघि बढाउने दाउमा रहेको उनी निकट नेताहरु बताउँछन् ।

उनी कुनै बेला एमाले छाडेर मालेमा लागेका कारण पौडेललाई ओलीले नरुचाउने गरेको एमालेका नेताहरु सुनाउँछन् । उनी २०५४ सालमा एमाले विभाजित हुँदा मालेमा लागेका थिए । अन्ततः पछि उनी एमालेमा फर्किए । तत्कालीन नेकपा बन्दासमेत पौडेल महासचिव बनेका थिए । तर, नेकपाकालमा प्रचण्ड र माधव नेपालतर्फ लागेर आफूलाई खास साथ नदिएको ओलीको गुनासो छ ।

ओलीबाट असन्तुष्टहरु एमालेमा फेरि एकजुट भएको बताइन्छ । यसको नेतृत्वमा अहिले पौडेल देखिएपछि पर्दा पछाडि भण्डारीको हात रहेको छ । एमालेमा अहिले पनि ओलीभन्दा विद्या भण्डारी शक्तिशाली रहेको राजनीतिक विश्लेषकहरु सुनाउँछन् । राष्ट्रपति बन्दादेखि नै स्पेस लिएर ओलीमाथि नै भण्डारी हाबी भएको राजनीतिक विश्लेषक विष्णु दाहालको भनाइ छ ।

दाहालका अनुसार गएको मंसिरको आम निर्वाचनमा समेत एमालेमा भण्डारी निकट उम्मेदवारले ५४ प्रतिशत टिकट पाएको र ओली निकटले ३६ प्रतिशत मात्र उम्मेदवारले टिकट पाएका थिए । यसबाहेक एमालेकै ओली इतर समूहले १० प्रतिशत टिकट पाएको विश्लेषक दाहालको दाबी छ । उनी कुनै पनि एमाले ओलीलाई हटाएर भण्डारी आफै अध्यक्ष बन्न सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट