पुत्रमार्फत कमाउधन्दा : फाइल खोलिँदा नाङ्गिन थाल्यो चरित्र-Sutra News

पुत्रमार्फत कमाउधन्दा : फाइल खोलिँदा नाङ्गिन थाल्यो चरित्र

बुधबार, २० भाद्र २०८०

बुधबार, २० भाद्र २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एकपछि अर्को गर्दै सफलता प्राप्त गरिरहेको छ । सीआईबीले प्रकरणको जालो तान्दै संलग्नहरुलाई दायरामा तानिरहेको छ । यस्तोमा प्रकरणमा मुछिएका उच्च नेताका छोराहरु समातिन थालेका छन् ।



सीआईबीले गत भदौ १३ मा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा राहुल महरालाई पक्राउ गरेको थियो । विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर ल्याइएको घटनामा मुछिएका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ । महरा अहिले प्रहरी हिरासतमा छन् ।

सीआईबीको अनुसन्धानअनुसार सुन प्रकरणमा मुख्य योजनाकारका रुपमा उनी देखिन्छन् । सीआईबीले चिनियाँ तस्करसँग राहुल महराले पटक–पटक कुराकानी गर्ने गरेको तथ्य बाहिर ल्याएको छ ।

महरा भेप मात्रै नभई अन्य सुन तस्करीमा पनि मुछिएको तथ्यहरु अनुसन्धानबाट खुल्दै गएका छन् । सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा पनि उनको संलग्नताको खोजी गरिरहेको छ । सीआईबीले स्वयम् कृष्णबहादुर महरामाथि पनि बाहिरि ढंगले अनुसन्धान गरिरहेको छ । केही तथ्यहरुले बाउ महरा पनि संलग्न रहेको देखाउँछ ।

महरा छोरा पक्राउ परिरहँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुत्र दीपेश पुनमाथि पनि अनुसन्धान सोझिएको छ । सीआईबीले ६० किलो सुन प्रकरणमा दीपेश पुनसँग भदौ १८ मा बयान लिएको थियो ।

उक्त प्रकरणमा मुछिएका २६ शंकास्पदसँग पुनले फोन संवाद गरेको तथ्य सीआईबीले फेला पारेको छ । सत्तारुढ माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव पुन यसअघि पनि विभिन्न प्रकरणमा मुछिएका थिए । तर, राजनीतिक संलग्नताको कारण उनीमाथि छानबिन वा कारबाही हुन सकेको थिए ।

यता, रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै एमालेमा भित्रिएका थिए । दुवै नेता स्वयम् आफू मात्रै बदनामित छैनन्, उनीहरुका दुवै छोरा पनि बदनामित छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बादल र टोपबहादुरका बाउछोरा नै मुछिएका छन् ।

प्रकरणको फाइल उघार्दै गर्दा बादल गुप्तबासमा छन् भने छोरा प्रतिक थापा अहिलेसम्म पनि फरार छन् । एमाले उपाध्यक्षको जिम्मेवारीमा रहेका बादलमाथि अनुसन्धान भने हुन सकेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भएपनि राजनीतिक दबाबले उनी हालसम्म पनि सुरक्षित देखिन्छन् ।

सीआईबी उच्च स्रोतले बताएअनुसार नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै फरार बादलपुत्र प्रतिकको सुन तस्करीमा समेत संलग्नता देखिन्छ । सत्ताको सुरक्षाकवजमा प्रतिक विभिन्न कारोबारमा संलग्न रहेको अनुसन्धानहरुले देखाएका छन् ।

यता, एमाले सचिवबाट निलम्बनमा परेका रायमाझीका बाउ छोरा नै पक्राउ परेका छन् । उनीहरु दुवैजना अहिले पुर्पक्षका लागि कारागार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी पनि प्रतिक र दीपेश पुनका पुराना मित्र हुन् । खुल्दै गरेका तथ्यहरुलाई नियाल्दा उल्लेखित पुत्रहरुको समूह सत्ताको प्रयोग गर्दै विभिन्न गिरोहसँग निकट देखिन्छ । घटनाहरुले सत्ताको प्रयोग गर्दै बाउहरुले नै छोराहरुलाई कमाउ धन्दामा लगाएको त होइन ? प्रश्न उब्जिन्छ ।

भिडियाेमा हेर्न यहाँ क्लीक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट