प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान-Sutra News

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

शनिबार, ६ साउन २०८०

शनिबार, ६ साउन २०८०

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेका छन् ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्तालगायतले उनलाई भ्रमण सफलताको कामना गर्दै बिदाइ गरे । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटनसत्रमा सहभागी हुनेछन् । यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट