देशको सामाजिक रूपान्तरणका लागि नवीन सोच अपरिहार्य : प्रधानमन्त्री दाहाल-Sutra News

देशको सामाजिक रूपान्तरणका लागि नवीन सोच अपरिहार्य : प्रधानमन्त्री दाहाल

मंगलबार, ५ असार २०८०

मंगलबार, ५ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रूपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन् ।



प्रधानमन्त्री दाहालले भने, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रूपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।”

उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधैं उच्च मूल्याङ्कन गर्ने गरेको बताए । प्रधानमन्त्रीले भने, “अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरूलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ ।”

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए । प्रधानमन्त्री दाहालले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारका रूपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रूपले प्रभाव पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट