माओवादी र एमाले मिलेर अगाडी जान असम्भव छैन- सुवासचन्द्र नेम्बाङ  [अन्तर्वार्ता]-Sutra News

माओवादी र एमाले मिलेर अगाडी जान असम्भव छैन- सुवासचन्द्र नेम्बाङ  [अन्तर्वार्ता]

शनिबार, ७ जेष्ठ २०७९

शनिबार, ७ जेष्ठ २०७९

अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्र्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो स्थानमा रहन सक्नुलाई पार्टीको विजयका रूपमा लिन्छन् ।  न्युज कारखानासँगको कुराकानीमा अगाडि भन्छन्, ‘गठबन्धन गरेर जानु नै उहाँहरूको पहिलो पराजय थियो, त्यसमाथि पाँच दलीय गठबन्धनले नपुगेर अन्य दलसमेत जोड्दा पनि एमालेलाई दोस्रो स्थानभन्दा तल झार्न नसक्नु उहाँहरू थप पराजित हुनु हो । एक्लाएक्लै निर्वाचन लडेर विजय हुने हिम्मत् त एमालेसँग रहेनछ भनेर यो निर्वाचनले पुष्टि गरेको छ ।’
उनै नेम्बाङसँग निर्वाचन, निर्वाचनको परिणामलगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश : 



स्थानीय तहमा एमालेले नमज्जासँग पराजय भोग्यो नि ? यो हालतमा पुग्नु हुन्छ भन्ने सोच्नुभएको थियो

सिटको सङ्ख्या हेर्दा त तपाईंले भनेको सही हो । तर, खासमा जनमतको हिसाबमा हेर्नुहुन्छ भन्ने एमाले थप शक्तिशाली भएर आएको छ । त्यो तपाईंहरूले निर्वाचनको परिणामको विश्लेषण गर्नुभयो भने पनि थाहा पाउनुहुन्छ ।

अघिल्लो निर्वाचनमा पहिलो पार्टी भएको एमाले अहिले दोस्रो पार्टीमा खुम्चिएको अवस्था छ । तैपनि शक्तिशाली भएको छ भन्नुहुन्छ, जनताले त परिणाम हेर्ने होला नि
सरसर्ती हेर्दा त्यस्तो लागे पनि यो चुनाववाट एमालेले एउटा नसोचेको विजय हासिल गरेको अवस्था छ । जब सत्तारूढ दलमा आबद्ध पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय लिनुभएको थियो, त्यो बेलादेखि नै मैले भन्दै आएको थिएँ कि पाँच दल त्यसमा सत्तारूढ दल नै गठबन्धनमा मिलेर जानुको अर्थ एमालेले निर्वाचनअघि नै विजय हासिल गरिसक्यो । यो कुरा त मैले मात्रै होइन, राजनीतिक विश्लेषकहरूले नै भनेका थिए ।

त्यो त चित्त बुझाउने कुरा होला । जनतालाई सेवा प्रवाह गर्ने जनप्रतिनिधि त तपार्इंको पार्टीबाट नै हुन सकेनन् । धेरै जसो त कांग्रेस र माओवादीको भएको देखियो । मुख्यतः जनतालाई ‘डेलिभरी’ दिने कुरा होला नि

यसलाई भोलिका दिनमा जनताले हेर्ने नै छन् । तर, याद गर्नुपर्ने कुरा के हो भने संसदीय प्रणालीमा सत्तारूढ दलले कहिल्यै पनि गठबन्धन गरेर जाँदैन । गएको इतिहास पनि छैन । गठबन्धन गर्ने भनेको त प्रतिपक्ष दलले हो । झन् यो संसदीय प्रणालीको हिमायती भन्ने कांग्रेस नै एमालेसँग डराएर गठबन्धनमा गर्ने अवस्थामा पुग्नु भनेको त सुरूमा नै ऊ ‘डिफेन्स’मा पुगेको भन्ने अर्थमा बुझिनुपर्छ । त्यति मात्रै होइन, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा त पाँच दलको गठबन्धनले समेत नपुगेर राप्रपालाई समेत जोडेर गठबन्धन गर्नुपर्ने अवस्थामा पुग्नु भनेको एमालेको त स्वतः विजय नै हो । भलै त्यो सिटमा देखिएन । त्यसैले म भन्छु– यो निर्वाचनले एमालेको जनमत घटेको छैन । सबै दललाई ‘डिफेन्स’मा राखेर एमालेले आफ्नो जनमत थप सुदृढ गर्ने अवस्थामा पुगेको छ । यसबाट हामी आत्तिएका छैनौँ । बरु थप शत्तिशाली भएर एमाले आएको छ ।

सिट जति त अरु दलले कब्जा गरिसके । आत्तिएको छैन भन्नु त मनको लड्ड् घिउसँग खाए जस्तो भएन र ?
ल तपाईंले भनेको मानें । उहाँहरूको जित भयो । तर, त्यसरी जित हासिल गर्दैगर्दा यो चुनावले कांगे्रेसको जनमत कति छ ? माओवादीको कति छ ? एकीकृत समाजवादी कति छ ? पहिचान भयो त ? पहिचान त हुन सकेको छैन । यो निर्वाचनवाट कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलको जनमत देख्न पाइएन । किनभने सबैले सबैलाई भोट हालेका छन् तर एमालेको जनमत कति भन्ने त यस चुनावले देखाइसकेको छ । उहाँहरू आफ्नो जनमतसम्म देखाउन नसक्ने अवस्थामा पुग्नुभएको छ । जनमत पहिचान गर्ने अवस्थामा नै पुग्नसक्नु भएको छैन । एउटा राजनीतिक दलको यो भन्दा बेहाल अरू के हुनसक्छ ?

भनेपछि एक्लाएक्लै चुनाव लडेको भए यो निर्वाचनवाट एमाले पहिलो पार्टी हुन्थ्यो ?
यो त जनमतले नै देखाइसक्यो त ? देखाएन र ? एमालेलाई सारा घेराबन्दी गरेर गठबन्धन गरेर जानु भनेको सुरूमा नै राजनीतिक रूपमा पराजय हुनु हो । त्यसले पनि नपुगेर कुनै पनि पार्टीका सभापति होइन, प्रधानमन्त्री स्वयंले आमसभामार्फत् गठबन्धनलाई जिताउनु जनताको कर्तब्य हो भनेर भाषण गर्नुभयो । एउटा देशका प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, निर्वाचन आचारसंहिता विपरीत गठबन्धनलाई जिताउन जनतालाई दबाब दिनुभयो । खासमा प्रधानमन्त्रीको कुर्सीबाट भन्नुपर्ने कुरा यति मात्र थियो– स्थानीय तहको निर्वाचनमा डर, त्रास र भयरहित भएर स्थानीय तहको निर्वाचनमा आफूले रोजेको पार्टीलाई जिताउनुहोस् भनेर आह्वान गर्नुपर्दथ्यो । तर, उहाँले त्यसो नभनेर गठबन्धन आबद्ध दललाई जिताउनु जनताको कर्तब्य हो भनेर गठबन्धनको पक्षमा मत माग्नुभयो । देशको अभिभावक मानिएको प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, उहाँले निर्वाचनको दौरानमा मन परेका पार्टी रोज्न पाइँदैन, जसरी पनि गठबन्धनलाई मत दिनुपर्छ भन्ने आशयसहित पदीय मर्यादा नै भुलेर निर्वाचनमा जानुभयो । कुनै पनि प्रधानमन्त्रीले संसारमा यसरी मत माग्छन् । मैले चाहिँ त कहीँ कतै थाहा पाएको छैन ।

भनेपछि एमालेलाई एक्ल्याउन सबै उपाय सत्तारूढ दलबाट गरियो अवलम्बन गरियो ?  
यो त घाम जत्तिकै छर्लङ्ग छैन र ? यो त सबैले सहजै बुझ्ने कुरा हो । त्यत्रो गठबन्धन गर्दा पनि एमालेसँग पराजय हुने डरले पो हो कि के हो  एक जना नेताले त म नाम भन्दिनँ । तर, उहाँले त ‘गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्छ’ भनेर जनतालाई धम्क्याउनु नै भयो । छोरीलाई जिताउनका लागि मत नदिए देश दुर्घटनामा पर्ने अनि दिए मात्र देश दुर्घटनाबाट जोगिनेसम्म कुरा गर्नुभयो ।
जनतालाई धक्क्याएर मत माग्ने काम शीर्ष नेताले मात्र होइन, प्रधानमन्त्री पत्नीले समेत गर्नुभयो । जिताएको अवस्थामा स्थानीय पालिकामा पैसा पठाउने, नजिताए नपठाउनेसम्म भन्नुभयो ।
जिताउने परिवारलाई मलेसिया हो कि साउदी अरब पठाउनेसम्मको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री पत्नीले त्यो भूमिकामा बसेर यस्तो बोल्न मिल्छ ? तर, बोलिदिनुभयो । त्यति मात्र होइन, निर्वाचनपछि पनि राज्य शक्ति दुरुपयोग गरेर एमालेलाई एक्ल्याउने काम गरियो । पार्टी महासचिवले प्रेस विज्ञप्तिमार्फत् भनिसक्नुभएको छ । तसर्थ, म भन्छु–  एमालेको केही सिटमा तलमाथि भयो होला तर जनमत घटेको छैन । बरु,  एमालेले एक्लैले अरू दललाई यो निर्वाचनमार्फत् ‘डिफेन्स’ मा राखिदिएको छ ।

दलहरूले गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा एमालेलाई आपत्ति हो र ? तपाईंहरूले पनि गरेका भए हुन्थ्यो नि
हाम्रो निर्वाचन प्रणाली (मिश्रित)ले गठबन्धन गरेर नगए एकल बहुमत आउँदैन भन्ने देखाएको छ । तर, एउटै राजनीतिक विचारधारा भएका दलसँग गठबन्धन गरेर गएको भए पो सुहाँउदो हुन्छ । यो गठबन्धनले त को कम्युनिस्ट ? को कांग्रेस ? को मधेस केन्द्रित दल ? को राप्रपा ? छुट्याउने अवस्था नै देखिएन ? सबै गोलमाल देखिएको छ । जनमत गोलमाल नभएको भनेको त एमाले मात्रै हो । सिट त जितेका छन् तर गठबन्धन दलहरूलाई त आफ्नो शक्ति सार्मथ्यै नै कति छ भन्ने थाहा छैन । उनीहरू अलमलमा छन् ।

जनमत र सिट संख्याले के गर्छ ?

एउटा घटना स्मरण गराउँछु– २०४७ सालपछि पञ्चहरूलाई अझ कमजोर बनाउन र पराजित गर्न फेरि सँगै लडेर जानुपर्ला कि भन्ने थियो । जननेता मदन भण्डारीले कांग्रेस नेताहरूसँग प्रस्ताव गर्दैगर्दा मलाई अझ पनि सम्झना छ कि किसुनजीले भनेका थिए, ‘२०१५ सालमा चार सिट पनि नजितेका ‘कम्युनिस्ट भैया’हरूले १५ सिट जिते मात्र पनि खसी काटेर खुवाउँछु । एक हजार सिटले त कांग्रेसलाई पनि पुग्दैन ।’ यति भनेपछि खाएको पान थुक्नुभयो । पछि जनमत कसको कति रहेछ भन्ने त अर्को निर्वाचन परिणामले नै देखाइदियो । एक हजार सिटले नपुग्ने भन्ने कांग्रेस कहाँ पुग्यो त ? त्यसैले जनमतलाई कहिल्यै पनि नजरअन्दाज गर्नु हुँदैन । त्यसैले सिटभन्दा जनमत ठूलो हो ।

सिट धेरै गुमिसक्यो । अब जनमत छ भनेर चित्त बुझाई रहनुभएको छ
एमालेलाई धुलो चटाइन्छ । चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेका होइनन् ? अहिले ‘रिजल्ट’ले त्यो देखायो ? पाँच दलीय घेराबन्दीका बीचमा पनि एमालेले सानदार विजय हासिल गरेको अवस्था छ । हामी अहिले पनि सानदारसहित एक्लै भए पनि दोस्रो ‘पोजिसन’मा छौँ । पहिलो भनिएको कांग्रेस त गठबन्धनसहित पहिलो ‘पोजिसन’मा पुगेको न हो, एक्लै पुगेको होइन ।  एक्लाएक्लै लडेको भए कांग्रेस पहिलो हुन सक्थ्यो र ? सक्दैनथ्यो । अब गठबन्धन नगरी चुनावमा जाऊन् त एमाले पहिलो हुन्छ कि दोस्रो ? त्यो त जनमतले देखाइसक्यो ।

सत्तारूढ दलले त स्थानीय तहमा विजय हासिल गरेर प्रतिगमनलाई पराजित ग¥यौँ भनिरहेका छन् नि ?
प्रतिगमन के हो ? हाम्रो पार्टी अध्यक्षले नयाँ जनमतका लागि भन्दै निर्वाचनको मिति नै घोषणा गरेर जानुभएको थियो । तर, सर्वोच्च अदालतले अस्वीकार गरिदियो । एकपटक त परमादेशबाट नै । तर, पनि हाम्रो पार्टीले कानुनी राज्य बलियो बनाउनुपर्छ भनेर त्यसलाई सहर्ष स्वीकार ग¥यो । चुनावमा गयो । के ओलीजीले मात्रै संसद बिघटन गरेको हो र ? त्यसअघि गिरिजाबाबुले पनि संसद् विघटन गर्नुभएको थियो । मनमोहनजीले पनि संसद् विघटन गर्नुभएको थियो । सूर्यबहादुर थापाले पनि संसद् विघटन गर्नुभएको थियो । यो मुलुकमा ६÷६ पटक संसद् विघटन भएका छन् । सर्वोच्च अदालतले उल्ट्याएको नजिर पनि छ । तर, ओलीजीले गरेको संसद् विघटन चाहिँ प्रतिगमन ? अनि अरूले गरेको चाहिँ अग्रगमन ? यो त राजनीतिक खपतका लागि बोलिएको विषय मात्रै हो ।

राजनीतिक खपतका लागि मात्रै बोलिएको हो र
योभन्दा केही अरू देख्नुहुन्छ । त्यसपछि यो पनि बिर्सन हुन्न कि ओलीजीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्नेहरू आफैं पुनः विघटन गर्न नलागेका होइनन् र ? स्थानीय तह निर्वाचन सारेर सङ्घीय संसद्को निर्वाचन गरौँ भन्ने प्रस्ताव पनि नगरेका होइनन् र ? के संसद् विघटन नगरी सङ्घीय संसद्को ‘अर्ली इलेक्सन’ हुनसक्थ्यो र ? त्यसैले संसद् विघटनको प्रस्ताव त सर्वोच्चको परमादेशबाट पछि पनि सत्तारूढ दलबाट आएको हो । हामीले बरु त्यसको ठाडो प्रतिवाद ग¥यौँ, कि संसद् विघटन गरे ‘अर्ली इलेक्सन’ मा जाने सत्तारूढ दलको चाहनालाई अवरोध गरेर मुलुकलाई स्थानीय तहको निर्वाचनतर्फ होमायौँ । त्यसैले उनीहरूले गरे प्रतिगमन नहुने र अग्रमन हुुने अनि हामीले गरेर प्रतिगमन हुने ? यो त राजनीतिक खपतका लागि बोलिएको विषय मात्रै हो । यसमा कुनै तुक छैन ।

महानगरपालिका र उपमहानगरपालिका सबै एमालेले गुमाइसक्यो
अहिल्लो पटक हामीले महानगरमा काठमाडौं र पोखरामा विजय हासिल गरेका थियौँ । यो पटक गठबन्धनका कारण हाम्रो पक्षमा मेयरका पक्षमा परिणाम आएन होला वा नआउन पनि सक्ला । मतगणना जारी नै छ । तर, हाम्रा उपमेयरहरूले सानदारका साथ विजय हासिल गरेका छन, गरिरहेका छन् यो त भुल्नु भएन नि ?  त्यो काठमाडौं होस् वा विराटनगर वा अन्यत्र । पाँच दलीय गठबन्धनलाई हराउँदै ‘कोर मधेस’ भनिने कलैयामा विजय हासिल गरेका छौँ । अन्त पनि हाम्रो त्यति अवस्था बिग्रिसकेकोे छैन ।

सबैतिर पराजय भोगेपछि एमालेले वाम गठबन्धनको कुरा गर्न सुरु ग¥यो भनिन्छ नि ?
हाम्रो पार्टी तहमा यो कुरा भएको देखिएको छैन । केही साथीले गरिरहेका हुन सक्लान्, नहोला भन्न पनि सकिन्न ।
सम्भवः छ र ?  असम्भव छ र ? आकाश–पाताल नै फरक भएको र एक अर्कासँग विचार नै नमिलेका दलहरूले गठबन्धन गरेर चुनावमा गए । हामी त झन् समान विचार भएका दलहरूसँग मिलेर जाने कुरा नहुन सक्छ र ? हेर्दै जाउँ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट