एमाले क्र्यासको प्रमुख कारण : ओली र नेपालको व्यक्तिगत इगो-Sutra News

एमाले क्र्यासको प्रमुख कारण : ओली र नेपालको व्यक्तिगत इगो

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

क्रान्तिकारी दृष्टिकोण, शहीदहरूको बलिदान त्याग तपस्याबाट बनेको नेकपा एमाले ओली र माधव नेपालबीचको व्यक्तिगत टकरावका कारण दुर्घटनामा परेको छ । यसले एमालेलाई मात्र होइन कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने संकेत देखाएको छ ।



नेकपामा माधव नेपालको स्थान 

माओवादी एमालेमा मिसिएको हो एमाले माओवादीमा मिसिएको हो डजन्ट म्याटर । पार्टी जुनसुकै पार्टीसँग मर्जर होस् । पार्टीको वरिष्ठ नेताले आफ्नो तहअनुसारको रोल खेल्न त खोजिहाल्छ । 

एमालेलाई हेरौं, एमाले एमाले नै रहँदा वरिष्ठ नेताको उपमा पाएका माधव नेपाल जब नेकपा पार्टीका भए उनले एमालेमा रहँदा जसरी सम्मान पाउने कुरै भएन । 

उनको एमालेमा जुन कमाण्ड रहन्थ्यो नेकपामा रहने त कुरै आएन । अन्य नेताहरुको पनि हैसियत त उस्तै भयो ।  पार्टीका उपाध्यक्ष, महासचिव, सचिव लगायत अन्य थुप्रै पदका नेताहरुको हैसियत अब पुरानै किसिमको हुने कुरै आएन नि !

ओलीले देखाउन खोजेको एकलौटी 

तर पार्टीका अध्यक्ष ओलीलाई यो कुरा लागू हुन्थेन । उनी एमालेमा रहँदा एमालेका अध्यक्ष नेकपा भएपछि त्यसको पनि अध्यक्ष ।  त्यति मात्र होइन उनी प्रधानमन्त्री पनि, नेकपाको सचिवालयमा पनि उनकै मान्छे । एमाले र माओवादीको मर्जरबाट बनेको नेकपाको सचिवालयमा ओलीका मान्छे धेरै । त्यसपछि रिस उठ्दैन ?

नेकपामा गइसकेपछि ओलीले आफ्ना एमालेका नेताहरुलाई बिर्सेकै हुन् । नेकपाको स्थायी कमिटी बैठक होस् या अन्य कुनै बैठक, उनले माधव नेपालका एजेन्डाहरुलाई कहिल्यै प्रवेश गर्न दिएनन् । 

त्यो दिन नेकपाको स्थायी कमिटीको बैठक थियो । ‘माधव नेपालको एजेन्डा ओलीजीले बैठकमा छिर्नै दिनुहुन्न ।’ एमालेका एक नेताले पत्रकारहरुसँग दुख पोखे । 

नेताहरुले ठुलै केही नपरिकन पत्रकारहरुसँग गुनासो पोख्दैनन् । उनको त्यो अभिव्यक्तिबाट थाहा हुन्थ्यो नेपाल कति पिडामा छन् । एजेन्डामा छलफल हुने कुरा टाढाको भयो, बैठकमा नै एजेन्डा प्रवेश गराउन मान्दैनन् । 

माधवको कति दुख, एमालेको वरिष्ठ नेताको हैसियत पनि गुम्यो हुँदाहुँदा अब आफ्नो एजेन्डा पनि बैठकमा छिर्न पाएन । 

ओली र माधवबीच खटपट सुरु भएको त्यतिबेलादेखि नै हो । 

माधव नेपाल ओलीसँग त्यतिबेला नै बदला लिन चाहन्थे । तर समयले सुट गरेन । नेकपामा रहँदा माधव नेपालको हैसियत पनि थिएन । केही गर्न सक्ने क्षमता नभएपछि चुपचाप सहेर बस्नुको विकल्प पनि त हुँदैन । 

एमालेको नयाँ यात्रा 

७७ फाल्गुन २३ गते जब सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको फैसला ऋषि कट्टेलको पक्षमा  गर्दै तत्कालिन नेकपा एमाले र नेकपा मावोवादी केन्द्रलाई ब्युँताइदियो । त्यसपछि एमालेमा पराकम्प जान सुरु भयो । त्यसपछि धेरै राजनीतिक उथलपुथल भयो । अहिले त्यता नजाऔं ।  

पार्टी त फुट्यो, पार्टी फुटेपछि नेकपाका कुनै पनि नेताहरुको इज्जत रहेन । प्रचण्ड, ओली, माधवकुमार, झलनाथ खनाल  लगायत माओवादी र एमालेका कुनै पनि नेताहरुको इज्जत र अलिकति पनि बाँकी रहेन ।

तर माधव नेपालको वरिष्ठ नेताको पद त फर्केर आयो । होलसेलमा नेकपा उड्यो तर खुद्रारुपमा त एमालेका नेताहरुलाई फाइदा हुने भयो । माओवादीभित्रका नेताहरु पनि कोही माधव नेपाल जसरी नै पिल्सिएका भए उनीहरुहरुलाई पनि फाइदा हुनेवाला थियो ।

ओलीमाथि नेपालको बदलाको भावना 

नेकपामा रहँदा ओलीले माधवलाई चिन्न खोजेनन्। अब एमालेको हैसियतमा फर्केपछि नचिनेर सुख भएन ।

तर नेकपामा रहँदा ओलीले आफूमाथि जुन किसिमको व्यवहार देखाएका थिए । माधव नेपालले एक एक हिसाब गरेर राखेका थिए । अब बदला लिन माधवलाई सर्वोच्च अदालतले ग्रीन सिग्नल देखाएको थियो ।

सदनले राम्रो नतिजा देखाउन नसकेको भन्दै ओलीले जब संसद विघटन गरे । त्यसपछि एमालेकै माधव नेपालले पार्टीका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा राखेर ओलीविरुद्ध परिचालन गरे । ओलीलाई सार्वजनिक रुपमा नै गाली गर्न थाले । ओलीलाई यति भने कि अब भन्न केही पनि बाँकी नै छैन ।

ओली पनि के कम ? उनले पनि नेपालविरुद्ध अभिव्यक्ति दिन्थे । यो सबैको नतिजा हो नेकपामा रहँदा ओली र नेपालबीचको कम्युनिकेशन ग्याप !

संसद विघटनपछि पनि नेपालको राजनीति थप उथलपुथल भएको थियो । यो सबै भनेर सकिन्न ।

एमालेकै कुरा गरौँ । नवौं महाधिवेशनमा रहेर कुरा गर्ने हो भने, ओली अध्यक्ष, ईश्वर पोखरेल महासचिव, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल ।

गुटबन्दीको सुरुवात 

पार्टी एउटा हो तर गुट फरकफरक । ओली समूहको छुट्टै बैठक, यता माधव समूहको छुट्टै बैठक । एमालेको स्थायी कमिटी बैठक हुँदा माधव समूहको केन्द्रीय कमिटी, एमालेको केन्द्रीय कमिटीको बैठक हुँदा माधव समूहको स्थायी कमिटी । यहाँभन्दा अरु के अचम्म चाहियो ? 

केही थान नेताहरुलाई होटेलमा बैठक भन्दै बोलाएर ओलीले माधवलाई पार्टीबाट हटाएको भनेर विज्ञप्ति निकालेका छन् । त्यस्तै माधव समूहले पनि आफू पक्षका नेताहरुलाई बोलाएर ओलीसहितका नेताहरुलाई पार्टीबाट निकालेको भनेर घोषणा गरेका छन् ।

नेकपा त फुट्यो नै । नेकपा फुटेपछि एमालेका सबै नेताहरुलाई जनताले हेर्ने दृष्टिकोण फेरीइसकेको थियो । अब फेरी एमाले फुट्नेवाला थियो । जनताको दृष्टिकोण झन् बदलिनेवाला थियो । 

एमालेमा अरु नेताहरुको सम्बन्ध औषतमा ठिकै थियो । ओली र नेपालबीचको सम्बन्ध भने निकै खराब । उनीहरुकै सम्बन्ध मिल्न नसकेका कारण अन्य नेताहरुको सम्बन्धमा पराकम्प आएको हो ।

समय बित्दै जाँदा माओवादी र अन्य दलसँग माधव समूहको हिमचिम बढ्दै गयो । यसको उदाहरण ओलीले संसद विघटन गरेपछि माधव नेपालले देखाएको व्यवहारबाट प्रष्ट हुन्थ्यो । लामो समयसम्म सहकार्य गरेका ओली, नेपाल, झलनाथ, वामदेव गौतम एकाएक छुट्टिन खोज्दा एमाले पार्टी भावविह्वल पक्कै भएको थियो ।

बीचमा ओलीले आफू पक्षको बैठक बोलाएर नेकपा माओवादी केन्द्रका सदस्यहरुलाई एमालेमा राम्रो स्थान दिएका थिए । यो कुरा माधव समूहलाई सह्य हुने कुरै थिएन । ओली र नेपालबीचको दूरी यस्तो कुराले पनि बढाएको थियो ।

समानान्तर कमिटी गठन 

ओली र माधव नेपालबीचको दूरी बढाउने अर्को म्याटर थियो, समानान्तर कमिटी गठन  । दुवै पक्षले समानान्तर कमिटी गठन गरेपछि एमालेमा थप विग्रह आयो ।

अझ नेपाल समूहले अखिल फोर्स र ओली समूहले युथ फोर्सलाई ब्युँझायो । एमाले विभाजनलाई प्रोत्साहित गर्न यी दुइले मुख्य भूमिका खेल्नेवाला थिए ।

पार्टी सदस्यको पोजिसनमा समस्या 

मुख्य कुरा एमालेलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउने कि जेठ २ पूर्वको अवस्थामा फर्काउने भन्नेमा ठुलो विवाद कायम रहेको थियो । ओली पक्षले सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले र माओवादी छुट्याएकाले एकताअघि जेठ २ मा थपिएका तीन दर्जन केन्द्रीय सदस्यहरु कायम रहनुपर्ने बताउँदै आएको थियो भने माधव पक्षले २४१ सदस्यीय कमिटी मान्य नहुने र महाधिवेशनकालीन संरचना (१८१) मै जानुपर्ने बताएका थिए । ओली र माधवबीचको ग्यापलाई यसले अझ बढाउन भूमिका खेल्यो ।

उपनिर्वाचनमा एमालेले एमालेकै उम्मेदवारलाई हराउने खेल सुरु हुन थाल्यो । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि त्यसको दोष माधव नेपालले खेप्नुपरेको थियो । हुन त माधव नेपालकै कारण उनी हारेका थिए ।

एमालेले एमालेकै सरकार ढाल्यो 

ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने तयारी भयो । स्थायी कमिटीको बैठकपछि माओवादीले निर्णय फिर्ता लियो । ओली अल्पमतमा परेपछि उनले विश्वासको मत लिएका थिए । तर उनले ९३ मतमात्र प्राप्त गरे ।

केन्द्रमा ओलीको सरकार ढलेसँगै प्रदेशहरुमा यसको बाछिटा नराम्रोसँग पर्यो । गण्डकीमा एमालेको सरकार ढल्यो, लुम्बिनीमा एमालेकै सरकार ढल्यो, बागमतीमा पनि सरकार फेरियो ।

यसको मुख्य योजनाकार थिए माधव नेपाल । माधव नेपाललगायतका केही नेताहरुले असहयोग गरेका कारण नै एमालेको सरकार ढलेको थियो । एमालेको सरकार एमालेले नै ढलाएपछि कार्यकर्ताहरुमा यसले कस्तो असर पर्यो होला ?

माधवले एमालेको सरकार मात्र ढलाएका थिएनन् । अर्को सरकार बनाउन मुख्य सहयोग गरेका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि उनले निर्णायक भूमिका निभाएका थिए । 

त्यसपछि ओलीले नेपालका कारण आफ्नो पार्टीको सरकार ढलेको भन्दै ओलीलाई पार्टीमा कुनै पनि ठाउँ नभएको बताएका थिए । 

नेपालको दुरदर्शी सोंच 

यहाँ माधव नेपालले गर्दा पार्टी फुटेको भनेर भन्न खोजिएको होइन । माधव नेपाल लामो यात्राका लागि निस्केका राजनेता थिए । आफ्नो उद्देश्य भेट्नका लागि उनले यो सबै गरेका थिए ।

उद्देश्य फरक फरक होला तर पार्टीको नेताले आफ्नै पार्टीको सरकार ढाल्न भूमिका खेल्नु पक्कै पनि विश्वमा नै दुर्लभ घटना हो । 

एमालेका माधव नेपालसहितका नेताहरुको बहुमतको हस्ताक्षर सर्वोच्च अदालतमा पेश गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । सोहीअनुसार गत असार २९ गरे राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिन् ।

आफ्नै पार्टी अध्यक्ष ओलीले विश्वासको मत लिने बेलामा गयल भएका एमालेका नेताहरु काँग्रेसका नेता प्रधानमन्त्री हुँदा तामझामका साथ विश्वासको मत दिन संसद भवनप्रति आफ्ना पाइलाहरु बढाएका थिए । एमालेका नेताहरुको गाइजात्रा यही हो ।

काँग्रेसको सरकार आएपछि एमाले प्रमुख प्रतिपक्ष भयो । त्यसलगत्तै माधव नेपाल सरकारमा जाने हल्ला चल्न थाल्यो । माधव नेपालकै निर्णायक निर्णयका कारण प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेपाललाई सरकारमा उचित स्थान दिनुपर्छ भन्नेमा कन्भिन्स थिए । तर एमालेमा विवाद कायम रहेको बेलामा कानूनी तरिकाले नेपाललाई सरकारमा जान कठिन रहेका कारण नेपाल तत्काल मन्त्री बन्ने या बनाउने बाटोमा थिएनन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले एमाले फुटाउने अध्यादेश जारी गर्न राष्ट्रपतिलाइ सिफारिस गरे । सोहीअनुसार भण्डारीले अध्यादेश जारी गरिन् । २० प्रतिशत सदस्य जुटाए पार्टी फुटाउन पाइने हिसाबले अध्यादेश जारी भएको थियो । अध्यादेश आएपछि नेपाललाई पार्टी विभाजन गर्न सजिलो भयो । सोहीअनुसार उनले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । सर्वोच्च अदालतले केही दिनमा नै सनाखतका लागि बोलाएको छ ।

५० वर्षदेखि एउटै पार्टीमा रहेर चुनौतीपूर्ण दिनमा एमाले निर्माण गरेका दुई नेता व्यक्तिगत ‘इगो’का कारण दुई ध्रुवमा विभाजन भए । एमाले फुट्नुमा अरु कुनै तत्व नभइकन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको व्यक्तिगत टकरावका कारण एमाले फुटेको विश्लेषण गरिएको छ ।

घटनामा फेरी अर्को ट्वीस्ट 

एमालेमा दोस्रो पक्षका नेताहरुमा गणना गरिएका योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु एमाले विभाजन नहुने बेलासम्म माधव समूहमा रहेर वकालत गरेका थिए । एमाले विभाजन भइसकेपछि उनीहरुले माधव नेपालको साथ छाडे । एमाले विभाजन गर्न नेपाललाई उक्साएका नेताहरु अहिले माधव नेपालकै साथ छोडेर अझै एमाले एकता भन्दै बालकोट पुगेका छन् ।

एमालेमा तेस्रो धार मानिएका नेताहरु एकता भन्दै ओलीलाई भेट्न बालकोट पुगेपछि केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भए । यो सुखद पक्ष पनि हो । ओलीले यसो गरेमा एमाले एकता नजिकको बिन्दुमा पुग्नेछ ।  लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउनमा ओली सहमत भएका थिए ।

नेकपा एकिकृत समाजवादी पार्टीका लागि ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका गरेका छन् ।

पार्टी विभाजन हुने बेलामा माधवकुमार नेपाललाई साथ दिएका तर विभाजन भएर माधव समूहले नयाँ पार्टी दर्ता गर्दा ओलीकै पक्षमा लागेका नेताहरुमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

व्यक्तिगत  टकरावका कारण जसरी अहिले एमाले दुर्घटनामा परेको छ । इगोका कारण जबसम्म पार्टीमा जबसम्म नेताहरु लडिरहे भने यसले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पार्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट