जनतालाई सङ्घीयताको अनुभूति हुनुपर्छ: शेरधन राई-Sutra News

जनतालाई सङ्घीयताको अनुभूति हुनुपर्छ: शेरधन राई

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताले सङ्घीयताको अनुभूति हुने विकासका कार्य गर्नुपर्ने बताएका छन् ।



प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित विभिन्न मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति समीक्षा र मुख्यमन्त्री एवं मन्त्रीहरूबीचमा कार्यसम्पादन सम्झौतामा उनले पुल, सडकलगायत अन्य विकास निर्माण र सेवा जनताले सहजरूपमा प्राप्त गरेमा मात्र सङ्घीयताको सफल कार्यान्वयनको अनुभूति हुने चर्चा गरे ।

उनले कुनै बहाना नदेखाई तोकिएको विकासका कार्य समयमा सम्पन्न गर्न निर्देशन दिए । मुख्यमन्त्री राईले सरल नियमावली, कार्यविधि निर्माण गरी जनतालाई ध्यानमा राखी नजिता दिने प्राप्त हुने हिसाबले कार्य गर्नुपर्नेमा जोड दिए ।

उनले हिमाल, पहाड र तराईको समग्र विकासलाई ध्यानमा राखी बहुवर्षीय सडक, पुलको सञ्जाल निर्माणलाई अगाडि बढाएको चर्चा गर्दै दल, मन्त्री स्थान विशेषलाई ध्यानमा राखी विकास निर्माणको कार्य नगर्न आग्रह गरे ।

मुख्यमन्त्री राईले बेरुजुलाई शून्य बनाउन गम्भीररूपमा ध्यान दिनुपर्नेमा जोड दिँदै आगामी एक हप्ताभित्र बजेटको कार्यान्वयन शुरु गर्नुपर्नेमा जोड दिए ।

उनले खर्च मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै सवारी साधन खरिद, भत्ता, तालिम, फर्निचर, मर्मत, सेवा परामर्श, मेशिनरी औजारलगायत विभिन्न शीर्षकको खर्च कटौती गरी विकास र पूँजी खर्च बढाउनुपर्ने बताए ।

प्रदेशका प्रमुख सचिव सुमनराज अर्याल, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल पूँजीगत खर्चको विविधिकरण गरी जनता केन्द्रित कार्य गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा मुख्यमन्त्री राईलाई आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री टङ्कबहादुर आङबुहाङ्ग (लिम्बू) , उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियत, भौतिक पूूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर र सामाजिक विकासमन्त्री उषाकला राईसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे ।

यसअघि प्रदेशका सबै मन्त्रालय, प्रदेश योजना आयोग, लोकसेवा आयोगले आर्थिक वर्ष २०७७/७८ वार्षिक समीक्षा प्रतिवेशन प्रस्तुत गरेका थिए । कोरोना महामारी र दरबन्दी कर्मचारीको अभावको कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट