एकाएक किन एमालेमा फर्किन आतुर देखिए वामदेव ?-Sutra News

एकाएक किन एमालेमा फर्किन आतुर देखिए वामदेव ?

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । नेकपा (एमाले)का पूर्व उपाध्यक्षसमेत रहेका वामदेव गौतमले एमालेमै फर्किंने संकेत गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले आफू एमालेमै फर्किंन चाहेको बताएका हुन् ।



उक्त कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत पुगेका थिए । ओलीसँग एउटै मञ्चमा बोल्न पाएका गौतमले आफू एमालेमै फर्किंने बताएका हुन् ।

‘पार्टी फुटेपछि उहाँ (ओली)ले बोलाउनु भएको थियो, आइन, बोलाएको बेलामा जानु पर्थ्यो, आज घाटा लागेको छ,’ वामदेवले भने, ‘मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नु पर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नु पर्ने अवस्था थियो, मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ ।’

राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले आफू पहिले पनि एमालेबाट निस्केर पुनः मिलन भएको स्मरण गरे । उनले २०५४ सालमा आफूलाई पार्टीबाट निष्कासन गरेको बताउँदै बाध्य भएर नयाँ पार्टी बनाउनु परेको बताए ।

‘०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन, निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो, रियलाइजेसन भएपछि फर्केर आइयो,’ उनले थपे ।

नेता गौतमले एमालेबाट अलग भएको ७८ महिना भइसकेको बताउँदै आफूलाई भित्र्याउने एमालेको निर्णय आजसम्म पर्खिरहेको बताए । उनले ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाएर काम गर्न आफू आतुर भएको दाबी गरेका थिए ।

राष्ट्रिय एकता अभियानका अध्यक्षसमेत रहेका गौतम एमालेमा फर्किंनेबारे राखेको प्रस्तावमा अध्यक्ष ओली भने बोल्न चाहेनन् । उनले ‘राष्ट्रिय एकता अभियान’लाई सकारात्मक रुपमा लिएको बताउँदै गौतमलाई शुभकामना दिन भ्याए ।

वामदेवको प्रस्तावमा जवाफ दिँदै ओलीले भने, ‘वामदेव कमरेडले उठाउनु भएको कुरा, छलफल गर्ने थलो यो होइन, पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ, वामदेव जीको एकताको भावना सकारात्मक छ, महाअभियान सफल होस्, शुभकामना ।’

वामदेवको नेतृत्वमा राष्ट्रिय एकता अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानले देशमा भएका वामपन्थी दलहरूको एकता गर्ने उनको भनाइ रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट