देशभर भारी वर्षा, आज यी नदी आसपासमा बाढीको जोखिम-Sutra News

देशभर भारी वर्षा, आज यी नदी आसपासमा बाढीको जोखिम

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

काठमाडौं- अविरल वर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्याएको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तरको वर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।



मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ । विभागले शुक्रबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार शुक्रबार बाग्मती प्रदेशमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, माङ्दी लगायतमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ ।

कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतमा बहाब केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट