सन्दीपको मुद्दामा नाम जोडेको भन्दै पारस खड्का आक्रोशित, कानूनी उपचार खोज्ने चेतावनी-Sutra News

सन्दीपको मुद्दामा नाम जोडेको भन्दै पारस खड्का आक्रोशित, कानूनी उपचार खोज्ने चेतावनी

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै चेतावनी दिएका छन् ।



नेपाल क्रिकेट टोलीका पूर्वकप्तान खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले नेपालको कानूनले कसैलाई विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट नदिएको उल्लेख गरे । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको उनको भनाइ थियो ।

‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने छ,’ उनले लेखेका छन्, ‘यो सबैका बीचसमेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानूनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थः भावना र यसको विकास, विस्तारप्रतिको अठोटमा कदापी परिवर्तन नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट