कोरोना नियन्त्रणका लागि कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन डा.संग्रौलाको आग्रह-Sutra News

कोरोना नियन्त्रणका लागि कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन डा.संग्रौलाको आग्रह

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काठमाडौं- प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाले देशभर कोभिड-१९ का संक्रमितको उपचारमा देखिएको समस्या समाधान गर्न तत्काल प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न माग गरेकी छिन् ।



सबै प्रदेशका प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गरी हरेक बिरामीको पहिलो स्क्रिनिङ त्यही सेन्टरबाट गर्ने र सेन्टरको सिफारिसमा अस्पतालहरुले उपचार तथा भर्ना गर्दा उपचारमा सहज हुने उनले बताएकी छिन् । 

शनिबार एक वक्तव्यमार्फत उनले निजी अस्पतालले बिरामीसँग लिने शुल्कमा सरकारले कडा निगरानी राख्नुपर्ने, कोरोनाका बिरामीको स्वास्थ्य विमा गर्नुपर्ने, प्रत्येक अस्पतालमा उपलब्ध बेड, अक्सिजन, आइसियु तथा भेन्टिलेटरको संख्या पारदर्शी तरिकाले वितरण गर्नुपर्ने माग गरेकी हुन् ।

प्रत्येक अस्पतालमा चाँडोभन्दा चाँडो अक्सिजनको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने, घरबाट अस्पताल जान नसक्ने बिरामीको लागि यातायातको व्यवस्था गर्नुपर्ने, होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोल-टोलमा स्वास्थ्यकर्मीको ‘मोबाइल’ टोली परिचालन गर्नुपर्ने र सबै अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य जन शक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।

विपन्न र तथा पिछडिएका समुदायका निम्ति नगद वा खाद्यान्नको व्यवस्था गर्नुपर्ने, खाद्यान्न र नगदको वितरण वडास्तरमा सर्वदलीय सहमतिमार्फत गर्नुपर्ने तथा रोजगारी गुमाएका र दैनिक मजदूरी गर्ने विपन्न नागरिकको पहिचान गरी तत्काल राहतको व्यवस्था गर्न उनले माग गरेकी छिन् ।

प्रतिनिधिसभा सदस्य संग्रौलाले पीसीआर परीक्षण व्यापक बनाउन, परीक्षण पोजिटिभ देखिएका बिरामीलाई सफा र सुरक्षित आइसाेलेसन केन्द्रमा राख्न, सिकिस्त बिरामीलाई अस्पतालमा रेफर गर्ने र एम्बुलेन्स उपलब्ध गराउन तथा पालिका र प्रदेशको बजेट खर्च गर्दा पहिलो प्राथमिकता कोभिड संक्रमण रोकथाम र उपचारलाई दिन स्थानीय सरकारको भूमिका हुनुपर्नेसमेत उल्लेख गरेकी छिन् ।

देशभर स्वास्थ्य संकटकाल लगाइ अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न, कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरु उठाउन उनले सरकारसँग माग गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट