मनोज गजुरेलको पहिलो हल अनुभव- एक रुपैँयामा ‘फुल’ मनोरञ्जन-Sutra News

मनोज गजुरेलको पहिलो हल अनुभव- एक रुपैँयामा ‘फुल’ मनोरञ्जन

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- मनोज गजुरेलले बिहीबार सामाजिक सञ्जालमा एक तस्बिर राखे। तस्बिरमा पुरानो एक घरमा सिनेमाका पोष्टरहरु टाँसिएको देखिन्थ्यो। फोटोको क्याप्सनमा मनोजले लेखेका थिए, ‘मोरङको कुनै बजारको पुरानो सिनेमा हल।’



सामाजिक सञ्जालमा चैतन्य बरालले राखेको तस्बिरलाई आफ्नो फेसबुकमा राख्दै गजुरेलले आजका अत्याधुनिक डिजिटलाइज हल, आधुनिक इन्टरनेटका प्रसारण माध्यमसँग हिजोको ‘घुम्ती सिनेमा हल’को प्रसंगलाई जोडेका थिए। सिनेमा हलको तस्बिर राख्दै मनोजले आफूले पहिलो पटक सिनेमा हेरेको समय ‘बाल्यकाल’ सम्झिएको देखिन्थ्यो।

‘चार आनाको बरफ, चार आनाको चनाच्युरा र चार आनाको सिनेमा हेरेर बाँकी ३ आनाको सौदा,’ मनोजले लेखेका छन्, ‘जम्मा १ रुपैयाँमा फुल मनोरञ्जन।’

सँगै मनोजले आफूले पहिलोपटक सिनेमा हेरेको हल दमकको ‘लक्ष्मी घुम्ती सिनेमा’ रहेको पनि उल्लेख गरेका छन्। र, पहिलोपटक हेरेको सिनेमा ‘आर्दशनारी।’

अहिले कोभिड-१९ का कारण सिनेमा हलहरु बन्द छन्। कहिलेबाट सञ्चालनमा आउँछन् निश्चित छैन। सरकारले पनि मनोरञ्जन तथा सिनेमा हललाई प्राथमिकताको अन्तिमतर्फ राखेको देखिन्छ। गजुरेल भने हलहरु बन्द भएको बेला बाल्यकालमा पहिलोपटक सिनेमा हेरेको हल सम्झिएका छन्।

गजुरेलले पहिलोपटक २०४० साल वरिपरि सिनेमा हेरेको अनुमान गर्छन्। त्योबेला उनी १० वर्षका मात्र थिए। दिदीहरुको साथमा दमकस्थित सिनेमा हलमा गएर पहिलोपटक सिनेमा हेरेको उनी बताउँछन्। हलमा दैनिक सिनेमा लाग्थ्यो। शनिबार विद्यार्थीहरुको निम्ति भनेर केही सस्तोमा टिकट उपलब्ध हुन्थ्यो। मनोजले त्यही सस्तो टिकटमा सिनेमा हेरेका थिए।

‘म त्यो बेला १० वर्षको थिएँ पहिलोपटक सिनेमा हेर्दा’, उनी भन्छन्, ‘दुई वटा सिनेमा सँगसँगै हेरिएको थियो जस्तो लाग्छ।’

पहिलोपटक हेरेको सिनेमा कुन थियो भन्नेमा भने केही अस्पष्ट छन् मनोज। उनलाई लाग्छ, एक नेपाली र एक हिन्दी सिनेमा सँगसँगै हेरिएको थियो। हुन पनि आजभन्दा ३७ वर्ष जतिअघिको सम्झना हो त्यो। धुमिल सम्झनामा चिहाउँदै मनोज भन्छन्, ‘पहिलो पटक नेपाली ‘आदर्शनारी’ र हिन्दीमा ‘सीता और गीता’ हेरेको थिएँ जस्तो लाग्छ। यीमध्ये पहिलो कुन थियो भन्नेमा अलि याद छैन।’

‘आर्दशनारी’ सन् १९८४ मा प्रदर्शनमा आएको सिनेमा थियो, जसलाई हेम लामाले निर्देशन तथा निर्माण गरेका थिए भने सिनेमामा विजय लामा, उत्तम केसी, अम्सुमाला शाही, पुनम लामा लगायतको अभिनय रहेको थियो। अर्कातिर, मनोजले हेरेको हिन्दी सिनेमा ‘सीता और गीता’ भने सन् १९७२ मा नै प्रदर्शनमा आएको थियो, जसको निर्देशन रमेश सिप्पीले गरेका थिए भने हेमा मालिनी, धमेन्द्र, सञ्जिव कुमारलगायत पर्दामा देखिएका थिए।

मनोजसँग अहिले आफूले हेरेको सिनेमाको धुमिल सम्झनामात्रै छ। तर, कुन सिनेमा पहिलो थियो भन्ने बारेमा उनी अलि स्पष्ट छैनन्।

१० वर्षे मनोज पहिलो पटक सिनेमा हेर्दा मूल्याकंन गर्ने अवस्थामा नै थिएनन्। भित्तामा मानिसहरु हिँडिरहेका हुन्थे, कतैबाट आवाज आइरहेको हुन्थ्यो। उनलाई त कतै अर्कै संसारमा आएको जस्तो लागेको थियो त्यो बेला। सबैभन्दा अगाडि बसेर सस्तो टिकटमा सिनेमा हेरेको भएर दृश्य पनि स्पष्ट र पूर्णरुपमा सुन्दर देखिएका थिएनन्। तर, १० वर्षे बालकको लागि त्यो नौलो अनुभव थियो, जुन मनोजले गरिरहेका थिए।

‘पुरानो टिनको हल थियो,’ मनोज हलको वर्णन गर्दै भन्छन्, ‘आवाज पनि स्पष्ट आएको थिएन्। तर, पनि त्यो मेरो निम्ति फरक र नौलो अनुभव भएको थियो।’

हुन त पहिलाको जस्तो अवस्था अहिले छैन। समयले थुप्रै कुरालाई बदलिसकेको छ। महामारीबीच लामो समयदेखि बन्द रहेका सिनेमा हलहरुमध्ये कतिपय सदाका लागि बन्द हुनसक्ने अनुमान पनि भइरहेको छ। बलिउड, हलिउडमा त ओटीटी प्लाटफर्ममार्फत् सिनेमालाई प्रसारण गर्नेमा विशेष जोड दिइएको छ।

नेपालमा इन्टरनेटमार्फत् सिनेमा हेर्ने शैलीको राम्रो विकास भइनसक्दा त्यसमा जोडबल हुन त सकेको छैन। तर, लामो समयसम्म सञ्चालनमा आउन नसकेका हलहरु अब फेरि सुचारु हुने बेलासम्म आउँदा कतिपय विस्थापित हुनसक्ने अनुमान गरिएको छ।

मनोजले आफ्नो फेसबुकको स्टेटसमा पनि अहिलेको स्थिति असहज भए पनि विगतको याद र भविष्यको कल्पनाले गर्दा क्षणिक आनन्द आउने लेखेका छन्। विगत सम्झिएर ‘नोसटाल्जिक’ हुने एउटा पाटो भयो, तर अहिलेको यर्थाथ पनि उत्तिकै महत्वपूर्ण र बुझ्न आवश्यक हुन्छ। मनोज त्यत्ति बेलाको प्रसंग र अहिलेको प्रसंगको आफ्नो महत्व भएको बताउँछन्। सँगै दुवै यर्थाथलाई स्वीकार्नुपर्ने पनि बताउँछन्।

‘हामीले त्यो समय र यो समय दुवैको यर्थाथलाई स्वीकार्नुपर्छ,’ मनोज भन्छन्, ‘हिजो र आजको प्रसंगको आफ्नै महत्व छ। तर, विगतलाई कहिलेकाहीँ सम्झिन पनि मजा आउँछ।’

तर, विगतमा रमाइरहँदा पनि वर्तमानको धरातलमा नै रहनुपर्ने हुन्छ। विगतबाट वर्तमानसँग आइपुग्दा मनोरञ्जन क्षेत्रमा प्रविधिले निकै फड्को मारिसकेको छ। मनोरञ्जनको नाममा विभिन्न सामाजिक सञ्जालमार्फत् अतिरञ्जित कुराहरु पनि अहिले चर्चामा आइरहेका छन्।

‘जे-जस्तै भएपछि प्रविधिमा आएको फड्को र समयले ल्याएको परिवर्तनलाई स्वीकार्नैपर्छ,’ मनोज भन्छन्, ‘विगतका सम्झनाहरु बेला-बेला सम्झिँदा रमाइलो लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट