देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह-Sutra News

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा  कार्यकर्तालाई आग्रह गरेका छन्।



पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आयोजित भर्चुअल बैठकमा उनले कोभिड-१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिए।

महामारीको प्रभाव र बढ्दो सङ्कट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे।

आर्थिकरुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गराए।

बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय सङ्गठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सुझाव दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट