नेकपाको ‘कोर अफ लिडरसिप’ अब पाँच नेता ?-Sutra News

नेकपाको ‘कोर अफ लिडरसिप’ अब पाँच नेता ?

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेकपाको नीति निर्माण तहमा अध्यक्षद्वय र केन्द्रीय सचिवालयपछि अर्को एउटा अनौपचारिक तह पनि थपिएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासको ‘मिटिङ हल’मा जारी नेकपा स्थायी समितिको बैठकमा नेताहरुको जसरी कुर्सीको व्यवस्थापना गरिएको छ, त्यसबाट यस्तो संकेत मिलेको हो।



नेकपाले वैधानिकरुपले नै अध्यक्षद्वयलाई सर्वशक्तिमान स्थानमा राखेको छ। पार्टीका महत्वपूर्ण निर्णयमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई विधानले निश्चित अधिकार दिएको छ। त्यसपछि शक्तिशाली निकाय केन्द्रीय सचिवालयलाई मानिएको छ।

पार्टी एकताको बेला अध्यक्षद्वयले तयार पारेको राजनीतिक प्रतिवेदनमा ९ सदस्यीय केन्द्रीय सचिवालयलाई ‘कोर अफ लिडर’ (नेतृत्वको केन्द्र) उल्लेख गरिएको थियो। यसैअनुरुप अध्यक्षद्वयबीच भएका सहमतिलाई सचिवालयमा लगेर अनुमोदन गर्ने गरिएको थियो।

तर, पछिल्लो समय अध्यक्षद्वयबीच सहमति हुन नसक्दा पार्टी झण्डै विभाजनको संघारमा पुग्यो। अध्यक्षद्वयबीचको असमझदारीका कारण अर्को शक्तिशाली निकाय केन्द्रीय सचिवालयसमेत निर्णयहीन हुन थाल्यो। सचिवालयले गरेका कतिपय निर्णयसमेत कार्यान्वयन हुन सकेनन्।

बालुवाटारमा जारी स्थायी समिति बैठकमा शीर्ष नेताहरुका लागि कुर्सीको व्यवस्थापन जसरी गरिएको छ, अनौपचारिकरुपमै सही, त्यो व्यवस्थापनले नेतृत्वको त्यो तहलाई अनौपचारिकरुपमा अनुमोदन गरेको छ।

यस्तो स्थिति सिर्जना हुनुमा अध्यक्षद्वय ओली र प्रचण्डबीचको असमझदारीको मात्र भूमिका थिएन। झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमजस्ता प्रभावशाली नेताहरुले विभिन्न विषयमा लिन थालेको अडानले समेत पार्टीलाई यो स्थितिमा पुर्‍याएको थियो। अर्थात्, ओली र प्रचण्डसँगै अन्य नेता पनि विस्तारै नेकपाभित्र निर्णायक हुन थाले।

यसक्रममा नेकपाले नेतृत्व व्यवस्थापनका लागि गौतमलाई उपाध्यक्ष बनायो। झलनाथ खनाललाई वरिष्ठ नेतामा पुनःस्थापित गर्‍यो। पार्टीभित्र अन्तरद्वन्द्व चर्किँदा अध्यक्ष प्रचण्डले ओलीसँगको वार्तामा नेपाललाई साथै लिएर उनलाई पनि भूमिका दिन थाले।

नेकपाको शीर्षासनमा ओली-प्रचण्ड र त्यसपछि उनीहरुसहितको ९ सदस्यीय केन्द्रीय सचिवालय रहेका छन्। तर, उपरोक्त व्यवस्थापनले अनौपचारिकरुपमा के देखाउन थाल्यो भने ओली-प्रचण्ड र ९ सदस्यीय सचिवालयको बीचमा पनि यस्तो नेतृत्वको एउटा तह स्थापित भइसकेको छ।

बालुवाटारमा जारी स्थायी समिति बैठकमा शीर्ष नेताहरुका लागि कुर्सीको व्यवस्थापन जसरी गरिएको छ, अनौपचारिकरुपमै सही, त्यो व्यवस्थापनले नेतृत्वको त्यो तहलाई अनौपचारिकरुपमा अनुमोदन गरेको छ।

बालुवाटारमा जारी स्थायी समिति बैठकको सुरुवातमा ओली र प्रचण्डको कुर्सीको व्यवस्थापन सँगै गरिएको छ भने ओलीको बायाँतिर खनाल छन्। प्रचण्डको बायाँतिर क्रमशः नेपाल र उपाध्यक्ष गौतम राखिएका छन्। सचिवालयका अन्य नेताका लागि कुर्सीको व्यवस्थापन भने अन्य स्थायी समिति सदस्य सरह गरिएको छ।

नेकपा सचिवालयमा पाँचजना शीर्ष नेताबाहेक बाँकी ४ जना सदस्य छन्। तिनमा उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन्। यद्यपि उनीहरुको कुर्सी अन्य सदस्यको भन्दा अगाडि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट